बिजपाटी सम्बाददाता     Apr 04, 2017



ruslan ruslan

नेपालमा सरकारी जागिरको आकर्षण बढ्दो छ । लोकसेवाले कुनै पनि पदको लागि बिज्ञापन निकाल्दा माग भन्दा सयौ गुणा बढी आवेदन पर्छ । कुनै पदको लागि आबश्यक शैशिक योग्यता एसएलसी हुँदा पनि त्यसमा स्नातककोत्तर डिग्री भएकाले समेत आवेदन दिएको पाइन्छ । लोक सेवामा फारम भर्ने, दस्तुर बुझाउने भीडले पनि सरकारी जागिरमा ठुलो आकर्षण रहेको देखाऊछ । 

तर लोकसेवाको कसरी तयारी गर्ने, कसरी पढ्ने सन्दर्भमा आवेदकहरुसंग पर्याप्त ज्ञान नहुँदा धेरैले सफलता पाउन भने सक्दैनन् । हामीले तिनै आवेदकलाई लक्षित गर्दै हामीले एउटा नयाँ स्तम्भ 'लोक सेवा तयारी' सुरु गरेका छौ । यसमा हामी लोक सेवा पार गरेर सरकारी सेवामा रहेका विभिन्न व्यक्तिहरुको विचार पस्कने छौ । हाम्रो एक मात्र उदेश्य भनेको लोक सेवा तयारी गरिरहेकाहरुलाई सहयोग गर्नु हो ।

गत हप्ता हामीले बाणिज्य बैंक सहायक प्रबन्धक परीक्षामा सोधिने सम्भावित प्रश्नमा  राष्ट्रिय बाणिज्य बैंककी  सहायक प्रबन्धक सपना शाहीको उत्तर समेटेका थियौ ।  आजको स्तम्भमा  लोकसेवा तयारीबारे नेपाल सरकारका उप सचिव  हमकला पाण्डेको विचार । 

नेपालमा अहिले सबैभन्दा ठूलो रोजगारदाताको रुपमा रहेको लोकसेवा आयोगले विभिन्न प्राविधिक तथा अप्राविधिक पदका लागि लिने विज्ञापनमा दरखास्त हाल्ने उम्मेदवारको सङ्ख्या उल्लेख्यरूपमा रहेको छ । निजामती सेवालाई समावेशी बनाउने नीतिअन्तर्गत निजामती सेवा ऐनमा आरक्षणको व्यवस्था गरिएपछि दरखास्त हाल्ने महिला सङ्ख्यासमेत ह्वात्तै बढेको छ ।  सरकारी सेवामा आकर्षण बढ्नुको मुख्य कारण बजारमा जागिरको अभाव हुनु, प्रतिस्पर्धी बजारको विकास भइनसक्नु तथा जागिरमा स्थायित्व र प्रतिष्ठासँग जोडिएको विषय पनि हो ।लोकसेवा आयोगले लिने परीक्षा प्रणाली गोप्यता, विश्वसनीयता र वैधताका हिसाबले समेत प्रतिस्पर्धी र व्यवसायिक मानिन्छ । परीक्षार्थीको बहुआयामिकतालाई जाँच्ने कसीका रूपमा पाठ्यक्रमको विकास गरिएको र परिमार्जन गरिने क्रम पनि रहेको हुनाले यसको तयारीमा केही तरिका र विधिको प्रयोग तथा उपयोग गर्नु अनिवार्य रहेको देखिन्छ ।सफल उम्मेदवारहरूको अनुभवलाई विश्लेषण गरी हेर्दा कतिपय उम्मेदवारले एक दुई पटकको उपस्थितिमा नै सफल भएका देखिन्छन् भने कोही वर्षौंसम्म पनि सफल हुन नसकेको अवस्था देखिन्छ । विद्य़ालयमा गरिएको औपचारिक अध्ययन र लोकसेवाको पाठ्क्रमका बीचमा अन्तर्सम्बन्ध नहुनुले पनि यस्तो अवस्था सिर्जना गरेको देखिन्छ ।


परीक्षार्थीलाई सफलता दिलाउन निश्चित समय, वातावरण, परिस्थिति, सङ्गतले समेत असर पार्ने हुन्छ भने कुनै पनि लक्ष्य प्राप्त गर्न तन, मन, वचन, र कर्मका साथ त्यसप्रतिको लगावलेसमेत असर पार्न  गर्छ । नेपालमा प्रत्येक वर्ष लगभग  छ लाख जनशक्ति श्रम बजारमा प्रवेश गर्ने गर्छन् तीमध्ये निजामती सेवामा प्रवेश गर्ने जनशक्ति एकदमै कम हुन्छन् तर पनि नेपालको सन्दर्भमा खुला प्रतियोगिता, आन्तरिक प्रतियोगिता लगायतबाट लोकसेवाको प्रतिस्पर्धात्मक परीक्षा पार गर्नुलाई चुनौतीका रूपमा लिने गरिन्छ ।


परीक्षार्थीको मनोभाव, स्वास्थ्य, पारिवारिक वातावरण, बुझ्न र विश्लेषण गर्न सक्ने क्षमतासमेतले असर गर्ने हुनाले सबै परीक्षार्थीमा एउटै नियम लागु हुन्छ भन्न सकिँदैन भने विषयगत परीक्षामा जाँचकीको मनोभाव, बुझाइको स्तर, समयसन्दर्भ र देशकाल परिस्थितिअनुसारका अनुभवको माग,  अनुभव आदि विषयले समेत चित्त बुझाउनुपर्ने हुन्छ । नेपालका सन्दर्भमा प्रायः गरी प्रतिस्पर्धी उम्मेदवारहरूले अपनाउने तरिकाहरू जसले सफलताको सिँढी चढ्न सहज पार्ने गर्दछन् ।


१. सर्वप्रथम दिइएको पाठ्यक्रमलाई स्वअध्ययन तथा विश्लेषण गरी मनको अन्तरकुनामा आन्तरिकीकरण गर्नु पर्ने ,
२.  दिइएको विषयवस्तुको सैद्धान्तिक तथा समयसन्दर्भअनुसार व्यवहारिक र उपयोग गर्न सकिने गरी ज्ञान हासिल गर्ने,
३. प्रायः गरी विश्वविद्यालयीय परीक्षामा विद्यार्थीले पाठ्यक्रमको प्राथमिकीकरण गरेर  पढ्ने बानी हुन्छ तर लोकसेवा आयोगबाट लिइने पाठ्यक्रमले कुनै पनि विषयवस्तुको साङ्केतिक र प्रतिकात्मक सङ्केत गरेको हुने र सबै शीर्षकको समान मूल्य हुने हुनाले सोअनुसार अध्ययन विश्लेषण गर्नुपर्ने ।
४. विषयगतरूपमा सोधिएका प्रायजसोः प्रश्नले सैद्धान्तिक उत्तर मात्र नखोजेर व्यवहारिक जवाफ पनि सँगसँगै खोज्ने हुनाले नेपालको सन्दर्भ र परिवेशअनुसार लागु गर्न सकिने सुझाव तर अरूभन्दा फरक तरिकाले दिनुपर्ने ।
५.पाठ्यक्रमको आन्तरिकीकरण भएपश्चात औपचारिक तथा अनौपचारिकरूपमा स्वअध्ययन, समूहगत अध्ययन, कार्यअनुभवलाई समेत विषयवस्तुसँग तालमेल मिलाई विश्लेषण गर्ने बानीको विकास गर्नुपर्छ । बाटोघाटोमा हिँड्दा देखिएका  समस्याहरूसँग मेल खाएको अवस्थामा वाकुनै पनि विषयको छलफल, अन्तरक्रियाका क्रममा अध्ययनका विषयलेस्वतः आफै प्रवेश गर्नुपर्दछ ।स्वस्फूर्त रूपमा अध्ययन गरिएका समसामयिक विषयको चिन्तन गर्नेबानीले पनि समस्याको विश्लेषण गर्ने क्षमताको विकासससमेत हुँदै जान्छ ।
६. अध्ययनले विश्लेषण गर्ने बानीको विकास गर्न, घुमाउरो प्रश्नको जवाफ आधिकारिक भनाइ र सिद्धान्तमा टेकेर दिन तथा रचनात्मक र सिर्जनात्मक उत्तर दिन विभिन्न अध्ययन समितिका प्रतिवेदन, आधिकारीको दस्तावेज र प्रकाशनहरूको  अध्ययन गर्नुपर्ने हुन्छ ।
७. निरन्तर पत्रपत्रिकाको अध्ययन गर्नु र प्रत्येक दिन कुनै न कुनै विषयमा  चिन्तन मन्थन गर्ने बानीको विकासले अध्ययनलाई दीगो बनाउन मद्दत गर्दछ।
८.  वस्तुगत प्रश्नको उत्तर लेख्दा मागिएको जवाफ मात्र दिनुपर्छ जुन मापनीय पनि हुन्छ भने विषयगत प्रश्नको उत्तर दिनुभन्दा पहिले प्रश्नले मागेको उत्तर के हो पत्ता लगाउनुपर्ने हुन्छ ।

कहिलेकाहीँ पृष्ठभूमिमा अरू विषयवस्तुको व्याख्या गरी प्रश्नले अर्कै उत्तर मागेको पनि हुनसक्छ, साध्य र साधनका रूपमा विषयवस्तुलाई लिइएको पनि हुन सक्छ । त्यस्तै प्रश्नभित्र विभिन्न उपप्रश्नहरू पनि रहेका हुन्छन् भने कहिले सानो सन्दर्भलाई मात्र हामीले समातेर उत्तर दिने जमर्को गर्न पुगिन्छ  तर मागेको बृहत विषयमा प्रवेश नै हुँदैन, त्यसैले प्रश्नको गहिरो अध्ययन गरेर मात्र उत्तर लेख्न शुरू गर्नुपर्ने हुन्छ।


९. समय व्यवस्थापन र मागअनुसारको प्रश्नोत्तर गर्ने क्रममा मागिएको विषयवस्तुको जानकारीलाई बुँदागतरूपमा दिने, सुझाव मागेको छ भने समस्यासहितका सुझाव प्रस्तुत गर्ने, नेपालमा रहेका व्यवस्था र कमीकमजोरीलाई पनि प्रष्ट पार्ने तर यी सबैलाई व्यवहारिक उदाहरणसहित प्रस्तुत गर्नुपर्ने हुन्छ ।

१०. प्रायःगरी नेपालको सन्दर्भमा लागु गर्न सकिने, समय सन्दर्भअनुसारको र अरूको लेखाइभन्दा अलि फरक सिर्जनशीलताले भरिपूर्ण भएको मौलिक लेखाइको माग अहिलेसम्मको लोकसेवा आयोगको पाठ्यक्रमले खोजेको देखिन्छ ।


११. लोकसेवाको तयारी गर्ने नवप्रवेशीहरूले स(सानासमूहमा अध्ययन गर्ने, छलफलमा सिर्जनशीलताको उजागर गर्ने प्रयास गर्ने, स(साना नोटमा नयाँ विषयवस्तुका बारेमा टिपोट गर्ने, अन्तर्क्रिया गर्ने र समय व्यवस्थापन र पृष्ठपोषणसहितको लेखनसीपको विकास गर्ने बानी बसाल्दासमेत लेखाइमा निख्खरता आउँछ। समूहमा अध्ययन गर्नुका साथै अध्ययन गरिएका विषयवस्तुहरूर समसामयिक सन्दर्भ, अन्तराष्ट्रिय तहमा भएको विकासको स्तर  र नयाँ परिवेशको जानकारी राख्ने तथा समयको मागअनुसारका  विषयवस्तुमा स्वचिन्तन, स्वमनन, स्वचित्त र लगाव लगाएर ती विषयलाई सन्दर्भ मिलाई प्रस्तुत गर्न सकेमा सफलता हात पर्न जान्छ ।

सरकारी सेवा राष्ट्रिय एकताको भावनासहित राज्य र जनताप्रति समर्पित हुने प्रतिष्ठित सेवा हो। यसमा प्रवेश गर्नु आफैमा गौरवको विषय हो भने जनताको सेवक बन्न पाउनु र राष्ट्र निर्माणमा ईँटा थप्न पाउनु आफैप्रतिको आत्मसन्तुष्टि पनि हो, त्यसैले निजामती सेवामा प्रवेश गरी वृत्ति विकास गर्ने लगावको विकास गरी अध्ययन, लेखन कलाको सामान्य विकास गर्ने जनशक्ति सहज तरिकाले यसमा प्रवेशगर्न सक्छन् । यस सेवामा प्रवेश गर्न तयारी गर्ने पुरूषहरूभन्दा महिलालाई थप चुनौतीका रूपमा रहेपनि पछिल्ला दिनहरूमा नेपालको निजामती सेवामा महिलाहरू प्रतिस्पर्धी उम्मेदवारका रूपमा उभिन सफल भएका छ्न् ।

यो सब राज्यको महिलाप्रतिको सकारात्मक नीति,  उनीहरूको निरन्तर लगावले सफल भएको हो । निरन्तर अध्ययन गर्ने, कार्यअनुभव र तयारीलाई सँगैसँगै लैजाने, समसामयिक विषयवस्तुमा अद्यावधिक रहने, फराकिलो सोचाई बनाउने, सकारात्मक चिन्तन गर्ने,  दृढ आत्म विश्वासको विकास गर्ने बानीले सबै प्रतिस्पर्धी उम्मेदवारलाई पक्कै सफलताको सिढीँ चढ्न मद्दत गर्दछ ।

Share your thoughts!











Close in 7