आफ्नै डिजिटल मुद्रा ल्याउदै फेसबुक, के के गर्न मिल्छ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 20, 2019 | 08:29:34 AM मा प्रकाशित

laxmi  sunrise bank

फेसबुकले अर्को वर्ष लिब्रा नाम दिइएको एउटा नयाँ डिजिटल मुद्रा सुरु गर्ने योजना सार्वजनिक गरेको छ। उक्त सोसल मिडिया कम्पनीका अनुसार त्यस्तो मुद्रामार्फत् मानिसहरूले उसको आफ्नै एप्स तथा ह्वाट्सएपबाट आर्थिक कारोबार गर्न सक्नेछन्। भविष्यमा उबर र भिसाजस्ता कम्पनीले समेत त्यसलाई स्विकार गर्न सक्ने फेसबुकले बताएको छ। फेसबुकका अनुसार इन्टरनेटको पहुँचमा भएका र स्मार्टफोन बोक्ने सबैले लिब्रा प्रयोग गर्न सक्नेछन्।

मानिसहरूले पैसाको बचत, लेनदेन र खर्च मोबाइलमा मेसेज पठाए जसरी नै सहज तरिकाले गर्न सकुन् भन्ने आफूहरूले चाहेको फेसबुकले बताएको छ। डिजिटल मुद्रा अस्थिर हुनसक्ने भन्दै कतिपयले चिन्ता व्यक्त गर्ने गरेका छन्। फेसबुकले भने अहिले प्रयोगमा रहेका बिट क्वाइन जस्ता डिजिटल मुद्राका अनुभवबाट सिक्दै लिब्रालाई परिष्कृत गरिने बताएको छ। त्यसलाई स्वतन्त्र रूपमा व्यवस्थापन गरिने र वास्तविक सम्पत्तिसँग जोड्ने उसको योजना छ।

गुगल पे, एपल पे र सामसङ् पे जस्ता भुक्तानी सेवा बजारमा आइसकेको अवस्थामा फेसबुकको त्यस्तो भुक्तानी सेवासम्बन्धी योजना बाहिर आएको हो। फेसबुकले भनेको छ- "कालान्तरमा हामीले मानिस र व्यवसायलाई थप सेवाहरू दिने अपेक्षा राखेका छौं। जस्तो: एउटा बटन थिचेर बिल तिर्ने, कोडको स्क्यान गरेर कफी पिउने अथवा नोट नबोकिकनै सार्वजनिक यातायात वा रेल चढ्ने।"

भुक्तान गर्न 'न्यूनदेखि शून्य' खर्च हुने बताइएको छ।

लिब्रालाई अरू कसले स्विकार गर्नेछन्?

  • मास्टरकार्ड र पेपालजस्ता भुक्तानी सम्बन्धी कम्पनी
  • इबे, स्पटिफाई र उबरजस्ता डिजिटल व्यवसायका कम्पनी
  • भोडाफोनजस्ता दूरसञ्चार कम्पनी

फेसबुकले लिब्रालाई खासमा ब्याङ्क खाता नहुने विश्वभरका १.७ अर्ब युवाहरूलाई लक्षित गरिएको बताएको छ। यस्तो मुद्रा विश्वव्यापी हुने र लिब्रा प्रयोग हुने एप्स र सेवा सम्बन्धित देशका नियम कानुनसँग जोडिने बताइएको छ। अमेरिकाले यो मुद्रा सुरुवातका लागि सकारात्मक सङ्केत दिए पनि त्यसबारे कडा नियमन थालिएका भारतजस्ता ठूला बजारमा के हुने भन्ने निश्चित छैन।

मे महिनामा सार्वजनिक गरिएको एक रिपोर्टका अनुसार मुद्रा सार्वजनिक हुँदा १२ वटा बजार मात्र त्यसको लागि तयारी अवस्थामा हुने देखिएको छ।डिजिटल मुद्राको बजारमा जान लागेको यो फेसबुकको पहिलो अभ्यास भने होइन। एक दशकअघि नै उसले 'फेसबुक क्रेडिट्स' सुरु गरेको थियो जसले सामाजिक सञ्जालहरूमा एप्समार्फत सामग्रीहरू किन्न सघाउँथ्यो। यद्यपि फेसबुकले उक्त काम खासै सफल नभएपछि दुई वर्षभन्दा कम समयमै बन्द गर्‍यो। (एजेन्सी)

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved