कुन अपरेटरबाट सेट टप बक्स लिंदा उत्तम ? यस्ता छन कम्पनीका प्याकेज र अफर

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 20, 2017 | 03:37:22 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले एनालगमा आधारित केवल टिभी मङ्सिर अन्तिमदेखि बन्द गर्ने निर्णय गरेको छ। कात्तिक १५ देखि देशका महानगर, उपमहानगर र नगरपालिकामा एनालग बन्द गरि डिजिटल प्रविधिमा जाने निर्णय भएको भएपनि कात्तिक २८ सम्म दिएको म्यादलाई सरकारले मङ्सिर अन्तिमसम्म लम्बाएको छ। 

एनालग हटाउन आक्रामक रुपमा अघि बढेको सरकारले कात्तिक २९ गतेबाट सुबिसु, स्पेश टाइम, स्काई, टिभी लिंक लगायत संस्थाबाट वितरित एनालग सिग्नल बन्द गरेको थियो। तर दबाबलाई थेग्न नसकेपछि सरकारले मङ्सिर अन्तिमसम्मको म्याद दिएको छ।

मङ्सिर मसान्तसम्मका लागि एनालग संचालनका लागि समय अवधि थप गरेको छ। सरकारले आसन्न चुनावलाई मध्यनजर गरी ३५ वटा च्यानललाई मङ्सिर मसान्तसम्म एनालगमा रहन अनुमति दिएको हो।    

सूचना तथा सञ्चार मन्त्रालयकी उपसचिव विष्णुकुमारी भट्टराईको भनाईलाई बिश्वास गर्ने हो भने मङ्सिर २९ देखि महानगर, उपमहानगर र नगरपालिकामा केवल टिभी चल्ने छैनन। तसर्थ एनालगमा टिभी प्रयोगकर्ताले अनिवार्य सेट टप बक्स जडान गर्नुपर्ने हुन्छ। 

सरकार आफ्नो निर्णयबाट अब पछि नहट्ने भएपछि केवल टिभीका ग्राहकहरु भने सेट टप बक्सको जोहो गर्न लागिपरेका छन। डिजिटल टिभी  सेवा प्रदायकहरुले उपलब्ध गराउने सेट टप बक्स र च्यानल संख्यामा खासै भिन्नता नभएपनि यिनीहरुले दिने थप सेवामा अन्तर छ। त्यसैले ग्राहकले कोसंग सेवा लिने भनि निर्णय गर्ने बेला हो। 

हाल अधिकांश सेवा प्रदायकहरुले सेट अप बक्स बिक्रि गर्दा आफूखुशी मूल्य तोक्ने गरेका छन। बढ्दो प्रतिस्पर्धाका कारण केहि कम्पनीले   मासिक किस्तामा नै सेटटप बक्सको मुल्य जोडी सेवा दिएका छन् भने केहिले ग्राहकसँग पहिले नै एक मुष्ट शुल्क लिई बिक्री गराईरहेका छन।  

के हो सेट टप बक्स 

सेट टप बक्स एउटा यस्तो डिभाइस हो जसले केबल बाट आएको सिग्नललाई टिभीमा विभिन्न च्यानल हेर्न योग्य बनाउँछ। यो बक्स केबल टेलिभिजन, स्याटेलाइट टेलिभिजन, र ओभर दि एयर टेलिभिजन प्रविधिका साथसाथै अन्य प्रविधिमा समेत प्रयोग गरिन्छ ।

यो केवल टेलिभिजन सेवा प्रदायक वा डिटिएच कम्पनीको सिग्नललाई प्राप्त गरेर यसलाई डिकोड गर्दै टेलिभिजनमा देखाउने प्रविधियुक्त बक्स हो। सामान्यतया एउटा टिभी सेटमा एक वटा सेट अप बक्स आवश्यक पर्छ। 

यस्तो छ सेवा प्रदायकको मुल्य सुची


ग्राहकले कुन अपरेटर छनौट गर्ने ?

केवल टेलिभिजन सेवा प्रदायक वा डिटिएच कम्पनी गरि नेपालमा दुई प्रकारका सेवा प्रदायक कम्पनी छन। त्यसमा केवल टेलिभिजन सेवा प्रदायक कम्पनी दर्जन बढी छन भने डिटिएच सेवा प्रदायक कम्पनी हाल नेपालमा डीस होम मात्र छ। 

अधिकांश केवल तेभी सेवा प्रदायकले उपलब्ध गराउने सेट टप बक्सको गुणस्तर र मुल्य समेत लगभग उस्तै उस्तै हुनेगर्छ। तर त्यसमा गरिने कोडिङ्ग भने कम्पनीअनुसार फरक पर्छ ।

बुझ्नुपर्ने कुरा के हो भने कम्पनीहरुले आफ्नो सेवाको लागि चाहिने कन्फिगरेसन अनुसार सेटटप बक्स उपलब्ध गराउँछन। त्यसमा सेटटप बक्सको गुणस्तर भन्दा उनीहरुबाट हुने च्यानलको उपलब्धता, एचडी च्यानलहरुको संख्या, आधारभूत सेवा, बिक्रि पछिको ग्राहक सेवा र भ्यालु एडेड सेवालाई ध्यान दिनुपर्ने हुन्छ।     

के फरक छ केवल सेवा प्रदायक कम्पनी र डिटिएच सेवा प्रदायक कम्पनी डीस होमबीच ?

सेवा हेर्दा केवल सेवा प्रदायक कम्पनीहरु भन्दा डीस होम केहि महँगो देखिएपनि यसको गुणस्तर भने उच्च तहको हुनेगर्छ। सीधै सेटेलाइटबाट नै सिग्नल घरमा राखिएको सानो छाता मार्फत टिभी आउने हुँदा यसमा अन्य समस्याहरु आउँदैन् ।  

अर्को तर्फ खर्चमा सामान्य अन्तर भएपनि डीस होमले नियमित च्यानल भन्दा केहि सुविधा बढी दिंदै आएको छ। डीस होमले घरमा बसेर भर्खर रिलिज भएका नयाँ फिल्म हेर्न मिल्ने गरि 'डीस होम सिनेमा घर' ल्याएको छ भने खेलकुद प्रेमीहरुका लागि आफ्नै छुट्टै सपोर्ट च्यानल संचालन गरेको छ। त्यस्तै आफ्नै 'कार्टुन च्यानल', मनोरंजन लगायतका च्यानल ल्याएको छ। जुन ग्राहकको लागि 'बोनस' हुन सक्छ।   

तर ग्राहकहरुले जुन सुकै डिजिटल सेवा छनौट गरेपनि त्यसको दिर्घकालिन शुल्क योजना, आफूलाई आवश्यक च्यानलहरुको संख्या, निःशुल्क हेर्न सकिने च्यानलहरुको संख्या, हाई डेफिनिसन (एचडी) च्यानलहरुको गुणस्तर र संख्या, जडान गरेपछिको मर्मत सेवा, रिचार्ज गर्ने सुविधा, बोनस अफर, सेट टप बक्समा हुने वारेन्टी लगायतका कुराहरुलाई ध्यान दिनुपर्छ ।

कसको सेवा लिंदा खर्च कति ?

डीस होम 


नेपालको एक मात्र डिटिएच सेवा प्रदायक कम्पनी डीस होमले एक जना सेवा प्रदायकलाई १ रुपैयाँ कम ३००० रुपैयाँमा पुरै सिस्टम जडान गर्ने सुविधा दिएको छ। यसमा ग्राहकबाट ५ सय रुपैयाँ अतिरिक्त सेवा खर्च लिने गर्छ। यो वन टाइम लगानी हो। त्यसपछि कतिवटा र कस्ता च्यानल हेर्ने भन्ने कुरा ग्राहकको रुची र आर्थिक क्षमतामा भर पर्ने कुरा हो। 

डीस होमका ब्राण्ड म्यानेजर मनोज न्यौपानेका अनुसार डीस होमले मासिक ४००  रुपैयाँ देखि ९०० रुपैयाँसम्मको प्याकेजमा दिंदै आएको छ। जसमा सहरका अधिकांश ग्राहकहरुले डिलक्स प्याकेज र लाइफ स्टाइल प्याकेज लिने गरेको उनले बताए। 'औषत ग्राहकले मासिक ५०० तिरेर सुपर एच डी प्याकेज लिएका छन, तर प्याकेज आवश्यकता अनुसार घटबट गराउन मिल्छ र त्यहि अनुसार मुल्य कायम हुन्छ' उनले भने।   

ग्राहकले आफुलाई कतिवटा टिभीमा सेवा चाहिएको हो वा कतिवटा सेटटप बक्स आवश्यक पर्दछ भन्ने बारे यकिन गरि डीस होमको प्याकेज लिन सक्ने न्यौपानेले जानकारी दिए।

एक परिवारले सुरुको जडान खर्च सेवा खर्च सहित ३५०० तिरेर डीस होमको सेवा लिन सक्नेछ। त्यसमा आफुलाई सुहाउँदो प्याकेज लिएर मासिक फी तिर्न सक्नेछ ।   

त्यस्तै 

एकै छाता भित्र रहेर ३ वटा परिवारले डीस होमको सुविधा लिन चाहे उनीहरुले सुरुको सेट अफ खर्च ३००० र त्यसपछि प्रति ग्राहक २००० पर्ने एक सेट अप बक्स लिएर डीसको सेवा लिन सक्नेछन। यस उदाहरणमा ग्राहकले सेट अफ खर्च ३५०० प्लस अर्को दुई वटा बक्सको प्रति बक्स २००० गरि ४ हजार तिर्नु पर्नेछ। अर्थात् ३ वटा परिवारले सेयर गरि यो सुविधा लिने हो भने सुरुमा सम्पूर्ण जडान खर्च ७५०० तिर्नुपर्ने हुन्छ। र त्यसपछि हरेक प्याकेजमा प्रति बक्स १०० थपेर प्याकेज लिन सक्नेछन। जस्तो लाइफ स्टाइल प्याकेजको मासिक ९०० पर्छ भने अर्को २०० तिरेर मासिक ११०० तिर्दा तीन जनाले यो सुविधा पाउनेछन। जहाँ प्रति ग्राहक ३६६ रुपैयाँ तिरेर यो सुविधा लिन सक्नेछन।

सुबिसु 

केवल टेलिभिजन सेवा प्रदायक अन्तर्गत लिडिंग पोजिशनमा रहेको सुबिसुले पनि ग्राहकलाई न्युनतम शुल्कमा नै सेवा दिंदै आएको सुबिसुका अध्यक्ष सुधिर पराजुलीले बताए। 

उनका अनुसार सुबिसुले सेट टप बक्स, जडान खर्च र दुई महिनाको शुल्क सहित गरि २००० रुपैयाँमा पुरै सिस्टम जडान गर्ने सुविधा दिएको छ। सुबिसुले हाल दुईवटा प्याकेज उपलब्ध गराएको छ। 'दुई महिनाको सेवा शुल्क र जडान गर्छ गरि २००० हो, सामान्यतया सेट टप बक्स निशुल्क उपलब्ध गराएको जस्तै हो' अध्यक्ष पराजुलीले भने। 

जसमा ग्राहकले मासिक ५०० र ७०० गरि दुईवटा प्याकेज पाउनेछन। मासिक ५०० रुपैयाँ पर्ने प्याकेजमा १५४ वटा च्यानल र २५ वटा एचडी च्यानल पाउनेछन भने मासिक ७०० रुपैयाँ पर्ने प्याकेजमा ५५ वटा एचडी च्यानल पाउनेछन। 

मेरो टिभी 

मेरो टिभीले पनि ग्राहकलाई न्यून मुल्यमा सेवा उपलब्ध गर्ने बताएको छ . मेरो टिभीले सुरुमा जडान खर्च ५०० मात्र लिएर निशुल्क सेट टप बक्स उपलब्ध गराउने बताएको छ। यसले ग्राहकलाई ३ वटा प्याकेज दिएको छ। जसमा सामान्य प्याकेजको मासिक ३५० जसमा  एचडी च्यानल हुनेछैनन। त्यस्तै मासिक ५०० र ७०० गरि दुईवटा प्याकेज समेत छन। जसमा एचडी च्यानल संख्या क्रमश: ३० र ५० छन। 

ग्राहकले एकै रजिष्ट्रेशनबाट ३ वटा सम्म स्लेभ गरि टिभी च्यानल जोड्न पाउनेछ। प्रत्येक ग्राहकको लागि निशुल्क सेट टप बक्स हुने र मुख्य बक्सको प्याकेज मुल्यमा प्रति स्लेभ २०० थप हुने कम्पनीले जनाएको छ। अर्थात एकै रजिष्ट्रेशनबाट ३ परिवारले मेरो टिभीको सेवा लिन पर्यो भने सुरुको जडान खर्च १५०० तिर्नु पर्नेछ। त्यसमा मासिक प्याकेजको ५०० भए प्रति स्लेभ २०० गरि कुल ९०० तिर्नु पर्नेछ। 

सिम टिभी

सिमि टिभीले सामान्य च्यानल मात्र चाहिने ग्राहकलाई ५०० रुपैयाँ जडान खर्च लिएर निशुल्क सेट टप बक्स उपलब्ध गराउने जनाएको छ। त्यस्तै ग्राहकले एचडी च्यानलको माग गरेमा उसले जडान खर्च ५०० र सेट टप बक्सको १५०० तिर्नु पर्नेछ। र प्याकेजको मासिक ५०० तिर्नु पर्ने हुन्छ।   

यदि कुनै ग्राहकले एकै रजिस्ट्रेसनमा ३ वटा टिभी हेर्न चाहन्छ भने उसले पहिलो मुख्य बक्सलाई १५००, दोस्रोको सहित २५०० र तिनवटाको ३५०० तिर्नु पर्नेहुन्छ। त्यस्तै प्रति स्लेभ १२५ थप गरि आफुले चाहेको प्याकेज लिन सक्नेछन।  

नोट: दुई वा दुई भन्दा बढी सेट टप बक्सलाई एकै प्याकेजमा राखेर सहुलियतमा टिभी हेर्न मिल्छ हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ। 

   


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved