राजधानीमा कर्णालीको उत्पादन के के आईपुग्छन् ? मुख्य बजारमा कर्णालीका उत्पादनले किन आफ्नो उपस्थिती जनाउन सकेका छैनन् ? यी र यस्तै प्रश्नको जवाफ ‘कर्णाली घर’ ले दिन थालेको छ । करिब ११ वर्षदेखि कर्णालीका अर्गानिक उत्पादन काठमाडौँ बासीलाई खुवाउँदै आएको कर्णाली घरले मध्यम व्यापारको दर्बिलो उदाहरण प्रस्तुत गरेको छ ।
लकडाउनमा भ्याई नभ्याई
अग्र पङ्तीमा बसेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार र बैंकरहरुले कोरोनाको त्रासका बीचमा पनि आफ्नो भूमीका प्रस्तुत गरिरहे । यी ३ क्षेत्रबाहेक अन्य क्षेत्रमा आवद्ध व्यक्तिहरु अत्यावश्यक नपर्दा सम्म घर बाहिर ननिस्कि सरकारलाई सहयोग गरेरै बसे । कर्णाली घरका मनोज भारती र राजन धिताल भने यो विषम् परिस्थितीमा पनि कर्णालीका उत्पादन घर घर पु¥याउनमा ब्यस्त रहे ।
यसअघिः काठमाडौँ मै कर्णाली घरः टनका टन मार्सी र स्याउ, फ्री होम डेलिभरी
मूलुक लकडाउन भएपछि सवारी साधन चल्ने अवस्था रहेन । कर्णाली घरका नियमित ग्राहकहरु कर्णालीको सीमीको दाल, जिम्मु पर्खेर बस्थे । अत्यावश्यक चामल, दाल, तेल, नुन जस्ता दैनिक उपभोग्य बस्तुहरुको ढुवानी गर्ने सवारी साधन चल्न पाउने भएपछि कर्णाली घरले २ वटा गाडी भाडामा लियो । ३ जना कर्मचारी पनि थप गरे । त्यसपछि गाडीको पास लिएर उनीहरु नियमितसामान पुर्याउन लागिरहे ।
हाल मुगु र जुम्लामा ४ जना काम गर्ने मान्छे छन् । थप भएका ३ सहित अब कर्णाली घरको परिवारमा सदस्यको संख्या १४ पुगेको छ । उनीहरुले लकडाउनमा दैनिक २ लाख ५० हजारसम्मको सामान बिक्रि गरे । नयाँ उत्पादनमा ३ टन जति मनाङको फुजि स्याउ पनि उनीहरुले लकडाउनकै अवधिमा बेचेर सके ।
ठूला भनिएका व्यवसायीले लकडाउनलाई कारण देखाउँदै कामदार तथा कर्मचारी कटौती गरिरहेको अवस्थामा पनि कर्णाली घरले थोरै संख्यामा भएपनि थप रोजगारी सिर्जना गरेको छ ।
‘कृषिको उत्पादनमा आधारित व्यवसाय हुनुको फाइदा नै यही हो’ राजन भन्छन् ।
६० टन स्याउ बेच्ने लक्ष्य
‘अब स्याउको सिजन सुरु हुन लाग्यो, हामी त्यसैको तयारीमा छौँ’ कर्णाली घरको संस्थापक र प्रमुख कार्यकारी अधिकृत रहेका मनोज भारती भन्छन्, ‘यसपाली चिसोका कारण स्याउको उत्पादन अलि कम छ, तैपनि हामी सकेसम्म धेरै स्याउ काठमाडौँ ल्याउने योजनामा छौँ ।’
अबको ८ महिनासम्म ६० टन स्याउ काठमाडौँ ल्याएर बिक्रि गर्ने उनीहरुको लक्ष्य छ । अहिले स्याउसँगै जिम्मु, मार्सी चामल, सीमी, चिनो÷कागुनो, ओखर यार्सा गुम्बा बिक्रि गर्दै आएको कर्णाली घरले तिते र मिठे फापरको पिठो, जौको सातु, सिस्नोको धुलो पनि बेच्ने लक्ष्य लिएको छ । यीसँगै स्याउको अचार, खुर्सानीको अचार र मह पनि बेच्ने योजना पनि कर्णाली घरको छ । जुम्ला र सुर्खेतको महले बजार नपाईरहेको अवस्थामा कर्णाली घरले यो चिजको पनि व्यवसायिक प्रचार गर्न खोजेको छ ।
चालु आर्थिक वर्षमा ३० देखि ३५ टन सीमी र १२ टनसम्म मार्सी चामल बेच्ने योजना बनाएको मनोज र राजनका नियमित ग्राहक बढ्ने क्रम पनि जारी छ । उनीहरुले मार्सी धान ल्याएर यही कुटाएर चामल निकालेर उपभोक्ताको घरसम्म पुर्याउने गर्छन् ।
‘लकडाउनको समयमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त कुमार नेम्वाङको निवासमै स्याउ पुर्यायौँ’ राजनले भने, ‘हाम्रा नियमित ग्राहकहरु बिस्तार बढ्दैछन्, लकडाउनको समयमा हामीबाट नियमित सामान लिने किनारा पसलहरु बढेका छन् ।’
दशैँको लागि नयाँ योजना
काठमाडौँमा दशैँको बेला खसी, भेडा र च्याङ्ग्राको माग ह्वात्तै बढ्छ । उनीहरुले पनि दशैँको समयमा कर्णालीबाट भेडा ल्याएर काठमाडौँमा हुने मासुको अभाव टार्ने योजना बुनेका छन् ।
‘यार्सागुम्बा खाएर पाटनमा चरेका जुम्ली भेडाहरु ल्याउने योजनामा छौँ’ मनोजले भने, ‘अहिले त्यसको लामो समयको लागि व्यवसायिक योजना बनिसकेको छैन, तर दशैँको बेलामा यसो कत्तिको व्यापार हुँदो रहेछ भनेर टेष्ट गर्न यसपाली पाटनबाट केही भेडाहरु हामी ल्याउँछौँ ।’
मासिक खर्च पौने ३ लाख
हाल बालाजु औद्योगिक क्षेत्र भित्रको कोल्ड स्टोरमा एक किलो सामान राखेवापत ३ रुपैयाँ तिर्नुपर्छ । उनीहरुले लामो समयसम्म गोदाममा राख्दा बिग्रने बस्तुहरु कोल्ड स्टोरमा राख्दै आएका छन् । कर्मचारीको संख्या पनि बढ्दो क्रममा छ । कलंकीस्थित गोदामको भाडा र बनस्थली बोहोराटारमा सानो गोदाम र कार्यालयको भाडासहित उनीहरुको मासिक खर्च २ लाख ७५ हजारको हाराहारीमा छ ।
उनीहरुले कर्णालीको उत्पादन विभिन्न व्यक्तिमार्फत कोसेलीका रुपमा विदेश पनि पठाउँदै आएका छन् । अब भने व्यवसायीक रुपमा नै आफैँले विदेशमा सामान निर्यात गर्ने सोच उनीहरुको छ ।
उनीहरुले असोजदेखि ३ महिना स्याउको आयात रोक्ने हो भने कर्णालीको स्याउले बजार पनि पाउने र माग पनि धान्ने अनुमान गरेका छन् । सामान्यतया जुम्लामा मात्रै ७.५ हजार टन स्याउ फल्ने आँकलन गरिन्छ ।