क्लिन फिडले फेरियो टिभी हेर्ने शैली, विज्ञापन र राजश्वमा ठुलो धक्का

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 02, 2020 | 07:20:23 PM मा प्रकाशित

laxmi  sunrise bank

कात्तिक ७ देखि कार्यन्वयनमा ल्याइएको क्लिन फिड को मोडालिटीमा सरकार आफैं स्पष्ट नहुँदा सर्वसाधारण मारमा परेका छन्। विदेशी च्यानल बिज्ञापन रहित नभएमा कारवाही भोग्नुपर्ने बिज्ञापन ऐन २०७७ को व्यवस्था भएकाले कात्तिक ७ देखि सुरुवाती एक हप्तासम्म धेरै च्यानलहरु बन्द भए। 

मूल स्रोत अर्थात भारतबाट नै क्लिन फिडमा च्यानल नआएपछि विज्ञापन सहित च्यानल देखाएर कारवाही भोग्न भन्दा च्यानल नै बन्द गर्नलाई  सेवा प्रदायकले उचित ठाने।  बिभिन्न प्याकेजका लागि अग्रिम पैसा भुक्तान गरेपनि आफुले रुचाएका च्यानल प्रशारण बन्द भएपछि उपभोक्ताहरुले अन्य माध्यम मार्फत कार्यक्रम हेरेर आफ्नो इच्छा पुरा गरे। 

नेपालमा धेरै हेरिने जी, सोनी, स्टार, एचबिओ, कलर्स, कार्टुन, ब्रोदर्स वार्नर लगायतका नेटवर्क अन्तर्गतका च्यानलहरुमा प्रशारित रुचाइएका कार्यक्रम हेर्नलाई युट्युब लगायतका अन्य माध्यम विकल्प बन्न पुग्यो।

धेरै नेपालीले कलर्स मार्फत प्रशारण भईरहेको कार्यक्रम बिगबोस, स्टार मार्फत प्रशारण भैरहेको दुबईमा जारी आइपीएल, इंगलिस प्रिमियर लिग लगायतका कार्यक्रम हेर्नलाई टेलिभिजन च्यानल बाहेकका विकल्प रोजे। कतिपयले विदेशमा भएका आफन्त मार्फत नेटफिक्स मार्फत मनपरेका च्यानल खोजि खोजि हेरे भने कहिले मन परेका कार्यक्रम युट्युब लगायतका माध्यम मार्फत हेरे। 

यस अघि: 
-क्लिन फिड लागू भएपछि युट्युब बन्यो विकल्प, टेलिभिजनवालाका बदमासी यथावत

-क्लिन फिडको शास्ती: बन्द च्यानल हेर्न महिना कुर्नुपर्ने, टिभी हेराई १०० प्रतिशतले महँगिँदै

टेलिभिजन हेर्ने सोच र शैलीमा परिवर्तन 

क्लिन फिड कार्यन्वयनमा आएको भनिएको कात्तिक ७ यता टेलिभिजन हेर्ने शैलीमा विस्तारै परिवर्तन आएको छ भने टेलिभिजन च्यानल नै नहेर्ने बानी विकसित हुँदै गर्दा त्यसको असर नेपालका टेलिभिजनमा समेत परेको छ। 

उपभोक्ताले आफुलाई मन परेका च्यानल नेटफ्लिक्स लगायतका अन्य माध्यमबाट हेर्दा तथा आफुलाई मनपर्ने कार्यक्रम युट्युब लगायतका अन्य माध्यम मार्फत हेरिन्दा टेलिभिजन अगाडी बस्नेको संख्यामा गिरावट आउने संकेत देखिएको छ। टेलिभिजन अगाडी बसेर मन मन परेको कार्यक्रम हेर्दा त्यसले च्यानलको पनि महत्त्व बढ्थ्यो तर टेलिभिजन हेराई नै प्राथमिकतामा नपरेपछि टेलिभिजन हेर्नेको संख्यासँगै टेलिभिजन प्रतिको आकर्षण घट्ने संकेत देखिएको छ। 

भ्यालुसँगै बिज्ञापन पनि घट्ने डर 

बिदेशी च्यानलमा विज्ञापन प्रशारण गर्न प्रतिबन्ध गरीएपछि ती बिज्ञापन नेपालका टेलिभिजनमा बजेर नेपालका टेलिभिजनको बिज्ञापन बजार ह्वात्तै बढ्ने विश्लेषण थियो। तर क्लिन फिड कार्यन्वयनमा आएपछिको एक हप्तालाई नजिकबाट नियालेर हेर्ने हो भने विज्ञापन बजार बढेपनि त्यसको प्रत्यक्ष लाभ टेलिभिजनवाला वा सरकारलाई नहुने देखिन्छ।  

विदेशी च्यानलमा बज्दै आएका विज्ञापन पनि फेसबुक, ट्वीटर, गुगल, लगायतका अन्य माध्यममा बज्न थालेका छन्। यसले फेसबुक, ट्वीटर, गुगल लगयतका सोसियल मिडियालाई फाइदा भएपनि टेलिभिजनवालाहरुलाई तथा नेपाल सरकारलाई नोक्सानी देखिन्छ। 

विश्वका अन्य देशहरुमा सोसियल मिडिया समेत सम्बन्धित देशमा दर्ता हुने र त्यहाँ भएका बिज्ञापन तथा व्यवसायबाट उपलब्ध आम्दानीको केहि प्रतिशत करको रुपमा राज्यलाई जान्छ। 

प्रविधि र नयाँ पुस्ताको वैकल्पिक रोजाईबारे चाँसो नराखी नेपालमा १५ बर्ष अगाडी ल्याउनुपर्ने क्लिन फिड अहिले ल्याईदा पनि स्पष्ट मोडालिटी नहुँदा  यसको असर उपभोक्तालाई मात्र नभई सरकारको राजश्व खातामा पनि देखिने अनुमान छ। एकै छिन बिज्ञापन बजाएर मोटो रकम कमाईरहेका बिज्ञापन एजेन्सीमा पनि यसको अप्रत्यक्ष असर देखिन थालेको छ। 

क्लिन फिडमा ठुलाका आ-आफ्ना स्वार्थ, जनताले इच्छाएको च्यानल हेर्न नपाउने

महंगो हुने निश्चित 

अहिलेसम्म अधिकांश विदेशी ब्रोडकास्टले भारतको फिड मार्फत नेपालमा च्यानल वितरण गरिरहेका थिए। यसो हुँदा च्यानल वितरकले नेपालमा च्यानल प्रशारण हुँदा त्यो समयमा बज्ने बिज्ञापन मार्फत आम्दानी आर्जन गरेका थिए। तर एकातर्फ नेपालको लागि नै भनेर फिड बनाउनु पर्ने  अर्को तर्फ विज्ञापन बजाउन नपाइने भएकाले त्यसको लागत नेपाली उपभोक्ताले तिर्नुपर्ने देखिन्छ। त्यसैले पनि सेवा प्रदायकहरुले नेपालमा टेलिभिजन हेराई शतप्रतिशतले महँगो हुने दाबी गर्दै आएका छन्। क्लिन फिड सहितका च्यानलहरु महँगो हुँदा उपभोक्ताले सस्तो मा च्यानल हेर्ने विकल्प रोज्न सक्छन। 

अर्को तर्फ, नेपालका लागि मात्रै अलग्गै फिड बनाउनु पर्ने भएकाले च्यानलको लागत बढ्ने देखिन्छ। बढ्दो लागतलाई व्यवस्थापन गर्न विदेशी ब्रोडकाष्टले मूल स्रोतबाट नै च्यानलको गुणस्तर घटाईदिएका छन्।  यहि कारणले कात्तिक ७ गते यता प्रशारणमा आएका च्यानलहरु विगतका जस्ता गुणस्तरीय देखिएका छैनन्।  एचडी मा प्रशारण भैरहेका च्यानलहरुले समेत गुणस्तरमा सम्झौता गरिसकेका छन्।  

अहिलेको आवश्यकता क्लिन फिडमा स्पष्ट नीति 

सरकारले कात्तिक ७ देखि क्लिन फिड कार्यन्वयन गर्दा यसको मोडालिटी अस्पष्ट हुनुनै क्लिन फिड नीति असफल हुने कारण बन्न सक्छ। नेपालमा प्रशारण हुने बिदेशी च्यानल बिज्ञापन बिना नै नेपालको भूभागमा प्रशारण हुनुपर्ने नीति नै क्लिन फिडको मूल मान्यता हो। 

तर अहिले क्लिन फिड भनेर प्रशारण भईरहेका च्यानलहरु आफैंमा पूर्ण क्लिन फिड नभएको जानकारहरु बताउँछन। जी टिभी नेटवर्क बाहेकका अन्य च्यानलहरु एड सहितको फिडमा भारतबाट नेपाल ल्याइएको तर सरकारको आंखा छल्न सूचना तथा संचार माध्यमले केहि लचकता अपनाउन बाध्य भएको छ। 

कात्तिक ७ गते यता प्रशारण भईरहेका विदेशी च्यानलहरु मध्ये केहिमा अहिलेपनि कार्यक्रमको बीचमा संदेशमुलक, लोककन्यान्कारी लगायतका विज्ञापन बजी रहेका छन्। यति मात्र नभई एउटा च्यानल प्रशारण भईरहंदा त्यहाँ कार्यक्रममा बिज्ञापन आउने समयमा त्यहि नेटवर्कको अर्को च्यानलको संदेशमुलक एड बज्ने गरेको छ।  यो आफैंमा क्लिन फिडको सिद्धान्त विपरित हो। 

अर्कोतर्फ नेपालमा अहिले प्रशारण भईरहेका धेरै विदेशी च्यानलहरुले कमर्शियल विज्ञापन हटाएका छन् तर त्यसको ठाउँमा बिभिन्न प्रोमो देखाईरहेका छन्। यो अभ्यास विदेशी च्यानल विज्ञापन रहित प्रशारण हुनुपर्ने बिज्ञापन ऐनको व्यवस्थाको विपरित छ। 

केहि क्लिन फिड मार्फत आएका भनिएका च्यानलहरुपनि नेपालमा मेसिन जडान गरेर फिड क्लिन देखाईरहेका छन् तर त्यसमा कमर्शियल बिज्ञापनको ठाउँमा लोककल्याणकारी तथा सन्देशमुलक बिज्ञापन बजिरहेका छन्। 

त्यस्तै केहि च्यानल वितरकले स्याटेलाइट मार्फत आउने च्यानललाई पनि आइपी मार्फत क्लिन फिड बनाएर प्रशारण गरिरहेका छन्। यो अभ्यास पनि बिज्ञापन ऐनको बिपरित हो र दिर्घकालिन समाधान होइन।  त्यस्तै बिभिन्न कम्पनीहरुले अहिलेपनि आइपी तथा ओटीपी मार्फत विज्ञापन सहित विदेशी च्यानल देखाइरहेका छन्। 

क्लिन फिड लागू भएपछि युट्युब बन्यो विकल्प, टेलिभिजनवालाका बदमासी यथावत

क्लिन फिड लाई सफल पार्न सरकारले चाल्नु पर्ने कदम 

सरकार कुन मोडालिटीमा क्लिन फिड कार्यन्वयन गर्ने भन्ने बिषयमा स्पष्ट नहुँदा त्यसको ठुलो असर नेपाली उपभोक्तालाई परेको छ। क्लिन फिड कस्तो हुन्छ, के के गर्न पाइन्छ र अहिले भैरहेका अभ्यासलाई कसरी व्यवस्थापन गर्नुपर्छ भन्ने बिषयमा सरकार स्पष्ट हुनुपर्ने देखिन्छ। 

अहिले सोनी लगायतका च्यानलमा प्रमो बजिरहेका छन्। प्रमो बजाउन पाइने वा नपाइने, बजाए कस्ता प्रमो कसरी बजाउने भन्ने स्पष्ट व्याख्या गर्दिनुपर्छ। 

दोश्रो,  बिभिन्न कार्यक्रमको टाईटल स्पोन्सर कार्यक्रमसँगै बज्छ वा देखाइन्छ। यसरी कार्यक्रमसँगै जोडिएर आउने कमर्शियल बिज्ञापनको व्यवस्थापन कसरी गर्ने भन्ने प्रश्नको उत्तर सरकारले खोज्नुपर्छ। 

तेश्रो, क्लिन फिड अर्थात बिज्ञापन बिना नै बिदेशी च्यानल प्रशारण हुनुपर्ने बिज्ञापन ऐनको मर्म देखिन्छ। तर क्लिन फिड मा आएका भनिएका च्यानलहरु बीना बिज्ञापन प्रशारण नभईरहेको अवस्था छ। यसमा सरकारले आफ्नो स्पष्ट धारणा व्यक्ति गरि त्यहिअनुसार कार्यन्वयन गर्नुपर्छ। 

बिदेशी च्यानलमा बिज्ञापन बज्यो भने जरिवाना लाग्ने भनिएको छ तर यो जरिवाना विदेशी ब्रोडकाष्टबाट भराउने कि नेपालका सेवा प्रदायकबाट भराउने स्पष्ट हुन् सकेको छैन। नेपालका सेवा प्रदायकले जरिवाना तिर्नुपर्ने भए विदेशी ब्रोडकाष्टले यहीं नेर प्ले गर्न सक्ने भन्दै मूल स्रोत अर्थात विदेशी ब्रोडकास्टर बाट नै जरिवाना भराउनुपर्ने देखिन्छ। 

क्लिन फिड टेलिभिजनवालालाई मात्र हो वा समाचार तथा कार्यक्रम प्रशारण हुने अन्य माध्यम अनलाइन न्युज पोर्टल, युट्युब, फेसबुक लगायतका माध्यमबाट बजे तथा देखाइने बिज्ञापनमा क्लिन फिड लागू हुने नहुने स्पष्ट व्यवस्था छैन।  सामाजिक संजाल तथा गुगल लगायतका माध्यमहरु नेपालमै दर्ता हुने तथा बज्ने बिज्ञापन नेपालमा अनिवार्य दर्ता हुने हो भने नेपालका अनलाइन मिडिया तथा टिभी मिडियामा आम्दानी बढ्थ्यो भने राज्य कोषको ढुकुटी पनि बढ्ने थियो। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved