जनयुद्दको घाउ बिर्साउने प्रचण्डमानको अभियान र आजको 'होमस्टे'

निरोज कुमार थापा

निरोज कुमार थापा

Dec 10, 2018 | 02:15:05 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको पर्यटन क्षेत्रमा योगदान पुर्याउने एउटा पर्यटकीय क्षेत्र हो ‘ग्रामिण पर्यटन’ । नेपालले ग्रामिण पर्यटन प्रवद्र्धन गर्नसक्यो भने सरकारले भनेजस्तो मुलुकको कुल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान बढ्न सक्छ । ग्रामिण पर्यटन विकासको महत्वपूर्ण अंग हो ‘होमस्टे’ ।
नेपालमा अहिले होमस्टेको प्रचलन बढ्दो छ । ग्रामिण पर्यटन प्रवद्र्धनमा पनि होमस्टेले निकै ठूलो सघाउ पुर्याएको छ । विशेष गरी ३ तारे, ५ तारे होटल नभएका, भौगौलिक अवस्थाले पनि उच्च भु-भागमा होमस्टे अहिले राम्रो बासस्थान र खानाको विकल्प बनेको छ । स्थानीय उत्पादन, स्थानीय रहनसहन, बोलीचाली र संस्कृतिसँग होमस्टेले पर्यटकलाई जोड्ने गर्छ ।
हिजो गाउँमा बास माग्दै जाने, खाने बस्ने र भोलीपल्ट बिदा भएर जाने चलन थियो । तर आज बास मागेपछि बास पाईन्छ र खाए बसेवापत उक्त परिवारलाई केही पैसा पनि आम्दानी हुन्छ । यसरी होमस्टेको विकास भएको छ । होमस्टेमा बसेपछि समाजको नजिकबाट अध्ययन गर्न पाईन्छ, एउटै परिवार जस्तै भएर ।
होमस्टेको छोटो इतिहाँस
सन् २०११ मा ‘पर्यटनका लागी सँगसँगै’ भन्ने नारासहित ‘नेपाल पर्यटन वर्ष–२०११’ मनाईयो । १० लाख पर्यटक भित्र्याउने लक्ष्य थियो । यस भित्रका धेरै कुराहरु छन् । मुख्य कुरा के थियो भने, अन्तराष्ट्रिय क्षेत्रमा नेपालको पर्यटनका विषयमा नकारात्मक कुरा फैलिएको थियो । १० वर्षे जनयुद्धले नेपालको पर्यटन क्षेत्र धाराशायी बनेको थियो । युद्ध छ, नेपालमा जानु हुँदैन भन्ने विदेशीको मानसिकतामा परिवर्तन ल्याउन त्यतिबेला नेपाल पर्यटन वर्षको आयोजना गरिएको थियो ।
त्यतिबेला संसदमा प्रतिनिधित्व गरेका सबै दलका नेता र प्रधानमन्त्री माधबकुमार नेपाललाई टुँडिखेलको चौरमा राखेर ‘हामी शान्ति चाहान्छौ, आजदेखी नेपालमा युद्ध र हिंसा हुँदैन र गर्दैनौ’ भन्ने सामुहिक कसम खुवाईयो । यसको योजनाकार थिए, पर्यटन विभागका तत्कालिन महानिर्देशक प्रचण्डमान श्रेष्ठ । उनी त्यतिबेला पर्यटन बोर्डमा प्रमुख कार्यकारी अधिकृत थिए । विभाग खारेज गरी बोर्डको परिकल्ना गर्ने पनि उनी नै थिए । नेपाल सरकारको जागिर खाएर सचिव हुने सपना देखेका उनी सचिव नभएपछि जागिर छोडेर बसे । पछि ४ वर्षे सम्झौतामा उनी पर्यटन बोर्डको सिइओ भए ।

संसदमा प्रतिनिधित्व गरेका सबै दलका नेता र प्रधानमन्त्री माधबकुमार नेपाललाई टुँडिखेलको चौरमा राखेर ‘हामी शान्ति चाहान्छौ, आजदेखी नेपालमा युद्ध र हिंसा हुँदैन र गर्दैनौ’ भन्ने सामुहिक कसम खुवाईयो ।

सबै पार्टीका नेतालाई यसरी कसम खुवाएर उनी त्यसको भिडियो क्लिप र फोटा बोकेर विदेश हिँडे । उनी जहाँ पुगे त्यहाँ नेपालमा शान्ति स्थापना भईसक्यो, अहिले हो–हल्ला, हिंसा, युद्ध छैन, नेपाल जानुपर्छ भन्ने सन्देश फैलाए । यसले धाराशायी बनेको नेपालको पर्यटन उद्योगमा नयाँ आयाम दियो ।
नेपाल पर्यटन वर्षका बेला उनले गाउँ गाउँमा गएर सके हप्ताको एकचोटी, नसके महिनाको एक चोटी भएपनि गाउँले भेला भएर रमाइलो गर्नुपर्छ भन्ने शन्देस फिँजाए । उनी र उनका कुरा मन पराउनेले त्यसै गरे । यो पछि होमस्टेको रुपमा विकास भयो । आएका पाहुनालाई सम्मान र सत्कार गरेर राखेपछि, खुवाएपछि केही पैसा लिनुपर्छ भन्ने मान्यताको विकास भयो । हुन त यो कुरा सबैले स्वीकार गर्नुपर्छ भन्ने छैन ।
प्रचण्डमान श्रेष्ठ पर्यटन बोर्डको सिईओ भएका बेला बाबुराम भट्टराई प्रधानमन्त्री थिए । कार्यकाल सकिन केही दिन बाँकी रहेका बेला उनी बिदामा थिए । सहमतिमा बढीमा एक महिना समय लिएर नयाँ सिईओ नियुक्ति गरेपछि छोड्छु भन्ने मानसिकता बनाएका उनलाई भट्टराईले बोलाए र भोलिपल्टै बैठक राख्न भने । त्यसपछि उनले बोर्ड छोडे ।
यहाँ प्रचण्डमान श्रेष्ठको बढाई चढाई गर्न खोजिएको होईन । उनकै भनाई अनुसार नेपाल पर्यटन वर्ष २०११ ले नेपालमा होमस्टेको विकास गर्नुपर्छ भन्ने सन्देश दिएर गयो । त्यसैको फलस्वरुप आज गाउँगाउँमा होमस्टे खुलेका छन्, खुल्दै छन् । यसले स्थानीय उत्पादनको खपत बढाउनुका साथै गाउँका नागरिकको जीवनस्तर समेत उकास्न मद्दत गरेको छ ।
होमस्टे एउटा घर हो । जुन घरमा हामी बास माग्दै जान्छौ, बस्छौ, खान्छौ, रमाउँछौ त्यही हो होमस्टे । होमस्टे एउटा परिवार हो । त्यसैले त्यहाँ पुगेपछि परिवारमा जस्तो घुलमिल हुनुपर्छ ।

नेपाल पर्यटन वर्ष २०११ ले नेपालमा होमस्टेको विकास गर्नुपर्छ भन्ने सन्देश दिएर गयो

मिठो बोली
मिठो बोली हामी नेपालीको गहना हो । होमस्टे पुगेपछि त्यहाँका सदस्यलाई साइनो लगाएर सम्बोधन गर्ने चलन बाक्लै छ । वेटर, सेभ, क्यासियर भन्ने त्यहाँ हुँदैन । दिदी, आमा, काका, बा, बुबा, दाई भाई, बहिनी आदि सम्बोधन गर्यो भने उनीहरुसँग निकट भईन्छ । यसरी साइनो लगाएर बोलेपछि त्यस क्षेत्रका धेरै कुरा थाहा हुन्छ । त्यहाँ पाइने अन्नबाली, त्यस क्षेत्रको संस्कृति लगायतका स्थानीय कुराहरु धेरै थाहा पाईन्छ ।
स्थानीय खानालाई प्राथमिकता
होमस्टेमा जाने पनि पर्यटक ने हो । ३ तारे, ५ तारे होटलको स्वाद त्यहाँ पाईदैन । होमस्टेमा विशुद्ध स्थानीय कुराहरु धेरै हुन्छन् । त्यसैले त्यस क्षेत्रका उत्पादनलाई प्राथमिकता दिएर खानुपर्छ । यसले उनीहरुको मनोबलमा वृद्धि हुन्छ । फलस्वरुप जीवनस्तर उकासिन्छ ।
अहिले नेपालमा २५२ वटा होमस्टे दर्ता भएर सञ्चालनमा छन् । पर्यटन विभागका निर्देशक सरेन्द्र थापा होमस्टे दर्ता गर्न आउनेकोचाप खासै नभएको बताउँछन् । फाट्ट फुट्ट मात्रै आउने गरेका छन् ।
पर्यटन सम्बन्धि नयाँ कानुनले होमस्टे सञ्चालनको अनुपतिपत्र स्थानीय तहले दिने गरी व्यवस्था गर्न लागेको छ । सरोकारवालाहरु होमस्टेको अनुमति स्थानीय तहले दिने भएपछि होमस्टे सञ्चालकहरु बढ्ने बताउँछन् ।
सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने भनेको छ । पर्यटन बोर्ड लगायतका निकाय अहिले यसको प्रचारमा छन् । यसैलाई सफल बनाउन सरकारले केही महिना अघि १ सय वटा नयाँ गन्तव्य पनि सार्वजनिक गरेकोछ । तर ती गन्तव्यमा पूर्वाधार छन् कि छैनन्, कसरी पूर्वाधारको विकास गर्ने भन्नेमा सरकारले केही कदम अघि सारेको छैन ।
३ तारे ५ तारे होटलभन्दा पनि ती सय गन्तव्यमा होमस्टे निर्माण गर्न सके स्थानीय उत्पादनले बजार पाउँछ र त्यस क्षेत्रका नागरिकको जीवनस्तर उकासिन्छ । त्यसैले ग्रामिण पर्यटन प्रवद्र्धन गर्न होमस्टेलाई पहिलो प्राथमिकताका साथ विकास गर्नुपर्छ । अझ भन्ने हो भने नेपाल जस्तो मुलुकमा ग्रामिण पर्यटन प्रवद्र्धनका लागी होमस्टेको महत्वपूर्ण भूमिका हुन्छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved