पर्यटन व्यवसायीलाई मन्थली विमानस्थल: ...नखाउँ भने दिनभरीको सिकार

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 18, 2019 | 01:58:56 PM मा प्रकाशित

laxmi  sunrise bank

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल मर्मतका कारण अहिले २० प्रतिशत उडान आन्तरिक विमानस्थलबाट हुन थालेका छन् । राती १० बजेदेखी विहान ८ बजेसम्म अन्तराष्ट्रिय विमानस्थल पुर्णरुपमा बन्द हुँदा दिउँसो अन्तराष्ट्रिय उडानको चाप बढ्दो छ । तीन महिनासम्म विमानस्थल राती बन्द गरेर धावनमार्ग मर्मतको काम गरिदै छ । 

त्यसैले दिउँसो अन्तराष्ट्रिय विमान अवतरणमा समस्या नहोस् भन्नका लागि आन्तरिक उडानहरु व्यवस्थापन गरिएका छन् । यसरी व्यवस्थापन गर्दा रामेछापको सदरमुकाम मन्थलीस्थित विमानस्थल पनि सञ्चालनमा आएको छ । सगरमाथा क्षेत्रमा जाने पर्यटकहरु अहिले मन्थली एयरपोर्ट प्रयोग गरेर जाने गरेका छन् । 

बन्द रहेको एयरपोर्ट सञ्चालनमा आउनु र त्यस क्षेत्रमा व्यवसायीक फाइदा पुग्नु राम्रो पक्ष भएपनि यसले व्यवसायीलाई भने सास्ती दिएको छ । एक त मन्थलीको गर्मीमा पर्यटक बस्न नरुचाउने र सो क्षेत्रमा पर्यटक स्तरका होटल समेत नहुँदा निकै समस्या परेको शुभलक्ष्मी ट्रान्पोर्टका सञ्चालक बेद बहादुर श्रेष्ठको गुनासो छ । 

मन्थलीमा होटल नहुँदा आएका पर्यटकलाई काठमाडौँमै राख्ने गरिएको छ । तर मन्थलीबाट लुक्लाको उडान विहान ६ बजे हुँदै आएको छ । विहान ६ बजेको उडानबाट लुक्ला जाने पर्यटकहरु मन्थलीमा नबस्ने भन्छन् । त्यसको लागी विकल्प कहिकतै नभएपछि व्यवसायीहरु ठमेलमै राख्न बाध्य हुन्छन् । व्यवसायीहरुले पर्यटकलाई राती २ बजे काठमाडौँबाट हिडाएर विहान मन्थली पुर्याएर लुक्ला पठाउँदै आएका छन् । ‘राती २ बजे काठमाडौँबाट विदेशीलाई बोकेर ६ बजे मन्थली पुर्याएर लुक्ला पठाउँदा पर्यटकले नेपालको विषयमा के सोच्छ र यसले कस्तो सन्देश जान्छ ?’ श्रेष्ठले भने । 

ठमेलबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलसम्मको भाडा एक हजार छ । ८ सय ८४ रुपैयाँ भाडा र भ्याट जोडेर हजार पुर्याइएको छ । तर ठमेलबाट मन्थली पनि यही भाडामा लैजानु परेको नेपाल ट्रापोर्टका सञ्चालकले गुनासो गरेका छन् । मन्थलीका लागी यति भाडा लिन पाउने भनेर नतोकिएको हुँदा अहिले ठमेल–टिआइएको भाडामै सेवा दिईरहेको उनको भनाई छ ।

पर्यटन व्यवासायीहरु १५ दिनमै वाक्क भईसकेको दुखेसो गर्छन् । सहज हुन्छ भनेर सरकारले मन्थलीलाई विकल्पका रुपमा लिएपनि यसले आफूहरुलाई सास्ती मात्रै भएको उनीहरुको भनाई छ । बाध्य भएर मात्रै मन्थलीको एयरपोर्ट प्रयोग गर्नु परेको उनीहरुको भनाई छ । 

पर्यटन व्यवसायीहरुले विमानस्थल र बजार क्षेत्रका होटलमा खानाको यति खर्च र सुतेको यति खर्च भन्ने एकरुपता समेत नभएको बताएका छन् । ‘होटलैपिच्छे फरक फरक रेट रहेछ, मन्थलीमा सबैले एउटै रेटमा सेवा दिनुपर्छ भनेर सर्कुलर गर्ने निकाय नै रहेनछन् कि क्या हो ?’ काठमाडौँबाट विदेशी पर्यटकलाई माइक्रो बसमा मन्थलीसम्म ओसार्दै आएका तहल्का ट्रान्पोर्टका सञ्चालकले प्रश्न गरे । 

रामेछापका जनप्रतिनिधिले मन्थली विमानस्थललाई दैनिक सञ्चालनका लागि लबिङ गरेपनि व्यवसायीले भने तीन महिना धान्न समेत मुस्किल भएको प्रतिक्रिया दिएका छन् । उनीहरुले छिटो विमानस्थल मर्मत सकिए हुन्थ्यो भन्ने कामना पनि गरेका छन् । 

उनीहरुले प्रयोग नगरी सुखै नभएका कारण मात्रै पर्यटक लिएर आउजाउ गर्नुपरेको बताएका छन् । मन्थली एयरपोर्टका कारण आफूहरुको भविष्यको व्यवसाय समेत धरापमा परेको उनीहरुको गुनासो छ । सकारात्मक सन्देश प्रवाहले मौलाउने पर्यटन व्यवसाय मन्थली एयरपोर्टबाट सेवा दिन थालेदेखी पर्यटकको गुनासो अत्याधिक बढेको पर्यटन सम्वद्ध संघसंस्थाहरुको बुझाई र भोगाई छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved