सोलुखुम्बुको विकट क्षेत्रमा टेलिकमको जीएसएम सेवा, निशुल्क सिम वितरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 21, 2020 | 01:10:38 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले सोलुखुम्बु जिल्लाको विकट स्थान ताक्सिन्दु र जुभुमा जीएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । टेलिकमको स्काई मोबाइलबाट मात्र सेवा प्रवाह हुँदै आएको उक्त स्थानमा असोज २९ गतेदेखि सेवा सञ्चालन ल्याईएको हो । 

जिएसएम मोबाइल सेवा सञ्चालनमा आएपछि उक्त दुई क्षेत्रका स्थानीयले कुराकानी सहित मोबाइल डाटा समेत चलाउन सक्ने टेलिकमका प्रवक्ता राजेश जोशीले बताए । उनका अनुसार ३ हजार १३० मिटर उचाईमा रहेका दुधकुण्ड नगरपालिकाको ताक्सिन्दुमा जीएसएम प्रविधिको बीटीएस टावर स्थापना भएसगैँ लुक्ला हुँदै नाम्चेसम्म पुग्ने पदयात्री यही रुट भएर जाने हुनाले यसबाट पर्यटकहरु समेत लाभान्वित हुने अपेक्षा गरिएको छ । 

ताक्सिन्दु क्षेत्रका नुनथला, फुलेबी, सेरा, खरिखोला, जुबिङ र पैयाँ लगायत क्षेत्रका करिब ६ सय घरधुरीले कम्पनीको मोबाइल सेवाबाट प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् । सेवाग्राहीहरुको सुविधालाई ध्यानमा राखी दुर्गम तथा अति विकट स्थानका रुपमा रहेका उक्त क्षेत्रमा टेलिकमले निशुल्क सिम समेत वितरण शुरु गरेको छ । 

यसैगरी सोलुकै दुधकोशी गाउँपालिका वडा नम्बर ४ जुबु बलंगामा अर्को टावर जडान गरेर सेवा सञ्चालनमा ल्याईएको छ । करिब १ हजार २३० मिटर उचाईमा रहेको टावरले सो क्षेत्रअन्तर्गत पर्ने देउसा, मुक्ली, कागेल, पञ्चन र जुभु गरी सो भेगमा रहेका ४ हजार घरधुरी लाभान्वित हुने जनाईएको छ । 

ओखलढुंगाको रुम्जाटारमा नेपाल टेलिकमको ग्राहक सेवा केन्द्र पुनःसञ्चालनमा ल्याएको छ । करिव २ वर्षदेखि बन्द रहेको रुम्जाटार र रुम्जाटार विमानस्थलमा ग्राहक सेवा केन्द्र पुनः सञ्चालनमा ल्याएको हो । 

ग्राहक सेवा केन्द्र पुनस्र्थापना भएपछि सेवाग्राहीलाई टेलिफोन जडान गर्न, इन्टरनेट सुविधा लिन, नयाँ सिमकार्ड खरिद गर्न वा सिम परिवर्तन तथा भुक्तानी गर्नुपर्ने बिलको समेत भुक्तानी हुने जनाईएको छ । 

    


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved