पाँचपोखरी र जटापोखरी, धार्मिक आस्था र प्रकृतिको अनुपम उपहार

निरोज कुमार थापा

निरोज कुमार थापा

Nov 06, 2018 | 11:52:58 AM मा प्रकाशित

laxmi  sunrise bank

रामेछापको पाँचपोखरी र जटापोखरी भन्ने वित्तिक्कै स्वर्गीय आनन्दका अनेकन अनुभूतिहरु एकाएक सलबलाउँछन् । पदमार्गबाट उच्च हिमाली भेगको हावापानीमा रमाउन चाहनेका लागी एउटा अनुपम र उत्कृष्ट गन्तव्य हो पाँच पोखरी र जटापोखरी । 

उत्तरी क्षेत्रमा लमतन्न भएर सुतेको जस्तो देखिने पर्वतश्रृङ्खला, सेतो पटुकी जस्ता देखिने छाँगा र छहरा, मगमगाउँदा सुनपाती, धुपी र अन्य जडीबुटीको बासनाले जटापोखरी क्षेत्र स्वर्गको एउटा टुक्रा हो भन्न सकिन्छ । 

यात्रा सुरु 

रामेछापका दुई उत्तर पूर्र्वी स्थानीय तह गोकुलगंगा र उमाकुण्ड गाउँपालिका क्षेत्रमा पर्ने जटापोखरी क्षेत्र नुम्बुर चिज सर्किटको नामले पनि परिचित छ । गोकुलगंगा र उमाकुण्ड गाउँपालिकामा पर्ने रस्नालुदेखि गुम्देलसम्मकै क्षेत्र नुम्बुर चिज सर्किटमा पर्छ । 

मनोरम प्राकृतिको दृश्य अवलोकन, झरना, हिमताल र कुण्डहरुको अवलोकन, २० भन्दा बढी जातका लालीगुराँस फुलको अध्ययन गर्न पनि यो क्षेत्र एउटा विश्वविद्यालय सरह हो । यस क्षेत्रमा पाइने जडिबुटीको अध्ययनसँगै हिमाली भेगका गहना मानिने चौँरीगाईसँग रमाउँदै उच्च पहाडी क्षेत्रको पदयात्रा गर्न यो क्षेत्र बढी उपयुक्त छ । सगरमाथाको प्रवेशद्वार नाम्चे बजार जाने बाटो पनि यही हो ।  

रामेछाप जिल्ला सदरमुकाम मन्थलीदेखि पाँच पोखरीसम्मको यात्रा तीनको प्रायः हुन्छ । ३ दिन भन्दा छोटो समयमा फर्किन खोज्दा त्यस क्षेत्रको सबै भाग घुम्न भ्याईदैन, त्यसैले पनि पाँच पोखरी, जटापोखरी जाने पदयात्री तथा पर्यटकले त्यस क्षेत्रको खुलेर यात्रा गर्न कम्तीमा ३ दिन छुट्याएकै हुन्छन् । त्यहाँबाट सोलुखुम्बु र नेपालको स्वीट्जरल्याण्ड भनिने दोलखाको जिरी पनि जान सकिन्छ । 

राजधानी काठमाडौँबाट अरनिको राजमागै हुँदै दोलखाको जिरीसम्मको १८८ किलोमिटर र त्यसपछि २५ किलोमिटर कच्ची सडक पार गरेपछि डेढ दिन उकालो हिडेर बल्ल पुगिन्छ जटापोखरी । 


दोलखा हुँदै रामेछाप र त्यसपछि रामेछाप र सिन्धुलीको सिमाना खुर्कोटमा आएर सिन्धुपाल्चोक, काभ्रे हुँदै बगेको सुनकोशी नदीमा मिसिएर बग्ने तामाकोशी नदीको सहायक नदी खिम्ति खोलो हो । यही खिम्ती खोलाको शिरमा अवस्थित पाँच पोखरी र जटापोखरी प्राकृतिक र धार्मिक पर्यटनका उत्कृष्ट गन्तव्य हुन् । राज्य पुर्नसंरचना भएपछि बनेको गोकुलगंगा गाउँपालिका वडा नम्बर १ मा पर्ने जटापोखरी पुग्न साविकको चुचुरे गाविसको गर्जाङ्बाट पैदलयात्रा सुरु हुन्छ । रस्नालुबाट नै हिमाली हावापानीको स्वाद पाईने हुँदा शरीर त्यसै त्यसै फुरुङ्ग हुन्छ । सायद जडिबुटी मिसिएको हावा खान पाएर होला । 

ठोसे फलाम खानी र इतिहाँस

जटापोखरीको यात्राको क्रममा ठोसे बजार पुग्दा थाहा नभएकाहरुले पनि मनमनै इतिहाँसको कल्पना गर्छन् । त्यहाँ नेपालकै दोस्रो ठूलो फलाम खानी छ । राणाशासन ताका नै सञ्चलानमा आएर बन्द भएको उक्त खानीबाट निस्केको फलामबाट बन्दुकको धाउ बनाउने गरिन्थ्यो रे । अहिले सो खानी पूर्णरुपमा बन्द छ । त्यतिबेला प्रयोग भएका औजारहरु अहिले यत्रतत्र छरिएका छन् । 

भोटसँगको युद्ध ताका सञ्चालनमा आएको यो फलाम खानी नेपालमा प्रजातन्त्र स्थापना भएपछि बन्द भएको हो । त्यतिबेला यो खानीबाट निस्केको फलामबाट दैनिक ९ नाल बन्दुक बन्थ्यो रे । घोडाको टाप, खन्ती, गैची, खुकुरी जस्ता घरेलु हतियार उत्पादन गरिन्थ्यो । यही खानीबाट उत्पादन भएकोे फलामबाट बनेका २ वटा पुल अहिले पनि खिम्ती खोलामाथि झुण्डिरहेका छन् । मानिसहरुलाई वारपार गर्न सघाईरहेका छन् । उक्त खानीबाट निस्केको फलाम कति गुणस्तरीय रहेछ भन्ने कुरा वर्षौअघि बनेका पुल हालसम्म पनि छन् भन्दा नै थाहा हुन्छ । 

भोटसँगको युद्ध र त्यसमा प्रयोग भएका बन्दुकहरुको विषयमा अध्ययन गर्न चाहानेले ठोसे पुग्नैपर्छ । इतिहााससँग जोडिएको र प्राचिन उद्योग भएको हुनाले पनि ठोसेको महत्व ज्यादा छ । 

ठोसेबाट खिम्ती खोलाको किनारै किनार बसमा हिडेपछि चुचुरेको गर्जाङ् पगिन्छ । बाफ रे ! उच्च पहाडमा यति ठूलो फाँट ? त्यहाँ पुग्दा जो कसैले पनि गर्ने प्रश्न यही हो । 


कुनै समय यो फाँटामा सरकारले गाई फार्म सञ्चालन गरेको थियो । तर द्धन्द्धको बेलामा उक्त गाई फार्ममा आगो लगाईएको रहेछ । त्यहाँ पुगेर कुरा गर्दा बुढापाकाहरु ती दिन सम्झिन्छन । गाई फार्म रहेका बेला यो क्षेत्र निकै रमाइलो लाग्थ्यो रे । माउ गाईका पछिपछि दगुर्ने बाच्छा बाच्छीहरु हेरेरै मानिसहरु रमाउने गर्थे रे । तर द्धन्द्धको बेलामा फार्ममा आगो लगाएर भएभरका सबै गाईहरुलाई कुट्दै लखेटिएछ । 

गर्जाङमा पुगेर विश्राम गरेपछि ठाडै उकालो यात्रा सुरु हुन्छ, जटापोखरी पुग्न । गर्जाङ्बाट दुई घण्टा पैदल हिडेपछि चुचुरेको खहरे पुगिन्छ । खहरे जटापोखरी–पाँच पोखरी जाने बाटामा पर्ने मानवबस्ती भएको अन्तिम गाउँ हो ।

उचाईका हिसाबले उच्च भुभागमा रहेकाले लेकमा हिड्ने बानी नभएकाहरुलाई लेक लाग्ने सम्भावना पनि रहन्छ । त्यसैले यस मार्गमा पैदलयात्रा गर्नेले मकैको सातु, लसुनको पोटी र अकबरे खुर्सानी साथमै बोक्नुपर्छ । सातु र लसुनले लेक लाग्न दिँदैन भने खुर्सानीले शरीरलाई तातो बनाईरहन्छ । 

गर्जाङबाट ६ घण्टा उकालो चढेपछि मानेडाँडा पुगिन्छ । डाँडामा रहेका माने, खुल्ला चौर, चिसो मौसम र तलतिर हेर्दा बादलु थुम्का र पहाडी थुम्काबीचको लुकामारीले थकान सबै मेटिन्छ । शेर्पा दाजुभाई र दिदीहरुले त्यहाँ बनाएका चौंरी गोठमा आगो ताप्दै चिज र छुर्पी खानुको मजा पनि बेग्लै हुन्छ । 

पुगियो जटापोखरी ! 

मानेडाँडाबाट २ घण्टाको दुरीमा जटापोखरी अवस्थित छ । मानेडाँडाँबाट विस्तार विस्तार २ घण्टा हिडेपछि जटापोखरी पुगिन्छ । ४ हजार २५० मिटरको उचाईमा रहेको नरिवलको जटाको आकारमा रहेको जटापोखरीमा वर्षमा ६ महिना भन्दा बढी पानी जम्छ । चैतदेखि भदौसम्म मात्रै पग्लन्छ । त्यसैले यसलाई हिमनदी पनि भनिन्छ । 


जटापोखरीबाट ३५५ मिटर मात्रै सिधा माथि छ पाँच पोखरी । एउटै पोखरीका बिचबिचमा प्राकृतिक रुपमा उठेका बाध (ढिस्का/थुम्का) ले पोखरीलाई ५ वटा कुण्ड बनाईदिएका छन् । स–साना ५ वटा कुण्ड भएकाले यसलाई पाँच पोखरी भनिएको हो । यही पाँच पोखरीबाट निस्किएको पानी जटापोखरीमा झर्छ । जटापोखरीबाट पानी बाहिर निस्केपछि बनेको खोला नै खिम्ती खोला हो । 

पाँचपोखरी र जटापोखरीमा जनै पूर्णिमाको दिन ठूलो मेला लाग्छ । रामेछापका उच्च थुम्कीहरु बौद्ध र हिन्दु धर्मका संगमस्थल नै मानिन्छन् । दोलखा र रामेछापमा सिमानामा पर्ने सैलुङ पनि हिन्दु र बौद्धमार्गीहरुको संगमस्थल मानिन्छ । त्यस्तै पाँच पोखरी जटापोखरीलाई पनि हिन्दु र बौद्धमार्गीहरुको संगमस्थल मानिन्छ । जनै पूर्णिमाको दिन मेला भर्न रामेछापसहित छिमेकी जिल्लाहरु दोलखा, सिन्धुपाल्चोक, काभ्रे, सिन्धुली, ओखलढुंगा, सोलुखुम्बु, भक्तपुर, सर्लाहीबाट तिर्थालुहरु त्यहाँ पुग्छन् । भारतको सिक्किमदेखी पनि दर्शनार्थीहरु आउँछन् । यस्ता किसिमका धार्मीक पर्यटनले पनि नेपालको पर्यटन उद्योगमा सघाउ पुर्याएका छन् । 

जडीबुटी र चौरी 

यहाँ विभिन्न जातका जडीबुटीहरु पाईन्छन् । ठूलो ओखती, चिराईतो, पाखनवेद, लोडसल्ला, पाँच औले, जटामसीलगायतका जडिबुटीले यहाँको जंगल भरिएको छ । तर यीनको व्यवस्थापन भएको छैन । त्यसैले यस क्षेत्रमा पाईने सबै जडिबुटीहरु त्यसै खेर गएका छन् । 

यो भेगमा अहिले पनि चौरीगाईको पालन गरिन्छ । तर नयाँ प्रविधि र तीनको प्रयोग विना नै । परम्परागत शैलीमा नै यस क्षेत्रमा चौरीपालन हुँदै आएको छ । बाम्ती, गुम्देल, चुचुरे, ठोसे, प्रिति लगायतका क्षेत्रलाई समेटेर गाउँपालिकाले चौरी पकेट क्षेत्रका रुपमा विकास गर्ने योजना पनि बनाएको छ । उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले विजपाटीसँगको टेलिफोन कुराकानीमा यस क्षेत्रलाई चौरी पकेट क्षेत्रको रुपमा विकास गर्ने योजना रेहेको सुनाए । 

हामी अदृश्य स्वर्गको बयान धेरै सुन्छौ । हाम्रै सामु उभिएको सुन्दर स्वर्ग हामी चिन्दैनौ । नेपाल भौगोलिक रुपमा डाँडाकाडा, हिमाल र पर्वतले बनेको देश हो । यहाँ जस्तो पर्वतीय र स्वर्गीय आनन्द अन्यत्र खोजेर पाईदैन । त्यस्ता अनेकन स्वर्गीय आनन्द प्राप्त हुने नेपालका धेरै सुन्दर स्थान मध्येको एक हो, पाँच पोखरी र जटापोखरी । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved