‘भ्रमण बर्ष’ सफल हुने आधार नै छैन

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 16, 2019 | 02:49:54 PM मा प्रकाशित

laxmi  sunrise bank

‘नेपाल भ्रमण वर्ष २०२०’ को औपचारिक शुभारम्भ भईसकेको छ । सरकारले सन् २०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित सुरु गरेको अभियानको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गत शनिबार पोखराको फेवा तालको किनारबाट शुभारम्भ गरे । 

भ्रमण वर्षको औपचारिक शुभारम्भ हुनु अगावै र भएपछि पनि यो कार्यक्रम सफल हुनेमा धेरैले अशंका गरेका छन् । पदयात्रा, पर्वतारोहण लगायतका व्यवसायीले धेरै पर्यटक आइदिए हुन्थ्यो भन्ने अपेक्षा गरेपनि होटल व्यवसायीले भने धेरै पर्यटक आए धान्न नसकिने पो हो कि भन्ने चिन्ता व्यक्त गरेका छन् । 

नयाँ होटल नखुले धान्न सकिन्नः हान अध्यक्ष शाक्य

होटल एशोसियसन नेपाल (हान) का अध्यक्ष अमारमान शाक्य पर्यटकीय स्तरका होटलको संख्या कम भएको स्वीकार गर्छन् । होटलमा लगानी गर्नेको संख्या बढिरहेको र होटल व्यवसायमा विदेशी लगानी पनि भित्रिरहेको हुनाले २०२० सम्म केही स्तरीय र नयाँ होटल थपिन सक्ने उनको विश्वास छ । तर सोचेजसरी होटल नथपिए अहिले भएका होटलले २० लाख पर्यटक धान्न नसक्ने उनले प्रष्ट पारेका छन् । 

अहिले नपाल भरमा रहेका पर्यटक स्तरका होटलको क्षमता १० लाख मात्रै हो । ‘होटलमा लगानी बढिरहेको छ, त्यसैले ठूलो समस्या त नहोला तर आउने भनेर चर्चा गरिएका होटलहरु लञ्च भएनन् भने अहिले भएका होटलले पर्यटकको चाप धान्न कठिन हुन्छ’ हान अध्यक्ष शाक्यले भने । 

व्यवसायीलाई वेवास्ता गर्नु भ्रमण वर्ष असफलको संकेतः टान अध्यक्ष दाहाल

ट्रेकिङ एजेन्सिज् एशोसियसन अफ नेपाल (टान) का अध्यक्ष नवराज दाहालका अनुसार भ्रमण वर्षका लागी सरकारले निजी क्षेत्र मैत्री वाताबरण बनाउन सकेको छैन । व्यवसायी अनुकुल वाताबरण नभएका कारण भ्रणम वर्ष केवल देखावटी प्रचार मात्रै हुने उनको आशंका छ । 

पदयात्रामा जाने पर्यटकबाट जथाभावी शुल्क उठाउने, स्थानीय तहले दोहोरो शुल्क लिने जस्ता समस्याले व्यवसाय गर्न कठिनस्थित आईपरेको उनको भनाई छ । ‘स्थानीय तहले पैसा उठाएको विषय देख्नलाई त सानो हो, तर यसले दीर्घकालिन असर पर्छ भन्ने हेक्का राख्नुपर्छ’ दाहालले भने, ‘साना विषय भनेर सरकारले वेवास्ता नगरेकै कारण भ्रमण वर्ष असफल हुन सक्छ ।’

नितीमै समस्या छः पर्यटन वर्ष २०११ का संयोजक शाक्य

‘पर्यटनका लागी सँगसँगै’ भन्ने नारासहित सन् २०११ मा नेपालमा पर्यटन वर्ष मनाईएको थियो । यसको मुख्य उदेश्य भनेको नेपालका बारेमा अन्तराष्ट्रिय जगतमा भएका नकारात्मक प्रचार चिर्नु थियो । देश द्वन्दबाट भर्खरै शान्ति प्रक्रियामा आएको थियो । अन्तराष्ट्रिय स्तरमा नेपाल अझै असुरक्षित छ भन्ने मानसिकता थियो । त्यसलाई चिर्नको लागी मनाईएको नेपाल भ्रमण वर्षका संयोजक थिए योगेन्द्र शाक्य ।

उनी २०२० मा २० लाख पर्यटक ल्याउन निकै समस्या रहेको बताउँछन् । ‘पूर्वाधारको अभवा त छदै छ, त्यसमाथि हाम्रो त पर्यटन नितीमा नै समस्या छ’ उनले भने ‘निती पर्यटकबाट लिने मात्रै छ, जतिसक्दो लुट्ने तर दिने केही छैन ।’ यस्तो खालको नितीबाट पर्यटक नआउने उनको दाबी छ । नितीमै समस्या भएका कारण २०११ म १० लाख पर्यटक ल्याउने भनिएपनि मुस्किलले ९ लाखको हाराहारीमा आएको उनको अनुभव छ । यसपाली पनि सरकारले नितीमा सुधार गरि पर्यटकमैत्री कानुन बनाएर प्रचार गर्न नसके १५ लाख पनि नआउने उनको ठोकुवा छ । 

पर्यटन ऐन २०३५ तत्काल विस्थापित गरी नयाँ ऐन ल्याउनुपर्ने शाक्यको सुझाव छ । यद्यपी सरकार र पर्यटन बोर्डले नेपाल आएका पर्यटकको डिजिटल गणना गर्ने कामको थालनी गरेकाले यकिन तथ्यांक आउनेमा भने उनी केही आशावादी छन् । 

लक्ष्य बिनाको कार्यक्रमः पर्यटन बोर्डका पूर्व सिइओ श्रेष्ठ

सन् २०११ को पर्यटन वर्षका योजनाकार हुन प्रचण्डमान श्रेष्ठ । उनी त्यतिबेला नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत थिए । नेपाल सरकारका पूर्व सहसचिव समेत रहेका श्रेष्ठ सन् २०२० मा मनाउन लागिएको भ्रमण वर्षको उदेश्य क्लिएर नभएको बताउँछन् । 

‘भ्रमण वर्ष के उदेश्यका लागी भन्ने स्पष्ट छैन’ उनले भने । ‘२०२० मा नेपाल आउने पर्यटकलाई के सहुलियत छ त ? उनीहरुलाई प्लेन भाडा फ्रि हो कि, नेपाल आएपछि बस्ने होटलमा केही सहुलियत छ कि’ प्रचण्डमान भन्छन, ‘प्लेन भाडामा ५० प्रतिशत छुट दिएर यता आएपछि होटलबाट उठाउँदा हुन्छ नि, व्यवसायीक दृष्टिकोण हुनुपर्यो ।’ 

बासी संरचना हेर्न पर्यटक नआउने उनको तर्क छ । सन् २०१९ लाई पूर्वाधार विकास वर्षका रुपमा मनाउनु पर्ने र यस वषै पर्यटकीय क्षेत्रमा सबैखाले पूर्वाधार तयार गर्नुपर्ने उनको सुझाव छ । राष्ट्रिय कार्यक्रम घोषणा भएको अवस्थामा सबै प्रदेशले पूर्वाधारको विकासमा समय खर्चिनुपर्ने उनको सुझाव छ । ‘केन्द्र सरकार र प्रदेश सरकारको बाटो नै भिन्दै देखियो, एक रुपता नहुँदा कसरी सफल हुन्छ भ्रमण वर्ष ?’ उनले प्रश्न गरे ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved