शिक्षण पेशा छोडेर अभिकर्ता, साइकलदेखि कार सम्मको यात्रा

विजया बास्कोटा

विजया बास्कोटा

Mar 01, 2020 | 08:52:11 AM मा प्रकाशित

laxmi  sunrise bank

भनिन्छ, आफु आवद्ध भएको पेशा वा व्यवसायमा धर्य भएर लागे सफल हुन सकिन्छ । तर त्यो सफलता हासिल गर्नका लागि आफु आवद्ध भएको कामप्रति निरन्तर रुपमा लाग्न सक्ने धर्यताको खाँचो भने हुनु पर्दछ । धर्यता र मिहेनतलाई आत्मसाथ गर्दै अघि बढ्ने जो कोही व्यक्तिले पनि दामका साथै नाम पनि कमाउन सफल हुन्छन् । 

त्यहि सफलताको एक पात्र हुन् गंगा शर्मा पराजुली। हाल नेशनल लाइफ इन्स्योरेन्सकी चिफ विजनेश म्यानेजर  । पराजुली बीमा अभिकर्ताको क्षेत्रमा परिचत नाम हो । उनको नाम बीमा क्षेत्रमा नसुन्ने थोरै मात्र होलान् । बीमा अभिकर्ता क्षेत्रमा सफल अभिकर्ताका रुपमा गनिने अनुहार मध्येकी एक हुन् गंगा । विगत १३ वर्षदेखि यस पेशामा जोडिन पुगेकी गंगा  अभिकर्ता पेशामा लागेर राम्रो कमाई गर्न सकिन्छ भन्ने एक उदाहरणीय पात्र हुन् । २०६३ सालदेखि यस पेशालाई अगालेकी उनी अहिले नेशनल लाइफ इन्स्योरेन्समा चिफ विजनेश म्यानेजरका रुपमा कार्यरत छिन् । 

विगतका ती दिन 

पराजुलीको जन्म सामान्य घर परिवारमा भएको थियो । सामान्य परिवारमा जन्मिएकी उनको बालापन सामान्य तरिकाले नै वित्यो । खेती किसानमा निर्भर रहेको परिवार भएकाले  विधालयबाट बचेको समय खेतबारी मै वित्ने गर्दथ्यो । उनी जब बुझ्ने भईन् त्यहि समयदेखि उनमा 'मेहनत गरौँ, आफ्नो पढाईको खर्च आफै गर्न सकौँ भन्ने भावना' आउने गर्दथ्यो । प्रमाणपत्र तहको शैक्षिक योग्यता हासिल गर्ने समयसम्म पढाईमा मात्रै फोकस भईन् उनी । त्यसपछिका दिनमा भने एनजीओ, आइएनजीओमा काम गर्न पुगेकी गंगासँग पत्रकारिताको अनुभव पनि छ । 

उनी २०६० सालमा वैवाहिक जीवनमा बाधिईन् । घरका परिवारका सबै सदस्यहरु शिक्षित थिए । गंगाका श्रीमान सरकारी जागिरे । सिसिइभिटीमा अफिसर लेवलमा कार्यरत । फिल्डमा काम गर्ने गंगालाई विवाह पछि भने पारिवारिक जिम्मेवारिले थिच्यो । फिल्डमा हिडेर गर्ने जागिरका लागि उनीसँग पर्याप्त समय भएन । शिक्षाशास्त्र शंकायमा स्नातक उत्तिर्ण गंगाले त्यहि बेला सरकारी विद्यालयमा खुलेको निमावि तहको विज्ञापन पदका लागि आवेदन दिईन् । बच्चा सानै छँदा नै सरकारी स्कुलमा नाम निकाल्न सफल भईन् । बच्चालाई आफ्ना आमा बाको  जिम्मा लगाएर आफु पढाउन थालिन् । 

श्रीमान अफिसर लेवलको जागिर भए पनि नेपाली समाजमा घर व्यवहार चलाउनका लागि एक जनाको मात्रै कमाईले नपुग्ने आवस्यकता महशुस गर्दै शिक्षकको जागरि गर्न पुगेको उनको अनुभव छ । विगत सम्झदै गंगा भन्छिन्, 'मैले मेरो मात्रै भविष्य हेरिन, आउँदा दिनमा आफ्ना सन्तानको सुरन्दर भविष्यका लागि मैले केही रकम जोहो गर्नु पर्छ जस्तो लागेर जागिर गर्न थालेकी थिए । '

अभिकर्ताको यात्रा 

शिक्षण पेशाबाट बचेको समय अन्य केही काममा लगाउन पाए हुृन्थ्यो भन्ने उनलाई लाग्यो। निमावि तहको शिक्षक छरछिमेकमा रहेका केटाकेटीलाई कोचिङ पढाउने अवसर त उनले पाउथिन् । तर उनलाई शिक्षण पेशा भन्दा अलि भिन्नै खालको केही पेशा÷व्यवसाय गरौँ भन्ने लागि रहन्थ्यो । शिक्षण पेशाबाट बचेको केही समय त्यस्तो पेशामा लगाउँ जसले, परिवारलाई समय पनि दिन सकियोस्, केही आम्दानी पनि होस् भन्ने उनमा थियो । यसै बीचमा गंगाका ससुराका एक जना साथिसँग भेट भयो, जो एलआइसी नेपालका अभिकर्ता थिए । उनले गंगालाई बीमा अभिकर्ता बनि काम गर्न सकिने कुरा खोलेका थिए । उनैमार्फत गंगाले बीमा अभिकर्ताका बारेमा धेरथोर बुझिन् । गंगालाई एलआइसी नेपालले सञ्चालन गर्न लागेको बीमा अभिकर्ताको तालिममा सहभागी हुन सल्लाह दिएका थिए  । तर गंगा त्यो समय घरायसी कामले गर्दा उक्त तालिममा सहभागी भने हुन सकिनन्  । 

त्यो तालिममा जान नपाए पछि केही समय अभिकर्ता बनी काम गर्ने इच्छालाई उनले थाति राखिन् । गंगा आफैले पढाउने स्कुलका एक जना सहकर्मी बीमामा काम गर्दा रहेछन् । उनले एक दिन गंगासँग छोराको बीमा गर्ने प्रस्ताव राखे । कम्पनीले सञ्चालन गर्ने अभिकर्ताको तालिमको समय बताई दिने सर्तमा गंगाले उनलाई बीमा गर्ने निधो गरिन् । 

असारे झरिमा मिलेको त्यो सफलता

बिहानको स्कुल । स्कुलबाट फर्किएर घरको धन्दा सकेपछि गंगा अभिकर्ताको तालिम लिन जान तयार भईन् । उनी बसेभन्दा अलि परै थियो बीमा कम्पनीले सञ्चालन गरेको तालिम । असारे झरि तालिम लिनका लागि लामो बाटो जानु पर्ने । मनभित्र भएको रहर, इच्छा र अभिकर्ता बनी काम गर्ने चाहानालाई त्यो झरिले रोकेन । क्याम्पस पढ्दा आफ्ना बुबाले किनिदिएको साइकलको साथ लिएर उनी घरबाट निस्किईन् । झरिको एलर्जीलाई पनि बिर्सिदैँ गंगा निस्किइन् । उनी बसेभन्दा तालिम दिने ठाँउ लगभग १५/१६ किलोमटिर टाढा थियो नेपालगञ्जमा। ४ दिने अभिकर्ताको तालिम थियो र तर गंगा भने दुई दिन मात्रै तालिममा सहभागी भईन् । 

तालिम लिएको एक महिनापछि झण्डै एक महिने बर्खे बिदा थियो । त्यहि समय नै गंगाका लागि उपयुक्त समय भईदियो । छुट्टीको मौका पारेर गंगा बर्खे झरिसँग लड्दै खेतका आलिआलिमा पुगि बीमाको प्रस्ताव राख्न थालिन् । एक महिनाको अवधिमा उनको मेहेनतको कमाई १४ हजार रुपैयाँ भएको थियो । अभिकर्ता पेशाबाट एक महिनामा कमाएको त्यहि रकमले नै उनलाई यो पेशामा लाग्ने हिम्मत दिलाएको थियो ।

अभिकर्ता पेशाले दिएको उपलब्धी: साइकलबाट कार 

साइकल चढेर अभिकर्ताको तालिम लिन पुगेकी उनी यो पेशामा लागेको लामो समय भईसक्यो । उनी आज साइकलबाट कारमा पुगेकी छिन् । यहि पेशामा लागे पछि उनलाई एक दर्जन भन्दा बढी देशहरुको भ्रमण गर्ने अवसर मिल्यो । विभिन्न पुरस्कारबाट सम्मानित पनि भईन् । उनी धेरै पटक नेशनल लाइफमा प्रथम भएको रेकर्ड छ । यसका साथै, नेशनल लाइफमा दोस्रो, तेस्रो हुँदै आएकी छिन् । अभिकर्ता पेशामै लागेर गंगा आर्थिक रुपमा सबल भईन् । दुर दराजमा रहेका मानिसहरुलाई बीमाको पहँुचमा ल्याउन सफल भईन् । यो अवधिमा आईपुग्दा उनी मार्फत बीमा गराएका २२ सय पुगिसकेका छन् । 

१८ दिने सुत्केरीमा पनि बीमा

जुन सुकै पेशा व्यवसाय अगाले पनि आफ्नो मेहनत, धेर्यता र निरन्तरताले सफल हुन सकिन्छ भन्ने मान्यताका साथ अभिकर्ता पेशामा रमाउँदै आएकी गंगासँग १८ दिनको सुत्केरी हुँदा पनि बीमा पोलिसी बिक्रि गरेको अनुभव छ  । ति दिन सम्झदै उनी भन्छिन् '१८ दिनको सुत्केरी ज्यानलाई पटुकीको साहारा लिएर मैले एकै पटक त्यो दिन धेरै बीमा पोलिसी बेचेको थिए'   । 

घर परिवारको प्रेरणाले मिलेको सफलता 

भनिन्छ कोही व्यक्तिको सफलता पछि कसैको साथ र सहयोग हुन्छ । सफलता हात पार्नका लागि ती व्यक्तिले सधै साथ दिन्छन् । उनको सफलता पछि पनि उनकोे घर परिवारको साथ र सहयोग छ । उनका परिवारका सबै सदस्य शिक्षित छन् । परिवारका सबै सदस्यहरुको साथ र सहयोगको कारणले गर्दा नै आफु यस स्थानसम्म आईपुगेको उनी बताउछिन्  । 

कठिनाईहरु

संघर्ष र कठिनाईहरु सम्झिदै उनी भन्छिन् 'आज पनि बीमा बजारलाई आममानिसले सकारात्मक नजरले हेर्ने परिपाटिको विकास भएको छैन् । उनी भन्छिन्  ‘जब म बीमा बजारमा लागेकी थिए त्यसको तुलनामा बीमालाई हेर्ने नजर र बुझाईमा केही फरकपन भने आएकै हो । बीमाको प्रस्ताव लिएर जाँदा मान्छेहरुले सहजै स्वीकारै गर्दैनन् थिए । बल्ल तल्ल स्वीकार गरिहाले पनि बीमाको प्रीमियम मासिक रुपमा तिर्ने सर्त राख्दथे । '

'सामान्यतया बीमाको प्रीमियम वार्षिक, अर्धवार्षिक तथा मासिक रुपमा तिर्न सकिन्छ । बीमा अभिकर्ता पेशामा लागेको लामै समयसम्म मैले मासिक रुपमा नै प्रीमियम संकलन गर्न बीमित स्वयमको घर आगँनमा पुगे । किनकी बीमितको आवश्यकता अनुसार काम गर्नु नै अभिकर्ताको कर्तव्य हो झै लाग्ने गर्दथ्यो ।' विगतका ती दिन सम्झदै गंगा भन्छिन्  ।

त्यो समय नेटवर्किङ् व्यापारहरु नेपालमा गैरकानूनि रुपमा देखा परेका थिए । त्यो बेलाको समयमा मानिसहरुको मन जित्न कठिन थियो उनलाई । ती कम्पनीहरुले दिएको धोकाको कारणले मानिसहरुमा बीमा प्रति नै नकारात्मक धारणा पैदा गरेको थियो । यस्तो परिस्थिलाई चिर्न पनि केही समय लाग्यो । 

अभिकर्ता पेशालाई नै निरन्तरता 

केही समय त उनले अभिकर्ता पेशा र शिक्षक पेशालाई सँगै अगाडी बढाईन् । २०६३ सालदेखि अभिकर्ता पेशामा आवद्ध हुन पुगेकी गंगा अभिकर्ता पेशामा भने पूर्ण रुपमा २०७१ सालदेखि लागेकी हुन् । अभिकर्ता पेशा र नेशनल लाइफमै रही जीवन भरि काम गर्ने उनको सोच छ  । अभिकर्ता पेशा बाहेक अन्य पेशामा लाग्ने केही सोच नरहेको उनले बताईन् । ‘यहि पेशामा लागेर  आर्थिक रुपमा सबल भए । विभिन्न देशहरुको भ्रमण गर्ने अवसर पाए ।  यो अवधिमा २२ सय बीमित बनाएकी छु । आफ्नो जीवनकाल भरि यीनै बीमितको सेवामा लाग्ने छु । ’ उनी भन्छिन् । 

नेशनल लाइफ पूरानो र नेपाली मनले जित्न सफल कम्पनी भएको उनको दाबी छ  । उनी भन्छिन् ' सबैले विश्वास गर्ने कम्पनी हो । कम्पनीमा हाल २२/२३ वटा बीमा योजनाहरु सञ्चालनमा रहेका छन् । ' आगामी दिनमा पनि यही कम्पनीमा आवद्ध भई सबैलाई बीमाको दायरा ल्याउने काम गर्ने उनको लक्ष्य छ । 

शिक्षकबाट राजिनामा

केही समय शिक्षक पेशा र अभकर्ता पेशालाई सँगसँगै लगेकी गंगा २०७० सालदेखि भने शिक्षक पेशा छाडिन् । ‘बीमा विश्वासमा गरिन्छ । जसले मलाई विश्वास गर्छ उसले बीमा गर्छ । बीमितलाई आवस्यकता परेको बेला समय दिन सकु भन्ने लागेर शिक्षक पेशाबाट राजिनामा दिए । बीमितलाई परेको समस्याका बेला साथ र सहयोग दिन सकु भनेर पूर्ण रुपमा लागे’ उनी भन्छिन् ।

बीमाको पहुँच वृद्धिका लागि यी कदम

नेपालले बीमा व्यवसायको अभ्यास थालेको लामो समय भएता पनि बीमाको दायरामा आएको जनसंख्या थोरै छ । बीमाको दायरा वृद्धिका लागि बीमा कम्पनी, बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समिति र बीमा अभिकर्ताको उत्तिकै भुमिका हुने उनको अनुुभव छ । बीमा समितिले बीमा सचेतनाका कार्यक्रम चलाउनु पर्ने कुरामा उनको जोड छ । उनी भन्छिन् ' यसका साथै बीमा कम्पनी तथा अभिकर्ताहरुले पनि आआफ्नो ठाउँबाट भुमिका खेल्नु पर्दछ । '

सबैलाई सहयोग गर्ने सोच

सबैलाई आफु जस्तै सफल बनाउने सोच उनको छ । अभिकर्ता बनि काम गर्ने चाहाना भएका तर कसरी गर्ने भन्नेका लागि सधै सहयोग गर्ने प्रतिवद्धता गंगाले व्यक्त गरेकी छिन् । 

बीमा बजारमा प्रवेश गर्नु भन्दा पहिले कुन बीमा कम्पनीमा आवद्ध भएको हो त्यो कम्पनीका बारेमा जानकार हुनु पर्ने उनी बताउछन् । आफु आवद्द  भएको कम्पनीमा रहेका पोलिसी तथा अन्य बीमा कम्पनीमा भएका पोलिसीहरुको समेत ज्ञान लिनु पर्ने उनको सुझाव छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved