टेलिकमले कर्णाली र सुदूरपश्चिममा उच्च गतिको इन्टरनेट विस्तार गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 03, 2020 | 09:01:26 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले कर्णाली र सुदूरपश्चिम प्रदेशहरु अन्तर्गत मध्य पहाडी लोकमार्गमा अप्टिकल फाइबर नेटवर्क विस्तार गर्ने भएको छ । टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणसँग ग्रामीण दूरसञ्चार विकास कोषको प्रयोग गरी अप्टिकल फाइबर नेटवर्क विस्तार गर्न सम्झौता गरेको हो । सम्झौतामा  प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल र टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले हस्ताक्षर गरेका छन्। 

सम्झौता अनुसार कर्णाली र सुदुरपश्चिम प्रदेशका जिल्ला सदरमुकाम र नगरपालिका जोड्ने गरी अप्टिकल फाइबर ब्याकबोन नेटवर्क (Optical Fiber Backbone Network) निर्माण हुने छ । रुकुमको मुसिकोट देखि बैतडीको झुलाघाटसम्म नेटवर्क विस्तार गर्ने गरी कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका जिल्ला सहित बाँके र बर्दिया जिल्ला समेत गरी २० जिल्लामा फाइबर नेटवर्क विस्तार हुनेछ । 

 आयोजना अन्तर्गत करिब २ हजार ४ सय किलोमिटरमा अन्डरग्राउन्ड, एडीएसएस (ADSS)  फाइबर तथा Direct Buried Cable (DBC)  विस्तार गरिने टेलिकमले जनाएको छ । साथै विभिन्न साइटहरुमा डीडब्ल्युडीएम, राउटर तथा माइक्रोवेभ सञ्चालन गरी नेटवर्क विस्तार गरिने छ । मध्य पहाडी लोक मार्ग, पूर्व–पश्चिम राजमार्ग, उत्तर–दक्षिण राजमार्ग र हुलाकी राजमार्गमा नयाँ निर्माण गरिने अप्टिकल फाइबर नेटवर्क न्यूनतम ९६ कोरको हुनुको साथै जिल्ला सदरमुकाम र नगरपालिका सम्म क्रमशः न्यूनतम ४८ र २४ कोरको अप्टिकल फाइबर नेटवर्क विस्तार गरिने सम्झौतामा उल्लेख छ । 

हाल र भविष्यमा भ्वाइस तथा डाटा अपरेटरबाट हुन सक्ने मागलाई मध्यनजर गरी आवश्यकता अनुसार “400G क्षमतासम्म क्षमता अभिवृद्धि गर्न सकिने गरी Multiple 100G” तथा “100G वा सो भन्दा बढी क्षमता हुने गरी ःMultiple 10G” क्षमताका राउटर प्रयोग गरिने टेलिकमले जनाएको छ । 

 नेपाल टेलिकमले बोलपत्रबाट प्रतिस्पर्धा गराई प्राप्त हुने रकममा अधिकतम ३ अर्ब ८१ लाखमा नबढ्ने गरी  प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषबाट रकम प्रदान गर्नेछ । सम्पूर्ण बोलपत्रहरु तीन महिना भित्र प्रकाशन हुने र नेपाल टेलिकमले ठेक्का सम्झौता गरेको २ वर्ष भित्र आवश्यक हुने पूर्वाधार निर्माण गर्ने सम्झौतामा उल्लेख छ । 

कम्पनीले हाल मध्य पहाडी लोकमार्ग अन्तर्गत प्रदेश नम्बर १, २ र ३ मा समेत नेटवर्क विस्तार गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved