बीमा गर्न चाहनुहुन्छ ? पछ्याउनुहोस महालक्ष्मी लाइफका डीसीईओ पन्थीका यी टिप्स

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 25, 2019 | 01:58:29 AM मा प्रकाशित

laxmi  sunrise bank
जोखिम न्यूनीकरणलाई बीमा उत्तम हो, आफ्नो क्षमता अनुसार बीमा गर्दा आफ्नो पनि भलो, आश्रितको पनि भलो

सामान्यता बीमालाई आर्थिक नोक्सान हुँदा दिईने क्षतिपुर्तिको ग्यारेन्टीको रुपमा मात्र लिइन्छ। तर बीमा भनेको क्षतिपुर्तीको ग्यारेन्टी मात्र नभई जोखिम हस्तान्तरणका साथसाथै बचत पनि हो। त्यसैले पनि भविष्यमा हुनसक्ने आर्थिक तथा भौतिक क्षतिको पुर्ताल गर्न बिमित (बीमा गर्ने व्यक्ति) र बीमक (बीमा गरिदिने व्यक्ति) बीच हुने एक प्रकारको सम्झौतालाईइ बीमा भनिने गरिन्छ। 

२०२४ साल पुस १ गते प्राइभेट लिमिटेड कम्पनीको रुपमा राष्ट्रिय बीमा संस्थान स्थापना भएर २०२४ साल फागुन ११ देखि संचालनमा आएको हो, त्यसयता नेपालमा हाल पुनर्बिमा कम्पनीसहित कुल ४० वटा बीमा कम्पनीहरु संचालनमा छन। यी मध्ये १९ वटा जीवन तथा २० वटा निर्जिबन बीमा कम्पनी छन।

नेपालमा बीमा कम्पनी संचालनमा आएको लामो समय भएपनि बीमा बजार अपेक्षेकृतरुपमा बिस्तार हुन सकेको छैन। आम सर्वसाधारणको ठुला हिस्सा आजपनि बीमाको पहुँचभन्दा बाहिर नै छैन। अधिकांशमा बीमा भनेको केहिसमयपछि डबल भएर आउने पैसा हो भन्ने बुझाईसमेत रहेको पाइन्छ। पछिल्लो समय बीमा कम्पनीबढेसंगै बीमाबारे जनचेतना तथा जानकारी बिस्तारै बढ्ने क्रममा छ। कतिपयमा बीमा गर्ने इच्छा भएपनि बजारमा भएका कुन कम्पनी मार्फत बीमा गर्दा राम्रो हुन्छ भन्ने आवश्यक सामान्य जानकारी समेत नभएको पाइन्छ। 

कतिसमयको लागि जिवनबीमा गर्ने भन्नेबारे कसरि छुट्याउने ?

सर्वसाधारणमा जीवनबीमा गर्ने इच्छा भएपनि कतिसमयका लागि कति मुल्यबाराबरको बीमा गर्ने भन्ने अन्यौल कायम नै छ। तथापि लगानी वा बचतका लागि गर्ने हो या जोखिम हस्तान्तरण पहिलो प्राथमिकता हो भन्ने बिषयबारे स्वयम स्पष्ट भएको अवस्थामा कतिसमयमा कति मुल्यबराबरको बीमा गर्ने भन्नेबारे छुट्याउन सजिलो हुन्छ। 

यदि कुनै व्यक्तिमाथी आश्रित परिवार सदस्य धेरै छन र उ आफुलाई केहि भई हालेपनि परिवारलाई कम्तीमा अहिलेकै अवस्थामा रहोस भन्ने चाहन्छ भने त्यस्तो व्यक्तिले जोखिम हस्तान्तरण हुनेगरी जीवनबीमा गर्दा उचित हुन्छ। 

तर अहिले न्युनतम आम्दानी पनि हुन्छ र भविष्यमा एक मुष्ट रकम पनि पाइने र जोखिमपनि हस्तान्तरण गर्ने इच्छा छ भने त्यस्ता ब्यक्तीले बचत र जोखिम दुवैलाई समेटिने गरि त्यस्तै प्रकारको बीमा गर्दा हुन्छ। 

कति पैसाको कस्तो बीमा गर्ने ?

कति पैसा बराबरको बीमा गर्ने भन्नेबारे कुनै हार्ड एण्ड फास्ट रुल भन्ने छैन। तर जोखिम हस्तान्तरणलाई प्राथमिकता राख्नेले आजीवन जीवन बीमा गर्न सक्छ। यस्तो रकम मासिक आम्दानीको २५ गुणासम्म गर्न सकिन्छ। तर जोखिम र बचत दुवैलाई समेट्ने बिमा गर्छु भन्ने हो भने केहि  प्रिमियम बढी तिर्नुपर्ने हुन्छ। 

कुन संस्थामा बीमा गर्ने भन्ने कुरा बोनसले निर्धारण गर्दैन

कुन संस्थामा बीमा गर्ने भन्ने बिषय महत्त्वपूर्ण हुन्छ। बजारमा अहिले संचालनमा रहेका १९ जीवन बीमा कम्पनी मध्ये सबैको स्किम उस्तै उस्तै भएपनि उनीहरुले दिने बोनस दरमा केहि फरक छ। तर बोनस दर मात्र हेरेर बीमा गर्ने कम्पनीको छनौट गर्नु घातक मात्र होइन महँगो साबीत हुन सक्छ। 

यसका लागि कम्पनीले दिने बोनस भन्दा पनि समान प्रकारको सुविधा पाउन कति लागत लाग्छ भनेर हेर्नु आवश्यक छ। कहिलेकाहीं बढी बोनस दिने कम्पनी भन्दा कम बोनस दिने कम्पनी छनौट गर्नु बढी लाभदायक हुन्छ। कुनै व्यक्तिले २० लाख रुपैयाँ बराबरको बीमा गर्न चाहन्छ भने उसले कुन कम्पनीले बोनस धेरै दिन्छ भन्नेभन्दा पनि समान सुविधा दिने कम्पनीबीच आफ्नो लागत कति लाग्छ भनेर हेर्नुपर्छ। 

जस्तो १० लाखको बीमा गर्ने ब्यक्तीको बीमाअवधी १५ बर्षको छ। उसले रोजेको पहिलो कम्पनीले ६० प्रतिशत बोनस दिन्छ भने त्यसको लागि उसको लागत १३ लाख पर्न सक्छ र फिर्ता पाउँदा १९ लाख पाउन सक्छ। 

त्यहीं अर्को कम्पनीले ५५ प्रतिशत बोनस दिन्छ भने उसले १० लाखको बीमाको लागि ११ लाख रुपैयाँ तिर्नुपर्छ भने फिर्ता पाउँदा १८ लाख २५ हजार पाउन सक्छ। 

यी दुई उदाहरणमा बार्षिक ६० प्रतिशत बोनस दिने भन्दा ५५ प्रतिशत बोनस दिने राम्रो देखिन्छ। किनकि १९ लाख पाउन उसले १३ लाख तिर्दा ५५ प्रतिशत बोनस पाउनेले १८ लाख २५ हजार फिर्ता पाउन ११ लाख तिर्छ। यस उदाहरणमा ५५ प्रतिशत बोनस दिने कम्पनी राम्रो देखिन्छ। त्यसैले समान सुविधा पाउन कति लागत लाग्छ भन्ने हेर्नु जरुरि छ।

मिश्रित बीमा बढी उत्तम 

सामान्यता आजीवन बीमा गर्ने अभ्यास छ तर सावधिक जीवन बीमा (मिश्रित) गर्दा बढी लाभदायक हुन्छ। पछिल्लो समय यस प्रकारको बीमा गर्नेको संख्या बढिरहेको छ।    

बीमा गर्दा अरु के के हेर्ने ?

-के कति आवश्यकताले बीमा गर्न खोजिएको हो र आफुले रोजेको बीमा रकम तिर्न सकिन्छ सकिदिन त्यसको अध्ययन तथा विश्लेषण गर्नुपर्छ।   

-बीमा शुल्क वा प्रिमियम भुक्तानीका लागि आम्दानीको श्रोत निर्धारण गर्नुपर्छ। होइन भने हचुवाको भरमा बीमा गर्दा प्रिमियम तिर्न नै समस्या तनावको विषय बन्न सक्छ। 

बीमा अभिकर्ता बीमा समितिबाट आधिकारिक रुपमा इजाजत प्राप्त गरेको हो कि होइन थाहा पाउनुपर्छ । बीमा अभिकर्ताले बीमा गराउने, बीमा शुल्क भुकतानी गरिदिने गरिदिने र बीमा गरेको रकम फिर्ता लिन सहयोग गर्ने जस्ता काम गर्छन् । तर यस्तो काममा चिनेका अभिकर्ताबाट बिमा गराउदा जोखिम कम हुन्छ । 

-बिमा लेखमा उल्लेखित सम्पूर्ण विवरण, सर्त, सुविधा र अन्य प्रावधानहरु पढ्नुपर्छ। यदि त्यहाँ उल्लेखित कुरा आफुले चाहेको जस्तो होइन रहेछ वा छैन रहेछ भने तुरुन्त यस विषयमा अभिकर्तालाई जानकारी गराउनुपर्छ ।

-बीमा गरिसकेपछि परिवारका सदस्यलाई जानकारी दिनुपर्दछ । कम्तिमा आफुले इच्छाएको व्यक्तिलाई पनि जानकारी गराउनुपर्दछ । 

-धेरै शाखा सञ्जाल भएको बैंकमार्फत बीमा शुल्क बुझाउन सकिने, बीमा अभिकर्ता नै बीमा शुल्क संकलन गर्न आउने कम्पनीमा बीमा गर्नु राम्रो हुन्छ। 

दुई प्रकारका बीमा

जीवन बीमामा व्यक्तिको आयुको आधारमा किस्ताबन्धी बुझाउने गरी कुनै खास रकम तिरेमा निजले वा निजको मृत्यु भएको अबस्थामा निजको हकवालाले कुनै खास रकम पाउने गरी गरिने करार सम्बन्धी कारोबार भनेर उल्लेख गरेको छ। जीवन बीमा पनि मुख्य गरी तीन वर्गका हुन्छन।

आजीवन जीवन बीमा

बीमा निश्चित अवधिका लागि गरिन्छ । आजीवन जीवन बीमामा निर्धारित अवधिसम्म बिमितले बीमाशुल्क भुक्तानी गर्दै जान्छ । बिमितको मृत्यु भएपछि निजले इच्छाएको व्यक्तिले एकमुस्ट रकम प्राप्त गर्छ । यस्तो योजनामा बीमा अवधि सकिएपछि बिमितले बीमा शुल्क तिर्नुपर्दैन र मृत्यु नभएसम्म उसले रकम पनि फिर्ता पाउँदैन । यद्यपि बीमा अवधि अगावै बिमितको मृत्यु भएमा इच्छाएको व्यक्तिले एकमुस्ट रकम भने पाउँछ । यस्तो खालको योजना खरिद गर्दा बीमाशुल्क सस्तो पर्छ ।

सावधिक जीवन बीमा

निश्चित अवधिसम्ममा बिमित जीवित रहेको अवस्थामा एकमुस्ट रकम प्राप्त गर्ने, यदि बिमितको मृत्यु भएको अवस्थामा निजले इच्छाएको व्यक्तिले एकमुस्ट रकम प्राप्त गर्ने योजना सावधिक जीवन बीमा योजना हो । यो योजनाअनुसार तोकिएको अवधिसम्ममा बिमितले बीमाशुल्क बुझाउनुपर्छ । बीमा अवधि समाप्त भएपछि बिमित स्वयमले नै बीमांक रकम र बोनस प्राप्त गर्छ । बीमा अवधि समाप्त नहुँदै बिमितको मृत्यु भएमा बिमांक रकम र सो अवधिसम्म भुक्तान भएको बीमाशुल्कको बोनस रकम इच्छाएको वा हकवालाले प्राप्त गर्छ । त्यस्तै दोहोरो दुर्घटना लाभसमेत योजनामा समेटिएको भएमा दुर्घटना रकम पनि प्राप्त हुन्छ ।

म्यादी जीवन बीमा

सीमित अवधिका लागि मात्रै यस्तो खालको बीमा गरिन्छ । बीमा अवधिसम्म बिमितले बीमाशुल्क भुक्तानी गर्छ । बीमा अवधिभित्रमा बिमितको मृत्यु भएमा निजले इच्छाएको व्यक्तिले बिमांक रकम र बोनस प्राप्त गर्छ । तर बीमा अवधिभित्रमा बिमितको मृत्यु नभएमा रकम फिर्ता हुँदैन । यस्तो योजनाको बीमाशुल्क पनि कम हुन्छ । 

निर्जीवन बीमा जीवन बीमा बाहेक चल–अचल सम्पत्ति जस्तै घर, उद्योग कलकारखाना, सवारी साधन आदीको बीमा निर्जीवन बीमा हो । यस किसिमका बीमा अन्तर्गत दुर्घटना, औषधी उपचार खर्च, तेस्रो पक्ष दायित्व, उत्पादन दायित्व, विदेश यात्रामा पर्ने जोखिम लगायातको बीमा हुन्छ । दुर्घटना, आगलागी, चोरीलगायत विभिन्न किसिमका प्राकृतिक प्रकोपबाट हुन सक्ने हानीको क्षतिपुर्ति प्राप्त गर्न तथा जोखिमबाट हुन सक्ने सम्भाव्य नोक्सानीको क्षतिपूर्ति वा राहत पाउन बीमा गर्ने गरिन्छ । पछिल्लो समय सरकारले कृषिअन्तर्गत पशुबीमा पनि ल्याएको । भौतिक सम्पति, उत्पादनमुलक बाली तथा व्यवसायमा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै बीमाको क्षेत्र विस्तार भईरहेको छ।

अन्य सान्दर्भिक तथा महत्वपुर्ण विषयहरु

बीमा अभिकर्ता : बीमा कम्पनीको तर्फबाट काम गर्ने अभिकर्ता हो ।

बीमा सर्भेयर : बीमा गरिएको कारणले कुनै क्षति भएमा सो को मूल्यांकनकर्ता हो ।

बीमांकी : बीमांकीय बिज्ञानमा स्नातक गरेको ब्यक्ति हो ।

बीमांकीय बिज्ञान : दायित्व मूल्यांकन सम्बन्धी उच्च प्राबिधिक तथा ब्यावसायिक विषय हो ।

दाबी मूल्यांकनकर्ताहरु : बीमा गरिएको कारणले भएको क्षतिको मूल्यांकनकर्तालाई दाबी मूल्यांकनकर्ता भनिन्छ ।

(महालक्ष्मी लाइफ इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत कमल पन्थीसंग गरिएको कुराकानीमा आधारित)





 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved