'सुनकोशी र्याफ्टिङ’ बाहेक रामेछापमा किन केही देखेन सरकारले ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Nov 04, 2018 | 01:07:52 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले गतसाता मात्रै १ सय वटा नयाँ पर्यटकीय गन्तव्य सार्वजनिक गरेको छ। त्यसमा ७७ वटै जिल्लाका पर्यटकीय स्थल अटाएका छन। सन २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने तयारी गरिरहेको सरकारले त्यसलाई सफल बनाउन भन्दै नयाँ गन्तव्य सार्वजनिक गरेको हो । 

तर अहिले सरकारकाले सार्वजनिक गरेका गन्तव्यका विषयमा सर्वत्र चासो र चर्चा चुलिएको छ। कतिपय जिल्लाबाट सिफारिस भएका ठाउँहरु ठिक भएपनि केही जिल्लामा भने यसको आलोचना भईरहेको छ। त्यसै मध्येको एउटा जिल्ला हो, रामेछाप । 

सरकारले सार्वजनिक गरेको रामेछापको नयाँ गन्तव्यमा ‘सुनकोशी र्याफ्टिङ’ लेखिएको छ । सुनकोशीमा र्याफ्टिङ गर्न सक्ने स्थान रामेछापमा कहाँ छ ? त्यसबाट रामेछापले कसरी लाभ लिन सक्छ ? भन्ने जस्ता प्रश्नहरु यत्रतत्र सुनिन थालेका छन् । हुन पनि हो, सुनकोशीमा र्याफ्टिङ बाहेक सरकारले रामेछापका पर्यटकीय गन्तव्य देख्दै देखेन । 

पर्यटकीय सम्भावना भएका क्षेत्रको संख्या बढाउन मात्रै नयाँ गन्तब्य सार्वजनिक गरिएको प्रश्नमा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका अधिकारीहरु यसमा आफूहरु जिम्मेवार नरहेको बताउँछन्। नयाँ गन्तव्य सार्वजनिक गरिँदा लेखेको पत्रमा नै स्थानीय तह र प्रदेश सरकारले सिफारि गरेको आधारमा तय गरिएको उनीहरुको भनाई छ। 

कमजोरी कसको ? 

रामेछाप हिमाली जिल्ला हो। हिमाली जिल्लामा पर्यटकीय गन्तव्य के के हुन सक्छन् भन्ने विषयमा जो कोही पनि जानकार हुन्छ । सुनकोशी रामेछाप भएर नै बग्छ। तर त्यसमा र्याफ्टिङ कसरी सम्भव छ भन्ने प्रश्न मुख्य हो । 

सिन्धुलीको कुशेश्वर दुम्जाबाट पारीपट्टिको पाखो रामेछाप हो । त्यसबाट खुर्कोटसम्म सुनकोशी नदी बग्छ, त्यहाँ रामेछाप हुँदै बगेर आएको तामाकोशी पनि मिसिन्छ । त्यसपछि रामेछाप र सिन्धुली हुँदै सुनकोशी बग्छ । तर र्याफ्टिङको लागी स्थान कहाँ नेर छ ? 

यस विषयमा खाँडादेवी गाउँपालिका रामेछापका अध्यक्ष प्रेम बहादुर खड्का काभ्रेको देलालघाटदेखी सिन्धुलीको खुर्कोटसम्म र्याफ्टिङ गर्न सकिने बताउँछन् । पहिला दोलालघाटमा र्याफ्टिङ भएको र अहिले पनि हुँदा त्यही हुने तर अन्यत्र सम्भव नभएको उनको भनाई छ । 

सिन्धुपाल्चोकको मुडेबजार हुँदै पनि रामेछाप पुगिन्छ, तर त्यहाँ पनि सुनकोशीमा र्याफ्टिङ गर्ने ठाउँ नभएको जानकारहरु बताउँछन् । कथम कदाचित वर्षौ लगाएर भईहाले पनि त्यसको लाभ रामेछापले पत्यक्ष रुपमा पाउँदैन । र अर्को कुरा र्याफ्टिङ गर्न मिल्ने ठाउँ मान्छेले बनाउने होईन । त्यस्तो स्थान प्राकृतिक रुपमा नै निर्मित हुन्छ, मानिस एवम् विज्ञहरुले त्यसको सम्भावना हेर्ने मात्रै हो । 

हुन त असम्भव भन्ने कुरा केही पनि छैन । तर पनि तत्काल पर्यटक भित्र्याउन सकिने धेरै त्यस्ता गन्तव्य हुँदाहुँदै पनि सुनकोशी र्याफ्टिङबाहेक केही नदेख्ने प्रदेश सरकार र रामेछापका स्थानीय तहले त्यसको विकास कहिले र कसरी गर्लान ? यो धेरैले सोचेको विषय हो । 

केही महिना अगाडी नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रामेछापको दोरम्बा पुगेका थिए । त्यसबेला उनले दोरम्बालाई युद्ध पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने आश्वासन दिएका थिए। जनयुद्ध ताका २०६० सालको साउन ३२ गते २१ जना तत्कालिन माओवादीका नेता कार्यकर्ताले ज्यान गुमाएका थिए । सेनाले उनीहरुलाई मारेको थियो । त्यसको आडमा पनि प्रचण्डले युद्ध पर्यटनको भाषा बोल्नु नौलो कुरा होईन । त्यसलगत्तै सरकारले दोरम्बालाई पर्यटकीय क्षेत्रको रुपमा घोषणा गर्यो । यो एउटा सफल पाटो पनि हो । 

सैलुङ रामेछापको अति नै मनमोहक ठाउँ हो । जहाँ प्रकृतिका अनेकौँ रुपहरु देख्न पाईन्छ । विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरो, चुरे पर्वत श्रृङखला, राजधानी काठमाडौँ सहित अन्य धेरै ठाउँहरु त्यहाँबाट एकैपटक देख्न सकिन्छ । धार्मीक र प्राकृतिक हिसाबले धनी सैलुङ पनि पर्यटकीय गन्तव्यमा परेन । कुनैबेला पर्यटकले भरिने सैलुङ अहिले सुनसान प्रायः छ । यसमा न त स्थानीय तहले केही चासो देखाएको देखियो, न त प्रदेश सरकारले नै । खाँडादेवी, अग्लेश्वरी लगायतका धार्मिक सम्पदा हेर्न पनि सरकारले आफ्नै आँखामा कालो पट्टि बाधेको देखिएको । 

पाँचपोखरी, जटापोखरी लगायतका अन्य धेरै ठाउँहरु रामेछापमा छन् । सामान्य प्रचार भएपनि सरकारी स्तरबाट भने तीनलाई वास्ता गरिएको छैन । वाम्ती, उमातीर्थ, देउराली, काओगुम्बा, च्यादलु, भूतिञ्चुली, गोकुलगंगा, लगायतका रामेछापका उत्तरी भेगहरु पर्यटन उद्योगमा सम्भावना भएका ठाउँ हुन । तर यीनलाई चटक्कै विर्सेर रामेछापबाट कसैगरे पनि पूरा गर्न वर्षौ लाग्ने र लाभ लिन दशकौ लाग्ने सुनकोशी र्याफ्टिङको नाममा नयाँ पर्यटकीय गन्तव्यको रुपमा सार्वजनिक हुनु आश्चर्यको विषय बनेको छ । यी ठाउँहरु पर्यटकीय गन्तव्यमा नसमेटिनुमा स्थानीय सरकार र प्रदेश सरकारको कमजोरी देखिन्छ । 

के भन्छ स्थानीय सरकार ?

खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङ आफूहरुले सिफारिस गरेको गन्तव्यलाई वेवास्ता गरी सरकारले र्याफ्टिङको कल्पना गरेको गुनासो गर्छन् । उनका अनुसार स्थानीय तहको निर्वाचन पछि बसेको गाउँपालिकाको पहिलो वैठकले नै १५७२ मा स्थापना भएको खाँडादेवी मन्दिरलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न ‘गन्तव्य खाँडादेवी’ कार्यक्रम नै बनायो । तर यसलाई प्रदेश सरकार र संघीय सरकारले मानेनन् । तामाङ स्वयम् गन्तव्य खाँडादेवी कार्यक्रमलाई लिएर धेरैपटक प्रदेश सरकार र संघिय सरकारको ढोका ढकढक्याउन पुगिसके तर आश्वासनका चाङ बाहेक केही पाएका छैनन् । 

पर्यटकीय पूर्वाधार निर्माण, डिपिआर, रिङरोड लगायतका काम गर्न भन्दै खाँडादेवी गाउँपालिकाले पर्यटन शिर्षकमा मात्रै १ करोड बजेट छुट्याएको छ । 

उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवार प्रदेश र केन्द्र सरकारले बस्तुस्थिती र यथार्थ नबुझि निर्णय गरेको बताउँछन् । सबै स्थानीय तहमा सम्भावित पर्यटकीय क्षेत्रको विषयमा जानकारी संकलन र स्थानीय तहको सिफारिसका आधारमा निर्णय गर्नुपर्ने भएपनि सरकारले मनलाग्दी निर्णय गरेको उनको आरोप छ । “हामीलाई नयाँ ठाउँ सिफारिस गर्नुस् तपाईका क्षेत्रमा के छन् भनेर एकपटक पनि सोधिएन”, उनले भने, “केन्द्र र प्रदेश सरकार मनलाग्दी निर्णय गर्छन ।” उमाकुण्ड गाउँपालिकाले चालु आर्थिक वर्षमा कृषि तथा पर्यटन शीर्षकमा २५ लाख रुपैयाँ बजेट छुट्याएको छ । 

छिमेकी जिल्ला पनि उस्तै 

दोलखाको कालिञ्चोक भगवती मन्दिरको निकै प्रचार हुन्छ, भएकै छ । त्यहाँ यसबेला हिउ पर्न सुरु भएको छ । हिउमा खेल्न चाहाने विदेशी तथा नेपाली पर्यटक, धार्मीक पर्यटकले कालिञ्चोक भरिएको छ । यस हिसाबमा कालिञ्चोक नयाँ गन्तव्य होईन । तर सरकारले कालिञ्चोकलाई नयाँ गन्तव्यको रुपमा राखेको छ । प्रचार गर्नुपर्ने अन्य धेरै त्यस्ता ठाउँहरु अझै पनि ओझेलमा छन् । 

छिमेकी जिल्ला सिन्धुलीको पर्यटकीय गन्तव्यमा पनि ‘सिन्धुलीगढी’ भनेर राखिएको छ । गढी आफैमा एक ऐतिहाँसिक सम्पदा हो । यसको संरक्षण गर्नु सबैको दायित्व हो । विगतदेखी नै यसको प्रचार भईरहेको छ । आन्तरिक पर्यटकले सधैँजसो भिड नै हुन्छ गढी । तर अन्य धेरै त्यस्ता ठाउँहरु सिन्धुलीमा प्रशस्त छन्, तर गढीलाई नै निरन्तरता दिईनु र अन्य ओझेलमा परेका पर्यटकीय स्थलहरुको नाम कतै नआउनु यो पनि आफैँमा न्योचित देखिँदैन ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved