चौध वर्षीय छोरालाई लिएर सातै महादेशका हिमाल चढ्दै पिके शेर्पा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2019 | 03:12:12 PM मा प्रकाशित

laxmi  sunrise bank

‘पृथ्वीमा जीवन रक्षाका लागी हिउँ बचाउँ’ भन्ने नारा सहित पर्यटन व्यवसायी पिके शेर्पा विश्वका अग्ला सात हिमाल आरोहण गर्ने भएका छन् । ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल (टान) का कार्यसमिति सदस्य समेत रहेका शेर्पा दुई दशकदेखी पर्वतीय पर्यटनमा क्रियाशिल छन् । 

उनी विगतमा हिमाल सफा गर्ने व्यक्तिका नामले समेत चिनिन्थे । उनले नेपालका विभिन्न उच्च हिमाल सरसफाइ समेत गरेका थिए । आफ्नो देशको एकादुई हिमाल मात्रै सफा गरेर विश्वका बढेको जलवायु परिवर्तनको समस्या समाधान नहुने देखेपछि उनले सातै महादेशका एक एक वटा अग्ला हिमाल आरोहण गर्ने उद्घोष गरेका हुन् । 

उनले आफ्नो पुस्ता मात्रै नभई आगामी पुस्तालाई समेत हिमाल र हिउँ जोगाउने अभियानमा सामेल गराउन आफ्ना १४ वर्षीय छोरा सोनाम शेर्पालाई पनि साथमै लैजाने भएका छन् । उनको यो अभियानको सहजीकरण भने ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल (टान) ले गर्ने भएको छ । 

पिके शेर्पालाई अभियान सफलताको कामना गर्दै टानका अध्यक्ष नवराज दहालले यो अभियान केवल उनको मात्रै नभई विश्वको अभियान भएको र नेपालले यसको नेतृत्व गरेको बताए । दाहालले शेर्पा बाउ छोरालाई यो अभियानको निम्ती टानले सबै किसिमका सहयोग गर्ने बताए । टानले केही दिनमै आर्थिक संकलनको अभियान सुरु गर्ने पनि उनले जानकारी दिए । अध्यक्ष दाहालले नजिकिँदै गरेको नेपाल भ्रमण वर्ष २०२० लाई पनि शेर्पाको अभियानले सहयोग पुर्याउने विश्वास व्यक्त गरे । 

हिमालय रेस्क्यु एसोसियसनका अध्यक्ष नरेन्द्रदेव भट्टले पर्यटन सम्वद्ध सबै संघसंस्थाहरुले शेर्पा बाउ छोराको अभियानको तस्बिर आ–आफ्ना वेभसाईडमा राखेर प्रचार गरिदिन आग्रह गरे । 

सजिव प्राणी प्रकृति बिना बाँच्न नसक्ने र यसैको लागी प्रकृति जोगाउने अभियानका साथ बाउ छोराले सातै महादेशको हिमाल आरोहण गर्न लागेको पिके शेर्पाले जानकारी दिए । 

शेर्पा बाउ छोराले आरोहणको सुरुवात अस्ट्रेलियाबाट गर्ने भएका छन् । उनीहरुले दुई हजार २२८ मिटर अग्लो माउण्ट कस्कियास्कोको यही मार्चमा आरोहण गर्ने भएका छन् । त्यसपछि मे २०१९ मा अफ्रिकाको तान्जेनियास्थित पाँच हजार ८९५ मिटरको माउण्ट किलिमन्जोरा, जुलाई २०१९ मा युरोपको रसियास्थित पाँच हजार ६४२ मिटरको माउण्ट एल्बर्स र सेप्टेम्बर २०१९ मा दक्षिण अमेरिकास्थित चिलि र अर्जेन्टिनाको सिमानामा पर्ने ५ हजार ९६२ मिटर अग्लो आकोन्कागुवा हिमालको आरोहण गर्नेछन् । 

त्यस्तै अन्टार्टिकाको चार हजार ८४२ मिटर अग्लो भिजन मासिफ हिमालको आरोहण उनीहरुले अक्टुबर २०१९ मा गर्नेछन् । उत्तर अमेरिकास्थित ५ हजार १९४ मिटर उचाईँको डेनाली हिमालको मार्च २०२० र एशियाको नेपालस्थित आठ हजार ८४८ मिटर अग्लो सगरमाथा (विश्वकै अग्लो हिमाल) को मे २०२० मा आरोहण गरेर अभियानको अन्त्य गर्नेछन् । हिमाल आरोहण समापनपछि शेर्पा बाउ छोराले २०२० को नोभेम्बरमा काठमाडौँमा विश्वका हिमालमा भएको हिउँको अवस्थाको बारेमा जानकारी गराउनेछन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved