८ कात्तिकपछि विदेशी च्यानलमा विज्ञापन नआउने, बन्द होलान् त भारतीय च्यानल ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 24, 2020 | 03:52:38 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले अबको ठिक एक महिनापछि विदेशी टेलिभिजन च्यानलमा क्लिन फिड लागू गर्ने घोषणा गरेको छ। कात्तिक ८ गतेदेखि क्लिन फिड लागू हुँदा हाल प्रशारणमा रहेका भारतीय लगायतका च्यानलहरु के होला भन्ने आम जनचाँसो छ। 

नेपालले कात्तिक ८ देखि विदेशी टेलिभिजनमा क्लिन फिड अर्थात बिना बिज्ञापन च्यानल प्रशारण गर्नुपर्ने नियम लागू गर्ने तयारी गरेपनि भारतीय लगायतका च्यानलहरुले तोकिएको समयमा क्लिन फिड भएर नेपालमा प्रशारण हुन नसक्ने बताईरहेका छन्। 

बिबिसी, सीएनएन, आस्था, अलजजिरा जस्ता च्यानलहरु क्लिन फिडमा नभएकाले कात्तिक ८ देखि यी च्यानल नेपालमा प्रशारण हुनेमा आशंका उब्जिएको छ। त्यस्तै पे टिभीका रुपमा चिनिने भारतीय च्यानलहरु सोनी, जी नेटवर्क, स्टार नेटवर्क, डिस्कभरी, इन्डिया काष्ट लगायतका नेटवर्कका च्यानल कात्तिक ८ देखि प्रशारण हुनेमा प्रश्न उब्जिएको छ। यद्दपी सोनी नेटवर्क भने नेपालमा क्लिन फिड बिना ल्याउने र यहींबाट नै फिड क्लिन बनाउनेगरि अगाडी बढेको छ। तर सोनीको यो रणनीति नेपालको कानुनको मर्म विपरित देखिन्छ। 

सरकारले एक महिनापछि क्लिन फिड लागू गर्ने भनेपनि यसको नियमन गर्ने निकाय बिज्ञापन बोर्ड अझैं गठन भई नसकेको अवस्था छ।  विज्ञापन बोर्डको नियमावलीमा क्लिन फिडको नियमन गर्न तथा आवश्यक कार्य गर्न छुट्टै कर्मचारी तथा कार्यालयको व्यवस्थापन लगायतका विषयलाई समेटेतापनि अझैँ बोर्डको नियमावली जारी हुन सकेको छैन् । लामो समयदेखि सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले नियमावली तयार पारेर मन्त्रीपरिषद्को बैठकमा पेश गरेको भन्दै आएतापनि मन्त्रीपरिषद्ले नियमावली पारित गर्न सकेको छैन् । 

मन्त्रीपरिषद्ले स्वीकृति नदिदा एकातर्फ तोकिएकै समयमा क्लिन फिड लागुहुने अन्योल थपिएको छ भने अर्कोतर्फ कसरी क्लिन फिड लागू हुने भन्ने प्रश्न खडा भएको छ। सरकारी तयारी सुस्त सगैँ केही समय अघिमात्रै भारतीय टेलिभिजन च्यानल प्रसारण संस्था इन्डियन ब्रोडकास्टिङ फाउन्डेसन (आईबीएफ)ले नेपाल सरकारलाई थप ६ महिना क्लिन फिड नीति कार्यान्वयनमा नल्याउन आग्रह गरेको छ । नेपालमा विदेशी च्यानल बिक्री गर्ने भारतीय पक्षले नै ६ महिना पछि सार्नुपर्ने जनाउँदा समयमा नै क्लिन फिड नीति लागु हुँदैन कि भन्ने अन्योल सिर्जना भएको हो।

 समय नजिकिए पनि तोकिएको समयमा क्लिन फिड नीति लागु हुने सञ्चार मन्त्रालयको दाबी छ । मन्त्रालयका प्रवक्ता गोकर्णमणि दुवाडी विज्ञापन रहित विदेशी च्यान लागु गर्न मन्त्रालय पूर्ण रुपमा तयारी अवस्थामा बसेको बताउँछन् । 

'विज्ञापन बोर्डको नियमावली मन्त्रीपरिषद्मा पुपिगसकेको छ । सम्भवत आज निर्णय हुन्छ’, उनले भने, ‘आवश्यक सबै काम सकिएको छ, जसरी पनि तोकिएको समयमा क्लिन फिड लागु हुन्छ ।’

विदेशी च्यानलमा क्लिन फिड लागु भए नभएको मनिटरिङ गर्न सूचना तथा प्रसारण विभागमा प्राविधिक संयन्त्र विकास सगैँ आवश्यक सबै सिष्टम जडान भैसकेको उनी बताउँछन्।

‘विज्ञापन ऐन–२०७६ मा नै व्यवस्था भएकाले तोकिएकै समयमा क्लिन फिड लागू हुन्छ, सयम थपको माग गर्नु उनीहरुको अधिकार हो, तर हामीले थप गर्न सक्ने अवस्था छैन, उनले भने’, ‘असारमा डाउनलिङ अनुमति नवीकरण गर्दा सबै च्यानलले तोकिएको सयममा क्लिन फिडमा जाने शर्त स्वीकार सकेका छन्, यदि कोही पछि हट्छन भने कानुनअनुसार च्यानलको प्रसारण रोकिन्छ ।’

सरकारले क्लिन फिड लागू गर्ने दाबी गरिरहँदा हाल प्रशारणमा रहेका च्यानलहरुले क्लिन फिड दिन नसक्ने बताईरहेका छन्। जुन च्यानल क्लिन फिड भएर आउँछन भनिएको छ, ति च्यानलपनि बिना क्लिन फिड नेपाल ल्याईने र यहींबाट फिड क्लिन गर्ने केहि च्यानल बिक्रेताको योजना छ। 

विदेशबाट क्लिन फिड नगरी नेपाल ल्याएर फिड क्लिन गर्दा नेपालको कानुनको मर्म पुरा नहुने भएकाले सरकारले क्लिन फिड चाहेको हो कि फिड क्लिन भन्नेकुरा स्पष्ट पार्नुपर्ने जानकारहरु बताउँछन।  

के हो क्लीन फिड ?

विज्ञापन ऐन–२०७६ को प्रावधानअनुसार नेपालमा प्रशारण हुने बिदेशी टेलिभिजन च्यानलहरुले बिज्ञापन रहित (क्लिन फिड) प्रशारण गर्नुपर्नेछ । अर्थात उक्त प्राबधानअनुसार नेपालमा प्रशारण हुने विदेशी टेलिभिजन च्यानलका कन्टेन्ट बाहेक विज्ञापन हेर्नुपर्ने बाध्यता हुँदैन्।

विज्ञापन रहित टेलिभिजन च्यानलको अवधारणा नै क्लीन फिड हो । नेपालमा क्लिनफिड लागू गर्ने लामो समयदेखिको प्रयासबीच सरकारले गत वर्ष विज्ञापन (नियमन गर्ने) ऐन–२०७६ मा ल्याएको थियो । 

उक्त ऐनमा वस्तु वा सेवाको बजार प्रवद्र्धन, बिक्रीवितरण गर्न, त्यस्तो वस्तु वा सेवाको प्रचारप्रसारको लागि विज्ञापन गर्ने लगायतका काम गर्न नपाउने उल्लेख छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved