‘फेवा ताल ड्याम’को आयु कति ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 19, 2019 | 12:14:45 PM मा प्रकाशित

laxmi  sunrise bank

पोखराको फेवा ताल किनारलाई मुख्यतयः दुई नामले चिनिन्छ । तालको मुख्य भागको छेउलाई लेक साईड र ताल फुटाएर पानी लगेर जम्मा गरेर बनाईएको ड्यामको किनारलाई ड्याम साईड । लेक साईड होटल तथा पसलहरुले भरिएको छ भने ड्याम साइडमा सरकारी कार्यालयहरु छन् । 

४३ वर्ष पूरानो ड्याम 

अहिले भएको ड्याम २०३२ सालमा तालको पानी जम्मा गरेर निर्माण गरिएको हो । ४३ वर्षअघि निर्माण भएको यो ड्याममा त्यतिबेला जुन गुणस्तरका सामान प्रयोग गरिएका थिए अहिले पनि त्यसकै भरमा छ । पहिला बनाईएको बाध २०२८ सालमा भत्किएको थियो । त्यसपछि ४ वर्षपछि निर्माण भएको अहिलेको ड्याम मर्मतसम्म पनि भएको छैन ।

पोखरामै जन्मिएर होटल, ट्राभल, ट्रेकिङ र रेष्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आएका हरि भुजेल २०७२ सालको भूकम्पपछि ड्याममा के कति क्षति पुगेको छ भनेर कुनैपनि निकायले सर्वेक्षण गरेको आफूहरुलाई थाहा नभएको बताउछन् । पदयात्रा व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सीज् एसोसियसन अफ नेपाल (टान) पोखराका अध्यक्ष समेत रहेका उनले यो ड्यामको आयु कति छ भनेर सम्बन्धित निकायले कहिल्यै जानकारी नदिएको बताए ।

के गर्दैछ महानगर ?

अहिले फेवातालबाट धमाधम माटो निकाल्ने काम भईरहेको छ । पोखरा महानगरपालिकाले ताल आसपासका खोला र खोल्साबाट बगेर आउने ढुंगामाटो रोक्न सिल्ट र चेक ड्याम बनाउने तयारी रहेको जनाएको छ । यसका लागी केही दिनमै ४७ करोडको टेन्डर आह्वान गरिने महानगरका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले जानकारी दिएका छन् । 

यद्यपी नजिकका स्थानीयबासी र वुद्धिजीविले भने खाल्डो बढाउनु भनेको अहिलेको ड्याममा पानीको चाप बढाउनु भएको भन्दै महानगरको यो कामको आलोचना गरेका छन् । स्थानीय भरत भुजेल ४ दशक पुरानो ड्याम भत्किएमा हजारौ नागरिकको मृत्यु हुने र लाखौ घरबार विहिन हुने स्थिती आउन सक्ने भन्दै पहिला ड्यामको क्षमता यकिन गर्नुपर्ने बताउछन् । उनी भन्छन् “प्रकृतिको त आयु हुन्छ, यो त मान्छेले तालको पानी निकालेर बनाएको न हो, कुन दिन फुट्छ के थाहा ?” 

महानगरले भने इन्जिनियरले अध्ययन गरेरै ड्यामलाई सुरक्षित राख्न पहिला ताल भित्रको माटो निकाल्ने काम भएको बताएको छ । 

ताल नजिकका बस्तीमा यस्तो त्रास:

ड्याम वरपरका बस्तीमा तालको पानी एकदिन फुटेर बस्तीमा पस्छ भन्ने त्रास छ । डेभिल्स फल्स क्षेत्रका बासिन्दा सरकारी निकायले यसको आयु कति छ भनेर सूचना नदिएका कारण आफूहरु त्रासमा बस्नुपरेको दुखेसो गर्छन् । “सबैले पूरानो भो अब त धेरै टिक्दैन भन्छन्, कुन दिन बगाउने हो भन्ने लाग्छ” स्थानीय लालबहादुर गुरुङ भन्छन्, “मैले थाहा पाएदेखी यतिकै छ, ३ वर्षजति भयो जो पनि फुट्छ मात्रै भन्छन । फुट्यो भने त लास पनि भेटिदैन ।”

यदि तालको ड्याम फुटेमा महानगरको १७ नम्बर वडा डेभिल्स फल्स, दोभिल्ला सहितका क्षेत्रमा रहेका घना मानव बस्तीमा ठूलो क्षति पुग्ने स्थानीयको त्रास छ । कोत्रे, दुलेगौडा, भिमाद बजार, दमौली लगायतका क्षेत्रमा पानीको बहाबले क्षति गर्न सक्ने भन्दै अहिलेदेखी नै सतर्कता अपनाउनुपर्ने उनीहरुको बुझाई छ । विपत्ति आउनुभन्दा अगाडी नै यसको विषयमा सोचिदिन उनीहरुले सम्बन्धित निकायलाई अपिल पनि गरेका छन् । 

नेपालमा कुनैपनि संरचना नभत्किउनजेल त्यसको क्षमता र वर्तमान अवस्थाका विषयमा नसोच्ने परिपाटीप्रति दुख व्यक्त गर्दै पोखराका स्थानीयले ड्याम फुटेमा देवघाट र  नारायणघाटसम्म असर गर्न सक्ने भन्दै सचेतना अपनाउनु बुद्धिमानी हुने सुझाव दिएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved