क्लिन फिडमा ठुलाका आ-आफ्ना स्वार्थ, जनताले इच्छाएको च्यानल हेर्न नपाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 23, 2020 | 08:59:17 PM मा प्रकाशित

laxmi  sunrise bank

विज्ञापन ऐन २०७६ ल्याईएको एक वर्ष अर्थात आज २०७७ साल कात्तिक ७ गतेदेखि क्लिनफिड लागू हुँदै छ। आज मध्यराती १२ बजेदेखि लागू हुने भएपछि केहि च्यानल वितरकले विदेशी ब्रोडकाष्टले क्लिन फिड च्यानलहरु उपलब्ध गराउन नसकेकाले क्लिन फिडमा उक्त च्यानल उपलब्ध नहुँदासम्म नेपालबाट ती च्यानलहरु हेर्न नपाइने भन्दै विज्ञप्ती समेत निकालिसकेका छन्। 

च्यानल वितरकहरुबाटै यस प्रकारको विज्ञप्ती सार्वजनिक हुनु विभिन्न प्रकारका विदेशी च्यानल हेरेर मनोरन्जन लिइरहेका नेपाली उपभोक्ताको लागि भने सकारात्मक सन्देश नहुन सक्छ। धेरै च्यानलहरु क्लिन फिडमा गईनसकेकाले विज्ञापन बजाएर कारवाहीमा पर्नु भन्दा च्यानल लै बन्द गर्ने विकल्पमा च्यानल वितरक हुने भएकाले नेपालीहरुले आफुले हेरिरहेको विदेशी च्यानल हेर्न नपाउने सम्भावना अधिक छ। 

विज्ञापन रहित बिदेशी च्यानलको अवधारणा नै क्लीन फिड भएकाले आजदेखि विज्ञापन रहित विदेशी च्यानल नभए तत्काल च्यानल बन्द गर्ने तयारीमा सूचना तथा सञ्चार प्रविधि मन्त्रालय छ। क्लिन फिड बीना प्रशारण भए नभएको यकिन गर्नलाई आवश्यक तयारी तथा उपकरणको व्यवस्था भैसकेको मन्त्रालयको दाबि छ।  

मन्त्रालयका प्रवक्ता गोकर्णमणि दुवाडी विज्ञापन रहित विदेशी च्यानल लागु गर्न मन्त्रालय पूर्ण रुपमा तयारी अवस्थामा बसेको बताउँछन् । उनका अनुसार क्लिनफिड मनिटरिङ गर्न आवश्यक सबै सिष्टम जडान गरिसकेको छ । 

डिजिटल टेलिभिजन अपरेटर एसोसिएसन अफ नेपालका अध्यक्ष सुदीप आचार्य सरकारले आजदेखि क्लिनफिड लागु गर्दा उपभोक्ता मारमा पर्ने बताउँछन् । 

आचार्य भन्छन, सरकारले ऐन नै बनाएपछि कार्यान्वयन त हुन्छ, तर सर्वसाधारण उपभोक्ताका लागि समस्या आउछँ। विज्ञापन नियमावलीमा विज्ञापन रहित सफा विदेशी टेलिभिजन लागु गर्ने भनियो भने सर्वसाधारणले खोजेको तथा उनिहरुको इच्छा अनुसारको च्यानल नेपालमा बसेर हेर्न पाइदैन् । 

विज्ञापन नियमावलीमा विज्ञापन रहित सफा विदेशी टेलिभिजन लागु गर्ने भनियो भने सर्वसाधारणले खोजेको तथा उनिहरुको इच्छा अनुसारको च्यानल नेपालमा बसेर हेर्न पाइदैन्

-सुदिप आचार्य, अध्यक्ष, डिजिटल टेलिभिजन अपरेटर एसोसिएसन अफ नेपाल 

आचार्यका अनुसार अझै नेपालका विभिन्न भागमा गैरकानूनी रुपमा भारतीय टिभि च्यानलहरु हेर्ने गरीएको छ। गैरकानुनी टिभि च्यानल बन्द नभई क्लिनफिड लागुभएपछि गैरकानुनी कारोबार बृद्धि हुने सम्भावना बढेको छ। 

क्लिन फिडमा सबैका आ-आफ्ना स्वार्थ, नेपाली च्यानल हेरे पुग्ने मिडिया सोसाइटीको अडान

मिडिया सोसाइटीका अध्यक्ष सुसांखर कंडेलले भने सांस्कृतिक रुपमा विज्ञापन मार्फत हुने अधिक्रमण कम गर्न क्लिवफिड ल्याईएको बताउँछन् । उपभोक्ताले आफ्नो इच्छाअनुसार सरासर रुपमा विदेशी च्यानल हेर्न पाउँदा समयको बचत सगैँ नेपाली च्यानलतिर आर्कषण बढाउन सकिने उनको दाबि छ। 

कँडेलकाअनुसार विदेशीले बिना लगानी नेपालमा विज्ञापन गर्दै फाइदा लिइरहेका छन्। क्लिनफिड लागुभएपछि उनिहरु सरकारी नियमअनुसार विज्ञापनको दायरामा आउनुपर्छ। यसको मुख्य फाईदा सरकारलाई हुन्छ भने उपभोक्तालाई समेत फाईदा पुग्छ।  

बिज्ञापन संघका पुर्व अध्यक्ष तथा वेलकम एड एजेन्सीका संचालक निर्मलराज पौडेलले सरकारले १३ बर्ष अगाडी ल्याउनुपर्ने क्लिनफिड ढिलो गरि ल्याएकाले आजको दिनमा सबै सरोकारवाला एकै ठाउँमा बसेर मोडालिटीको बिषयमा छलफल गर्नुपर्ने बताउँछन। 

आज प्रविधिमैत्री भईसकेको बेलामा क्लिन फिड लागू गर्दा सरोकारवाला सबैलाई एकै टेबलमा राखेर छलफल गराउनका लागि पनि तत्कालै बिज्ञापन बोर्ड बन्नुपर्ने उनको भनाई छ। मन्त्रालय अन्तरगत रहेको सूचना तथा प्रशारण विभागका अनुसार हाल एक सय २५ विदेशी टिभि च्यानलले डाउनलिङ लिएका छन् । 

के हो क्लीन फिड ?

विज्ञापन ऐन–२०७६ को प्रावधानअनुसार नेपालमा प्रशारण हुने बिदेशी टेलिभिजन च्यानलहरुले बिज्ञापन रहित ९क्लिन फिड० प्रशारण गर्नुपर्नेछ । अर्थात उक्त प्राबधानअनुसार नेपालमा प्रशारण हुने बिदेशी टेलिभिजन च्यानलले कन्टेन्ट बाहेक विज्ञापन प्रशारण गर्न पाउनेछैनन। 

विज्ञापन रहित टेलिभिजन च्यानलको अवधारणा नै क्लीन फिड हो । नेपालमा क्लिनफिड लागू गर्ने लामो समयदेखिको प्रयासबीच सरकारले गत वर्ष विज्ञापन ९नियमन गर्ने० ऐन–२०७६ मा ल्याएको थियो। 

उल्झन उस्तै 

सरकारले क्लिन फिड लागू गर्ने भनेपनि नेपाली बजारमा बिज्ञापन व्यवसायको व्यवस्थापन, प्रवर्द्धन, नियमन तथा वितरणको कार्य गर्ने उदेश्यले गठन गर्ने भनिएको विज्ञापन बोर्डले अझै पूर्णता पाएको छैन। 

क्लिन फिड लागू  हुनु पुर्व नै बिज्ञापन बोर्डले अध्यक्ष पायो भन्ने देखाउनलाइ स्वत: सदस्य हुने सूचना तथा संचार मन्त्रालयका सहसचिवलाई बोर्डको कामचलाउ अध्यक्ष बनाएको छ। तर बोर्डको कार्यकारी अध्यक्ष तथा सदस्य नियुक्ति हुन् भने बाँकी नै छ। 

सूचना तथा संचार मन्त्रालयको सहसचिवको अध्यक्षतामा गठन हुने उक्त बोर्डले बिज्ञापनको मात्र नभई क्लिन फिडको मोडालिटी समेत हेर्ने उदेश्य लिएको छ। तर पूर्णता नपाएको बोर्ड बीना नै लागू भएको क्लिन फिडका कारण आम उपभोक्ता मारमा पर्ने देखिन्छ। 

च्यानल वितरकके कारवाहीबाट बच्नलाई च्यानल बन्द गर्दा बिज्ञापनको ओईरो लाग्छ भन्ने दिवास्वप्न देखेका नेपाली टेलिभिजनका संचालक तथा केहि बिज्ञापन एजेन्सीहरुलाई तत्काललाई कुना मार नपरेपनि पैसा तिरेर च्यानल हेर्दै आएका आम उपभोक्ताको हक अधिकार भने खोसिने देखिएको छ। 

राजश्वमा पनि धक्का 

एकातर्फ क्लिन फिड मा आउँन नसक्ने च्यानल बन्द हुँदा त्यहाँका उपभोक्ता नेपाली च्यानल हेर्न बाध्य हुने र अर्कोतर्फ क्लिन फिडमा विदेशी च्यानल आएपनि त्यहाँ आईरहेका विज्ञापन नेपालका टेलिभिजनमा मात्र बज्ने नेपालका टेलिभिजन संचालकहरुको बुझाई छ।

तर क्लिन फिडवाला च्यानल ल्याउँदा महँगो पर्ने र त्यसको अन्तिम शुल्क अन्तत ग्राहकले नै तिर्नुपर्ने हुँदा अहिलेकै शुल्क वा सस्तोमा विदेशी च्यानल हेर्नलाई हिजोका दिनका असनबजारका बक्स विकल्प बन्न सक्छन। अवस्था यस्तो भयो भने नेपालका टेलिभिजनमा विज्ञापन आउँन त परै जाओस सरकारको ढुकुटीमा आउने राजश्वमा समेत कैंची लाग्न सक्छ। 

त्यस्तै विदेशी अर्थात भारतीय च्यानल मार्फत नेपालको बजारलाई प्रभाव पार्न प्रशारण भईरहेका विज्ञापनको लागि गुगल, फेसबुक, युट्युब, अन्य सामाजिक संजाल तथा इन्टरनेटका माध्यमबाट प्रशारण हुने विदेशी अनलाइन न्युज पोर्टल तथा पोर्टलहरु विकल्प बन्न सक्छन। 

आजका दिनमा नेपालकै धेरै बिज्ञापन एजेन्सीहरुले नेपालमै दर्ता नै नभएका गुगल, फेसबुक, युट्युब, अन्य सामाजिक संजाल तथा इन्टरनेटका माध्यमबाट प्रशारण हुने विदेशी अनलाइन न्युज पोर्टल तथा पोर्टलहरु मार्फत नेपालका विज्ञापन देखाईरहेका छन्। यसबाट एजेन्सीहरुलाई फाइदा पुगेपनि नेपालका अनलाइन मिडिया तथा राजश्वमा बार्षिक करोडौं रुपैयाँ बराबरको धक्का लागेको छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved