कमला: जसले पिडालाई पौरखमा बदलिन्, ३ सयको उद्यमबाट सयौँलाई रोजगारी

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 14, 2020 | 11:38:14 PM मा प्रकाशित

laxmi  sunrise bank

कमला सुवेदी सफल महिला उद्यमीको सूचीमा अब्बल र स्थापित नाम हो । सानैबाट हाते उत्पादनमा रुची भएकी उनी अनेकन आरोह अवरोह पार गर्दै सफल महिला उद्यमीको रुपमा परिचित छिन् । देशका सबैजसो जिल्लामा महिलाहरुलाई उद्यमी बनाउने अभियान्ताको रुपमा हिडिरहेकी उनी अहिले झोलामा आफ्ना उत्पादन बोकेर निस्किइन् भने पनि साँझ घर फर्किदा १५/२० हजार रुपैयाँ लिएर जान सक्ने भएकी छिन् । 

२०२९ साल साउन १६ गते पीता रामचन्द्र अर्याल र माता भगवती अर्यालको कोखबाट मकवानपूर जिल्लाको पदमपोखरी गाविस वडा नम्बर ५ स्थित सिक्रिनीमा जन्मेकी कमला सामान्य अवस्थामै हुर्किइन् । बुबा आमाले किसानी गरेर उनलाई सुखसँगै हुर्काउने काम गरे । पछि कमलाका बुबाले किराना पसल चलाउन सुरु गरे । 

हेटौँडा बजारमा किराना पसल थियो । राजनीतिक आन्दोलन चर्किदो थियो । थेगिनसक्नुको आन्दोलन हुन थालेपछि उनीहरु करिब करिब बिस्थापित हुन पुगे । २०३६ सालको आन्दोलनको आँधि बेहेरी बढ्न थालेपछि उनीहरु भागेर गाउँ फर्किए । बाटोमा भाग्दै गर्दा नजिकैबाट बमका छर्राहरु हुईकिन्थे । 

‘कर्म गर्न बाँकी नै रहेछ, त्यतिबेला बाँचियो’ कमला सम्झिन्छिन् ।

आन्दोलन मथ्थर भएपछि उनीहरु फेरि हेटौँडा झरे । स्थानीय भुटनदेवी स्कुलमा उनी पढ्न थालिन् । हाते सीपमा रुची भएकी उनी स्कुल पढ्दै सिलाइ बुनाईको तालिम पनि लिन थालिन् । घरकी जेठी छोरी थिइन् कमला । २ जना भाइ र एक बहिनीको हेरचाह, स्कुल लैजाने ल्याउने, खाजा बनाउने खुवाउने उनको जिम्मेवारी थियो । फुर्सदको समयमा बजारको पसलमा बसेर बुबालाई सघाउने उनको दिनचर्या बन्यो । 

‘पुर्नजीवन पाएँ’

उनी खुशीसाथ परिवारकै माझमा रमाउँदै थिइन् । तर उमेर बढ्दै गएपछि बिवाहको कुरा चल्न थाल्यो । कुरा मात्रै चलेन, २०४५ सालको माघ महिनामा कृषक परिवारमा उनको बिहे पनि भयो । मकवानपूरकै हटिया २ का स्थानीय उद्दव प्रसाद सुवेदीसँग बैवाहिक जीवनमा बाँधिएकी कमलाले त्यसपछि संघर्ष के हो भन्ने कुरा नजिकबाट बुझिन् ।

बिहेपछि पनि उनले हटियामा नै सिलाई सिक्ने कामलाई निरन्तरता दिईरहिन् । २०४९ सालमा उनको कान्छो छोरा पेटमा हुर्किदै थिए । कमला ६ महिनाको गर्भवती थिइन् । उनी कामकै शिलशिलामा खोला तरेर जाने क्रममा खोलाले बगायो । २ सय मिटर तल पुर्याएपछि स्थानीय एक माझिले उनको उद्दार गरे । 

खोलामा पौडिन नजानेकी उनले हिलो पानी सबै निलिछन् । माझिले पेट र छातीमा थिचेर पानी निकाल्नुन्जेल उनको होस थिएन । बेहोसीबाट होसमा आउँदा उनी आफ्नै विस्तारामा पल्टिरहेकी थिइन् । त्यतिबेला उनलाई आफ्नो भन्दा पनि आफ्नो पेटमा हुर्किदै गरेको सन्तानको औधी माया लाग्यो । 

यति हुँदा हुँदै पनि उनले २०४९ साल पौष १४ गते कान्छो छोरालाई जन्म दिईन् । सकुशल आफ्नो सन्तानलाई जन्म दिन सकेकोमा उनले माझि दाइलाई मनमनै धन्यवाद दिईन् । तर उनले आफूलाई पुर्नजन्म दिएका माझि दाइलाई भौतिक रुपमा भेटेर सहयोग गर्न सकिनन् । अहिले पनि कर्रा खोला सम्झनासाथ उनलाई त्यो घटनाको याद आउँछ । 

‘अहिले म केही मात्रामा भएपनि कमाउन सक्ने भएकी छु’ उनी भन्छिन्, ‘तर मलाई त्यतिबेला बचाउने माझि दाइलाई सहयोग गर्न पाइन, यो कुरामा दुःख लाग्छ ।’ 

निकै अगाडीको घटना भएका कारण माझि दाइ यो धर्तीमा छन् वा छैनन् पनि यकिन छैन ।

यो पनि:सत्यनारायणः जसले आफ्नै ड्राइभरलाई साहु बनाए, ऋण नपत्याउँदा बैंकका मालिक बने

‘जेठो छोराको खुट्टा भाँचिदा ....’

आफूलाई कहिल्यै पनि कमजोर नारीका रुपमा स्वीकार नगर्ने उनको गजबको आत्मविश्वास छ । त्यही आत्मविश्वासले पनि कमला सुवेदीलाई सफलताका बाटाले सधैँ सकारात्मक गन्तव्यसम्म डोहो¥याइरहन्छ । यसो भनिँरहँदा उनले जीवनमा भोग्नु परेका पीडादायी क्षणहरुको खाडल पनि कम गहिरो छैन ।

२०५४ साल तिरको कुरा हो । जेठो छोराको खुट्टा भाँचिएको थियो । उपचार गर्ने आर्थिक अवस्था उनीहरुको परिवारसँग थिएन । कमला र उद्दवले छरछिमेकीसँग सहयोगको कयन याचना गरे । तर कसैले सहयोगको हात अघि बढाएनन् । जेनतेन छोराको उपचार गरिन् । 

‘बैगुनीलाई गुनले मार्नुपर्छ भन्ने हाम्रो पूरानो भनाई छ नि’ उनी अश्रुमिश्रित आँखाका परेलीहरु केही उज्यालो बनाउँदै भन्छिन्, ‘हिजो मलाई अफ्ट्यारो पर्दा सहयोग गर्न हिचकिचाउनेहरु आज म र मेरो परिवारसँग सहयोगको लागि आउँछन्, म खुला हृदयले सकेको सहयोग गर्छु ।’

‘श्रीमानलाई पढ्न प्रेरित गरेँ’

उनी सानो परिवारमा जन्मिएकी थिइन् । सानै परिवारमा हुर्किइन् पनि । तर बिहेपछि उनी ठूलो परिवारमा परिन् । छोरी भएर बा आमालाई सघाउँदै आएकी उनी बुहारीको भूमीकामा पुगिन् । यसले उनलाई थप जिम्मेवारी बोध भयो ।

खान पुग्ने कटाएर करेसामा उत्पादित तरकारी उनले डोकोमा बोकेर बजारसम्म लगेर बेच्न सके केही पैसा आर्जन सकिन्छ की भनेर त्यो पनि गरिन् । बजारमा डोकोमा तरकारी बोकेर उनी आउँथिन् । बुबाका व्यापारी साथीहरु सुट बुटमा नीजि सवारीमा हिडेको देख्थिन् । आफूलाई नदेखुन भनेर सलले मुहार छोप्थिन् । 

दुःखका दिनहरु केही गरी पनि नजाने हुन् की भन्ने पीरलो एकातिर थियो भने बढ्दै गरेका दुइ भाइ छोराहरुलाई संस्कारसहितको उचित शिक्षा दिने हुटहुटी पनि कहाँ कम थियो र ? त्यसैले उनले श्रीमानलाई पनि पढ्न प्रेरित गरिन् । एसएलसी मात्रै उत्तीर्ण गरेका उनका श्रीमान वाणिज्यको विद्यार्थी भएर पढ्न थाले । उनले पनि पढाइलाई निरन्तरता दिने सोच राखिन् । छोराहरुसँगै पढ्न थालिन् । छोराहरुलाई पढाउने अभिलाषा बोकेर आजभन्दा १५ वर्ष अघि उनी काठमाडौँ छिरिन् । 

‘रुदानले कलाको सम्मान गर्दा खुशी भएँ’

उनका बुबा किराना पसल गर्ने भएकाले अण्डा पनि बेच्ने गर्थे । अण्डा ल्याउँदा सँगै आउने किरेटहरु अनावश्यक भनेर फालिन्थ्यो । तर उनी ति अनावश्यक भनिएका किरेटहरु, कोकका बोतलहरु, बोतलका बिर्काहरु जम्मा पारेर सुन्दर आकार दिन्थिन् र सजावटका सामान बनाउँथिन् ।

यसरी सुन्दर सामानहरु बनाएको देखेर मकवानपूरका थाहा अभियान्ता (पूराना कम्युनिष्ट नेता) रुपचन्द्र विष्ट (रुदाने) ले निकै प्रशंसा गरे र केही पैसा दिएर किनेर पनि लगे । बालाखैमा आफूले बनाएको सामान त्यति ठूलो मान्छेले मन पराएर लगेपछि उनको हौसला बढ्यो । बिहेपछि पनि सासु आमाले खोष्टाका चकटी बनाएको देख्थिन् । उनी पनि बनाउँथिन् । त्यसले पनि उनलाई सीपप्रति थप मोह बढ्यो ।

बजारमा बुबाको पसल भएकाले बजारमै हुर्किएकी उनलाई किसानी सम्बन्धि आधारभूत ज्ञानबाहेक अरु थिएन । तर बिहेपछि जान्दिन भन्ने छुट पाउने अवस्था पनि भएन । उनी रोपाईँ गर्न जान्दिनथिन् । रोपाईँ गर्न नजान्ने भनेर उनलाई मेला पनि लगिदैनथियो ।

३ सयबाट उद्यम सुरु

खोष्टाका चकटी, अण्डा किरेटबाट सजावटका सामान जस्ता घरेलु बस्तुहरु उनी हातैले बनाउँथिन् । तर यसलाई व्यवसायिक बनाउन सकिन्छ भन्ने थाहा पाउँन उनलाई २०७० साल कुर्नु प¥यो । महिलाले लगाउने श्रृङ्गारका सामानमध्येको एक ‘पोते’ उनेरै भएपनि उद्यम गर्छु भनेर आत्मविश्वास लिएर उनले २०७० सालमा ‘सिर्जनशील क्रिष्टल हस्तकला उद्योग’ दर्ता गरिन् । 

उद्योग दर्ता गरेपनि लगानीको जोहो गर्न उनलाई निकै धौ धौ भयो । आफूसँग भएको ३ सय रुपैयाँबाट उद्यम सुरु गरिन् । जापानी क्रिष्टल पोते र धागो किनिन् । पोतेलाई सुन्दर डिजाइनमा धागोमा उनेर बिक्रि गरिन् । ६ सय रुपैयाँ आम्दानी भयो । यसपछि उनको आत्मविश्वास झन बढ्यो । विस्तार लगानी बढाउँदै आम्दानी पनि बढाउँदै लगिन् ।

यसै शिलशिलामा आफ्नो गृहजिल्ला मकवानपूरमा पनि केही योगदान गरौँ भन्ने लागेर २०७१ सालमा मकवानपूरमा पनि युनिक हस्तकला उद्योग दर्ता गरिन् । अहिले त्यहाँ कमलाकी बहिनीले उद्योग चलाउँदै आएकी छिन् ।

हिजो ३ सय रुपैयाँ लगानी गरेर उद्यमी बन्ने सपना बुनेकी कमला सुवेदी अहिले मासिक १ लाखभन्दा बढी कमाई गर्छिन् । श्रीमानले सक्दो सहयोग गरेका छन् । जेठो छोरा पढ्नका लागि जापान गए र पढाइ सकेर उतै प्रतिष्ठित कम्पनीको म्यानेजर भएका छन् । कान्छो काठमाडौँमा नै पुस्तक पसल चलाएर बसेका छन् ।

५० जनालाई रोजगारी, २३ हजारलाई तालिम

सन् २०१० मा उनले बंगलादेश जाने अवसर पाईन् । त्यहाँ महिलाहरुले हस्तकलाका सुन्दर सामग्रीहरु बनाएको देखेपछि उनले यस्तै उत्पादन नेपालमा पनि गर्न सकिन्छ भन्ने सोचिन् । त्यहाँ रहँदा उनले शुल्क तिरेरै केही समय निकालेर सीपलाई थप परिपक्व बनाइन् ।

फर्केर आएपछि उनले आफूसँग भएको सीप घरेलु तथा साना उद्योग विकास समितिमा देखाइन् । उनले देशव्यापी रुपमा महिलालाई उद्यमशील बनाउन हस्तकला कोशेढुंगा सावित हुने अड्डि कसिन् । सोही अनुसार घरेलुमा प्रस्ताव पनि गरिन् । घरेलुबाट प्रस्ताव स्वीकृत भएपछि कलंकीमा ५० जना गृहिणी महिलाहरुलाई तालिम दिईन् ।

त्यसपछि उनले घरेलुकै प्रस्तावमा महिला उद्यमशीलताबारे पुस्तक पनि लेखिन् । उनले लेखेको पुस्तक जिल्ला जिल्लामा पुग्यो । त्यसपछि आजसम्म उनको ब्यस्तता बढ्ने क्रम रोकिएको छैन । सामानको अर्डरसँगै तालिमका लागि पनि उनको माग बढिरहेको छ ।

उनले देशभर २३ हजार महिलालाई तालिम दिईसकेकी छिन् । तालिम लिएर सीप सिकेका महिलाहरुलाई रोजगारी पनि दिने गरेकी छिन् । ‘हातमा सीप भएपछि नारीहरु हिंसा सहेर बस्नु पर्दैन, यसको उदाहरण म पनि हो’ कमला भन्छिन्, ‘आम्दानी गर्न थालेपछि समाजले हेर्ने दृष्टिकोण पनि फरक हुँदो रहेछ, प्रतिष्ठा पनि आर्जन गर्न सकिने रहेछ । यो भन्दा पनि ठूलो कुरा हातमा सीप भएपछि कसैसँग आश गर्नुपर्दैन र भोकै बस्नुपर्दैन ।’ ५० जनालाई प्रत्यक्ष रोजगारी दिएकी उनले अप्रत्यक्ष रुपमा सयौँलाई लाभ दिईरहेकी छिन् ।

‘सहुलियतपूर्ण कर्जाको अभाव देख्छु’

सरकारले महिलालाई उद्यमी र स्वरोजगार बनाउन सहुलियतपूर्ण कर्जाको व्यवस्था गरेको भएपनि महिलाहरुले पाउन नसकेको गुनासो उनको छ । उनी आफूले पनि कर्जा लिएकी छैनन् । एउटा बैंकबाट केही वर्ष अघि उनले एक लाख रुपैयाँ कर्जा लिएकी थिइन् । तर त्यो कर्जा उनले ९ महिनामा नै चुक्त गरिन् । ‘महिलालाई तालिम दिएर मात्रै पुग्दैन, उद्यम गर्न, व्यवसाय गर्न पूँजी चाहिन्छ’ कमला भन्छिन्, ‘तालिम दिएपछि सरकारी निकायले फलोअप नगर्दा तालिममा भएको लगानी त्यसै खेर गईरहेको छ, तालिम पश्चात सहज रुपमा सहुलियत कर्जा दिने हो भने महिलाहरु उद्यमी बन्न कुनै गाह्रो छैन ।’ महिलाले लिएका तालिम, उनीहरुसँग भएका सीप र क्षमता हेरेर कर्जा दिने हो भने आफू जस्ता सफल महिला उद्यमीहरुको संख्या बढ्ने उनको विश्वास छ । महिलाको सीपमा लगानी गर्दा घाटा नहुने उनी बताउँछिन् ।

संस्थागत आवद्धता

आफ्नै सुरमा उद्यम गरिरहेकी उनी जब संस्थाहरुमा संगठित हुन थालिन्, तब धेरै कुरा सिक्ने अवसर पनि पाइन् । हाल घरेलु तथा साना उद्योग महासंघको काठमाडौँ जिल्ला सदस्य रहेकी उनी नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको हस्तकला विभागको विभागीय सदस्य छिन् ।

नेपाल चेम्बर अफ कमर्शको ट्रेड कमिटी सदस्य रहेकी कमला सुवेदी नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको केन्द्रीय सदस्य पनि हुन् । यी बाहेक उनी धेरै संस्थाहरुमा आवद्ध भएर महिला उद्यमशीलताका विषयमा निरन्तर वकालत गरिरहेकी छिन् ।

भावी योजना

कमला सुवेदी दुःखको खाडलबाट निस्किएकी सफल महिला उद्यमी हुन् । उनी महिलाको हातमा भएको सीपलाई व्यवसायिक बनाउने योजनाबारे निरन्तर खोज अनुसन्धान पनि गर्दै आएकी छिन् । तालिमकै शिलशिलामा उनी बाजुरा पुगेकी थिइन् । त्यहाँका महिलाले उत्पादन गर्ने अर्गानिक कृषि उपजले बजार नपाएको देख्ख्दा उनी खिन्न भईन् । त्यसपछि कर्णालीका अर्गानिक उत्पादनलाई काठमाडौँसम्म ल्याएर त्यहाँका महिलाको जीवनस्तर उकास्न उनले बजारीकरणको योजना बनाईन् । सोही अनुसार त्यहाँका अर्गानिक कृषि उपजहरु काठमाडौँ ल्याएर बिक्रि गर्न थालिन् । गहनाका आइटमबाहेक घरमै तान लगाएर उनले ढाकाबाट बन्ने बस्तुहरु पनि बनाउन थालेकी छिन् । विशेष गरी ढाकाका जुत्ता उत्पादन गरेर यसलाई व्यवसायिक बनाउने उनको योजना छ । अब यसैलाई निरन्तरता दिएर ‘ठूलो भोलुम’ मा काम गर्ने उनको योजना छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved