बीमा कै पहिलो महिला महाप्रबन्धकको माग 'महिलाको बीमामा कर छुट हुनुपर्छ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 08, 2020 | 12:08:51 PM मा प्रकाशित

laxmi  sunrise bank

व्यवसाय संचालन गर्न अरु नयाँ जीवन बीमा कम्पनीसंगै अनुमति पाए पनि कारोबार संचालनको लागि 'महालक्ष्मी लाइफ इन्स्योरेन्स' ले अन्तिममा अनुमति पाएको हो । त्यसैले गर्दा पनि यस कम्पनी लाई कान्छो जीवन बीमा कम्पनी भन्ने गरिन्छ। यहि कान्छो जीवन बीमा कम्पनीको कोर टिममा छिन् सपना खरेल।

बीमा कम्पनीकै इतिहासमा सम्भवत पहिलो महिला सहायक महाप्रबन्धक हुन् खरेल। १० वटा नयाँ बीमा कम्पनी संचालनमा आएसंगै व्यवसायको साथमा कर्मचारी व्यवस्थापन अर्को चुनौतीको पाटो बनेको छ। तर यहि कठिन अवस्थामा खरेलले महालक्ष्मी लाइफमा मानव संसाधन विभागको जिम्मेवारी सम्हालेकी छिन् ।

महालक्ष्मी फाइनान्स बीरगञ्जमा कार्यालय सहायक पद बाट बैंकिङ करियरको सुरुवात गरेकी खरेलले बैकिङ क्षेत्रमा १८ बर्ष काम गरिसकेपछि बीमा क्षेत्रमा प्रवेश गरेकी हुन्। महालक्ष्मी बिकास बैंकको नेतृत्त्वमा महालक्ष्मी लाईफ संचालन हुन् थालेकाले यस क्षेत्रमा आएको बताउँछिन खरेल। खरेलले विरगञ्जको ठाकुर राम कलेजबाट बिकम गरी 'सोसियोलोजी'मा पद्मकन्या कलेज काठमाण्डौबाट मास्टर गरेकी छिन् । साथै वित्तीय क्षेत्रमा कार्यरत रहँदा नेदरल्याण्ड सरकारको छात्रवृत्तिमा नेदरल्याण्डबाट वित्तीय व्यवस्थापन महिला उद्दमीको उच्च तहको अध्ययन सकेकी छिन् ।

'म कार्यरत बैंकिङ क्षेत्रको समूहलेनै बीमा कम्पनी पनि संचालन गर्न थालेकोले काम गर्न सहज पनि हुने र परिवर्तित क्षेत्रमा ठुलै जिम्मेवारी लिएर रमाउने उद्देश्यले योजना अनुसार नै आएको हुँ' उनी भन्छिन् । बुबा आमा र बैंकिङ क्षेत्रका साथीहरुको प्रेरणाले बैंकिङ तथा बीमा क्षेत्रमा आएको खरेल बताउँछिन् । पुरुषको तुलनामा जागिरे महिलाले घर र कार्यालयको दोहोरो जिम्मेवारी निर्वाह गर्नु पनि साह्रै गाह्रो काम हो भनिन्छ। परिवारिक ममता र जिम्मेवारीलाई प्राथमिकतामा राखेर कार्यालयको पदिय जिम्मेवारी सफलता पूर्वक संचालन गर्नु चुनौती पूर्ण कार्य हुने भएपनि खरेलको जीवनमा भने यो लागू हुदैन।

सानो शिक्षित परिवार भएको र पदिय जिम्मेवारी बुझ्ने घरायसी वातावरण भएकोले पनि आफुलाई ममता र जिम्मेबारी बीचमा संतुलन कायम गर्न अहिले सम्म सफलता मिलेको खरेलको भनाई छ। खरेलको बुबा निजगढमा समाज सेवी र शिक्षित कृषकको रुपमा चिनीन्छन्। उनका श्रीमान पूर्व बैंकर हुन् भने जेठो छोरा अमेरिकामा कम्प्युटर इन्जीनियरमा पीएचडी गर्दैछन। त्यस्तै कान्छो छोरा कम्प्युटर इन्जीनियर गरी केही नयाँ गरौ भन्ने सोचले स्टार्ट अपको लागि तयारी गर्दैछन।

बैक र बीमा जस्तो ठुला संस्थामा माथिल्लो पदमा जिम्मेवारी लिँदा महिला र पुरुष भन्ने फिलिङ नभएपनि कहिले काही ढिला सम्म काम गर्दा वा पुरुस्वत्व संस्कारले डोमिनेट गर्दा अल्लि खल्लो अनुभव हुने खरेलको भोगाई छ। उनी भन्छिन् , 'महिला सहायक महाप्रबन्धकको रुपमा कान्छो कम्पनीमा काम गर्दा साच्ची नै भन्नु पर्दा चुनौती पूर्ण जिम्मेवारी बहन गरेको अनुभव गरिरहेको छु ।'

नेपालको संविधानमा ३३ प्रतिशत महिलाको सहभागिताको ज्ञारेन्टि गरिएको छ । समावेशिता भन्दा पनि योग्यताको आधारमा राज्यले संघ,संस्था, कम्पनी र राज्यका हरेक निकायमा महिलाको सहभागिता गरिदिए हुन्थ्यो भन्ने खरेलको चाहना छ।

जागिरको खोजिमा बर्षेनी लाखौ युवा विदेशीने क्रम जारी छ । अव महिलाहरु पनि विदेशीने क्रम बढ्दो छ । महिलाले विदेशमा पाएको दुख दर्द तथा तिनका वालबच्चाले आमाको साथ नपाएको देख्दा सुन्दा असह्य पीडा हुने बताउछिन् खरेल। उनी भन्छिन्, 'राज्यले यस तर्फ गम्भिर हुन् पर्छ' ।

बीमा क्षेत्रलाई राज्यले प्रथमिकतामा नराखेको उनी बताउछिन्। जग्गा खरिद देखि महिलाले गरेका अन्य काममा कर छुट दिने प्रावधान रहे पनि बीमा क्षेत्रमा त्यो लागु नहुनु दुखद रहेको उनको भनाई छ । महिलाले गर्ने बीमामा कम्तीमा वार्षिक १ लाख सम्मको कर छुट दिनु पर्ने उनको माग छ । उनी भन्छिन् 'अहिलेको २५ हजारको सिमा आफैमा नगन्य जस्तो लाग्छ, त्यसले खासै प्रभाव पारे जस्तो मलाई लाग्दैन। ' 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved