ब्युटीसियन सुमीत्राका संघर्ष: सन्तानका लागि कामदारदेखि उत्कृष्ठ उद्यमीको अवार्डसम्म

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 29, 2020 | 10:53:53 AM मा प्रकाशित

laxmi  sunrise bank

पढाईमा औधी रुचाई तर बालाखैमा बिवाह । आजभन्दा केही दशक अघि यस्तै यस्तै नियतीले ठग्ने गरेको थियो महिलाहरुलाई । अहिले केही सुधार भएको मानिएपनि त्यो शन्तोष मान्न सकिने उचाईमा अझै पुगिसकेको छैन । बाल्यकालमै बिवाह भएपछि न भविष्यको मार्ग कोर्न सकिने, न नियतीलाई गाली गर्दै जीवन गुजार्न मात्रै पनि सकिने । तर केही त्यस्ता पात्रहरु छन्, जो पारिवारिक असहयोगका बाबजुद पनि सफल उद्यमीका रुपमा उदाएका छन् ।

सफल महिला उद्यमीका सूचीमा ब्युटीसियन सुमीत्रा सापकोटाको नाम अग्र पङ्तिमा आउने गर्दछ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ पानीट्याङ्कीस्थित ‘सुरक्षा ब्युटिपार्लर’ की एक्ली सञ्चालिका सुमीत्रा त्यसै यो स्थानमा आइपुगेकी होइनन् । अनेकौ अवरोध, हण्डर र ठक्कर खाँदा पनि अविचलित यात्रा गर्दा गन्तव्यमा पुगिन्छ भन्ने उदाहरण बनेकी उनको विगत कम कहालिलाग्दो छैन ।

२०३५ सालमा पर्वतको रामजामा जन्मिएकी सुमीत्रा सानैदेखि मेहनती थिइन् । उनी ८ वर्षको हुँदा उनको परिवार पर्वतबाट बाराको कोल्भिमा बसाइ सर्यो । पीता इश्वरी प्रसाद तिमल्सिना र माता खीमादेवीको कोखबाट माइली छोरीका रुपमा जन्मिएकी सुमीत्राको १५ वर्षकै उमेरमा बिहे भयो ।

कक्षा १० मा पढ्दै गर्दा बिहे भएपछि उनले पढाई पूरा गर्न सकिनन् । तर पढाईको हुटहुटीले उनलाई एसएसली दिन भने बैबाहिक जीवनले रोकेन । त्यसपछि भने उनले औपचारिक शिक्षा आर्जन सकिनन् । तर, अनौपचारिक शिक्षाको आर्जन यसरी गरिन् की, जुन जो कोहिले सहजै उत्तीर्ण गर्न सक्दैन । यसका लागि कठोर त्याग र आत्मविश्वास चाहिन्छ ।

आफूले मात्रै नभई सन्तानहरुले समेत श्रीमानबाट माया र स्नेह नपाउने देखेपछि उनको मनले सन्तानको खुशीका लागि परिवार त्याग्ने निधो गर्यो

२०५० सालमा बैबाहिक बन्धनमा बाँधिएकी सुमीत्रा २०५५ सालमा आमा बनिन् । पहिलो सन्तानका रुपमा छोरीको जन्म दिएकी उनका श्रीमान नेपाल भारत ओहोर दोहोर गरिरहन्थे । बिबाह अघिको माइती र पछिको कर्म घर पनि कृषि पेशामा नै आवद्ध थियो । घरकी जेठी बुहारीको भूमीकामा रहेकी उनी नियमित घरधन्दामा नै सिमित थिइन् । २०५७ सालमा उनको कोखबाट छोराको जन्म भयो ।

पर्साको ठोरीमा रहेको परिवार धानेर बसेकी उनलाई श्रीमानले वास्ता गर्न छोडे । दुई सन्तानको अनुहार हेरेर श्रीमानबाट बालबच्चाको भरणपोषणको आशा गरेकी सुमीत्राले श्रीमानबाट कहिल्यै प्रेम पाउन सकिनन् । आफूले मात्रै नभई सन्तानहरुले समेत श्रीमानबाट माया र स्नेह नपाउने देखेपछि उनको मनले सन्तानको खुशीका लागि परिवार त्याग्ने निधो गर्यो । 

अभावका विशाल पहाड

सुमीत्रा ढुकुरका २ बचेरा जस्ता आफ्ना २ सन्तानलाई काखी च्यापेर २०६१ सालमा ठोरीबाट वीरगञ्ज झरिन् । बढ्दै गरेका छोराछोरीको पढाई र लालनपालनका निम्ती उनले कामको खोजि गरिन् । उनले औषधि पसलमा सप्लायर्सको काम पाईन् । 

बढ्दै गरेका छोराछोरीको पढाई र लालनपालनका निम्ती औषधि पसलमा सप्लायर्सको काम 

बेरोजगार हुँदा माइती पक्षबाट उनले सहयोग नपाएकी होइनन् । तर, उनलाई सधैँ यसैगरी चलिरहन मनले दिएन, मस्तिष्कले दिएन । त्यसैले उनले आफूले पाएको कामलाई निरन्तर गरिरहिन् । अर्डर लिने, पैसा उठाउने, भन्सारमा सामान लिन जाने जस्ता काम उनले गर्दै सिक्दै गइन् ।

‘काम नपाउञ्जेल कसरी पाईएला भन्ने चिन्ता भयो’ उनी भन्छिन्, ‘पाएपछि मेरा बच्चाहरु म कामबाट फर्केर नआउँदासम्म कसले हेरिदेला भन्ने पिर थपियो।’

आँखै अगाडी अभावै अभावको विशाल पहाड डङरङ्ग उभिएका थिए । ती पहाडहरु छिचोल्न सक्छु भन्ने आत्मविश्वास बोकेर उनी हिडिरहिन् । कोठा भाडा तिर्ने, छोराछोरी पढाउने र दैनिक खर्च धान्न मुस्किल हुँदा पनि उनले हाड छाला घोटिरहिन् । छोराछोरीले पढाईमा दिलाएको सफलताले उनलाई हर्षित बनाउँदै लग्यो ।

‘टर्निङ प्वाइन्ट’

हर मानिसलाई एक पटक अवसरले आँखा झिम्क्याउँछ, तर अवसर चिन्न सक्नुपर्छ । सुमीत्रालाई कसैले अगाडी ल्याएर अवसरको उपभोग गर्न दिएको होइन । तर एक समय यस्तो आयो की, उनले दौडिँदै गरेको अवसरलाई समात्न सकिन् ।

उनले काम गर्दै आएको सप्लार्यमा ब्युटिपार्लरका सामान पनि आउन थाल्यो । उनले विभिन्न ब्युटिपार्लरको अर्डर लिने र सामान पुर्याउने काम गर्न थालिन् । त्यसपछि उनलाई पनि पार्लर सिक्न मन लाग्यो । तर समयको अभाव थियो । काम छोडेर सिक्दा कोठामा चुल्हो बल्ने अवस्था थिएन । त्यसैले काम गर्दै दिनको ३ घण्टा समय निकालेर उनी ब्युटि पार्लरको तालिम लिन थालिन् ।

शनिबार पूरै समय तालिम लिन्थिन् । १ वर्षसम्म उनले आफूमा ब्युटीपार्लर सम्बन्धि आधारभूत ज्ञान दिलाएरै छोडिन् । २०६१ सालदेखि सप्लायर्सको काम गरेकी उनले २०६८ सालसम्म निरन्तरता दिईन् । धेरै आफन्त र साथिसंगी पनि कमाइन् । २०६८ सालमा भने उनले सीटीईभीटीले दिने ३ महिनाको ब्युटीसियन कोर्स सिक्ने अवसर पाईन् । त्यसपछि उनको आत्मविश्वास झन बढ्यो । र सोही वर्षको अन्तिममा छोरीको नामबाट ‘सुरक्षा ब्युटीपार्लर’को औपचारिक सुरुवात गरिन् । 

दिदी बहिनीबीच अधिक माया

उनले व्यवसाय सुरु गर्ने एकल निधो त गरिन्, तर उनीसँग लगानीको निम्ती पूँजी थिएन । श्रीमानसँग विछोडिएकी उनको एकल आम्दानीले छोराछोरीको पढाई शुल्क तिर्न र बिहान बेलुकाको छाक टार्नै मुस्किल थियो । तर यी विगत हेरेर उनी बस्नेवाला थिइनन् ।

५ दिदी बहिनी छन् सुमीत्राहरु । उनीहरुबीचको प्रेम निकै लोभलाग्दो छ । हर समयमा एकले अर्कालाई सहयोग गर्ने उनीहरुको बडो अचम्मको  विशेषता छ । त्यसैले उनले पनि आफूले ब्युटीपार्लर खोल्न लागेको कुरा बहिनी ज्वाईलाई सुनाईन् । 

बहिनी सावित्रा पौडेल र ज्वाई गोविन्द पौडेलले उनका लागि १ लाख रुपैयाँ लगानी गरिदिए । वर्षौ दुखमा बसेकी दिदीको आँट र हिम्मत देख्दा बहिनी सावित्रा औधि खुशी भईन् । ब्युटीपार्लर सञ्चालनमा आएको वर्षदिन भित्रै उनले त्यो ऋण तिरिन् । आज पनि नयाँ योजना बनाउँदा, योजनालाई कार्यान्वयन गर्नुपर्दा यी ५ दिदीबहिनी मिलेरै गर्ने गरेका छन् ।

छोराको बिद्रोह

उनी वीरगञ्ज आएर बस्न थालेको वर्षौ भयो । तर आजसम्म पनि कोही कसैले उनको श्रीमानसँगको सम्बन्धका बारेमा सोध्ने गरेका छैनन् । उनले पनि भन्ने गरेकी छैनन् । किनकी उनलाई सामाजिक परिवेशसामु कमजोर भएर प्रस्तुत हुन मन लाग्दैन ।

उनले कसैसँग यसबारे कुरा गरेकी पनि थिईनन् । अहिले पनि सम्बन्धका बारेमा उनी खुलेर बोल्न रुचाउँदिनन् । तर एकदिन छोराछोरी पढ्ने विद्यालयबाट निमन्त्रणा कार्ड आएको थियो । सानै भएपनि उनका छोरा संघर्षले कार्डमा बुबाको नाम लेखेको मन पराएनन् । उनले कार्ड वितरण गर्ने शिक्षकलाई कार्डमा आफ्नी आमाको नाम लेख्न भनेछन् । त्यसपछि मात्रै सुमीत्राका श्रीमान साथमा छैनन् भन्ने शिक्षकहरुले थाहा पाए । पछि उनलाई सोधखोज पनि गरेका थिए । 

तर उनीहरु सम्बन्ध बिच्छेद गरेरै छुट्टाछुट्टै बसेका भने होइनन् । अहिले पनि कानुनी रुपमा उनीहरु श्रीमान श्रीमतीकै रुपमा छन् । श्रीमानले अर्को बिहे गरे नगरेको पनि उनलाई थाहा छैन । श्रीमानबाट टाढिएको २ दशक भइसक्दा पनि देवर जेठाजुलगायत परिवारका अन्य सदस्यसँग भने उनको सम्बन्ध सुमधुर नै छ । 

‘त्यतिबेला बालबच्चा सानै थिए, परिवारबाट सपोर्ट थिएन । अब बच्चाहरुको लागि भएपनि देवर जेठाजुहरुलाई मैले पाउने जति सम्पत्ति के कति हो दिनुहोस् भनेको छु’ सुमीत्रा भन्छिन्, ‘मैले त्यतिबेला मुद्दा मामिला तिर लागेको भए मेरा बच्चाहरु भोकै हुने अवस्था थियो ।’

छोरीको लागि ट्रेनिङ सेन्टर खोल्ने लक्ष्य

अहिले पनि उनका छोराछोरी पीताको नामबाट चिचिन मन पराउँदैनन् । संघर्ष अहिले हेटौँडामा होस्टल बसेर होटल म्यानेजमेन्ट पढ्दै छन् । सुरक्षा ब्याचलर पढ्दै छिन् । सुरक्षाले डेढ वर्ष अघि नै मेकअप आर्टिस्टको कोर्स पनि सकिसकेकी छिन् । यति मात्रै होइन, उनी मेकअपको तालिम पनि चलाउँछिन् । सुमीत्रा पनि तालिम दिन विभिन्न जिल्लामा पुग्छिन् ।

लामो समयसम्म एक्लिएर पनि एक्लो महशुस नगरेकी सुमीत्राले एक्लै छोराछोरी बढाएर, पढाईन् पनि । छोरीलाई तालिम दिएर दक्ष पनि बनाईन् । अब छोरीले चलाउने गरी ब्युटी पार्लरसहित ट्रेनिङ सेन्टर पनि सञ्चालन गर्ने इच्छा छ । अहिले वीरगञ्जमा पार्लरसँगै ट्रेनिङ सेन्टर भएपनि सुमीत्रालाई भने चितवनको नारायणघाट आसपासमा अर्को ट्रेनिङ सेन्टर खोल्ने इच्छा छ ।

एक लाखबाट सुरु गरेको उनको व्यवसायको पूँजी अहिले १५ लाख नाघिसकेको छ

सुरुमा एक लाखबाट सुरु गरेको उनको व्यवसायको पूँजी अहिले १५ लाख नाघिसकेको छ । अब भने बैंकमार्फत कर्जा लिएरै भएपनि ठूलो ट्रेनिङ सेन्टर चलाउने सपना देखेकी छिन् । उद्यमी कर्जा लिएर पार्लरसँगै कस्मेटिक पसल पनि चलाउने धोको छ । सहकारीमा गर्ने दैनिक बचतबाहेक उनले मासिक एक लाखमाथि कमाउँछिन् । मासिक ७० हजारभन्दा बढी त उनको खर्च नै छ । आफू र छोरीबाहेक ३ जनालाई रोजगारी पनि दिएकी छिन् । 

वर्षमा ३ जनालाई निशुल्क तालिम

‘मैले हिजो रहर र इच्छा हुँदा पनि समयमा नै तालिम लिन सकेको थिइँन, अरुलाई पनि मैले जस्तै पैसाको अभावमा तालिम लिने मन हुँदा पनि समय कुर्न नपरोस् भनेर वर्षमा ३ जनालाई निशुल्क तालिमा दिने कोटा नै छुट्याएको छु’ सुमीत्रा भन्छिन् । 

उनको ट्रेनिङ सेन्टरमा आउनेहरुमध्ये छानेर, उनलाई यो मान्छेमा चाँही केही समस्या छ भन्ने लाग्यो भने सोधपुछ गरेर निशुल्क तालिम दिने गरेकी छिन् । यो कोटामा विशेष गरी हिंसामा परेका महिलाहरु, परिवार र श्रीमानबाट अपहेलित भएकाहरु पर्छन् । योबाहेक आर्थिक अवस्था कमजोर भएकाहरुलाई पनि उनले तालिम दिने गरेकी छिन् ।

आर्थिक अवस्था हेरेर मान्छेले ब्यवहार गर्दारहेछन्, हिजो म अभावमा हुँदा जति अपहेलित थिएँ, आज त्योभन्दा दोब्बर सम्मानित छु

उनीसँग तालिम लिएकाहरु कतिपय त उद्यमी नै बनिसके । कतिपय भने हातमा भएको सीप देखाएर बैदेशिक रोजगारीमा गएका छन् । २०७५ सालमा पर्सा जिल्लाकै उत्कृष्ठ महिला उद्यमीको रुपमा सम्मानित भएकी सुमीत्रा यहाँसम्म पुग्नुको पछाडी सन्तानको पनि कम योगदान छैन । स्कुल जाने, छुट्टि भएपछि सरासर आएर घरमै बसिदिने, जे छ त्यही खाईदिने, दुख नदिने जस्ता गुण भएका २ सन्तान साथमा भएको हुनाले उनले कर्म गर्न सकिन् । त्यसैले आफ्नो सफलताको जश छोराछोरीलाई पनि दिन चाहन्छिन् सुमीत्रा ।

‘भाग्यलाई दोष दिएर पुर्परोमा हात लगाएर बस्यो भने कहिल्यै सफल भईदैन’ सुमीत्रा भन्छिन्, ‘आर्थिक अवस्था हेरेर मान्छेले ब्यवहार गर्दारहेछन्, हिजो म अभावमा हुँदा जति अपहेलित थिएँ, आज त्योभन्दा दोब्बर सम्मानित छु । आर्थिक हैसियत निर्माण गर्न आशमा बस्ने होइन, आफैँ लाग्ने हो ।’

हाल घरेलु तथा साना उद्योग महासंघ, पर्साको कोषाध्यक्ष र राष्ट्रिय सौन्दर्यकर्मी युनियन प्रदेश २ को अध्यक्ष रहेकी सुमीत्रा सापकोटा प्रेरणादायी महिला उद्यमी हुन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved