ट्रेकिङ एजेन्सीज् एशोसियसन अफ नेपाल (टान) का महासचिव आङपेम्बा शेर्पाले सरकारले ल्याएको बजेटले पर्यटन क्षेत्रलाई उपेक्षा गरेको बताएका छन् । बजेटबारे विजपाटीसँग आफ्नो धारणा सार्वजनिक गर्दै शेर्पाले सरकारको बजेट बनाउने कमिटिमा पर्यटन बुझेका मान्छे नै नभएको दाबी गरे ।
उनले नेपाल भ्रमणको लागि नयाँ नयाँ पर्यटकीय गन्तव्यको खोजी, हिमाल सफाई र पदमार्गको विकास गर्नुपर्ने भएपनि बजेटले यी शीर्षकमा कुनै व्यवस्था नगरेको बताए । सरकारले यसअघि सार्वजनिक गरेको नयाँ सय वटा पर्यटकीय गन्तव्यमा यसअघि बजेट पठाउँदा के के प्रगति भयो र आगामी वर्ष के के काम गर्ने भन्ने योजना बजेटमा समावेश नहुनु दुखद भएको बताए ।