पर्यटन बोर्डले नै मानेन पर्यटन मन्त्रालयको निर्देशन

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 24, 2018 | 02:10:37 PM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले बनाएको कार्यविधि पालना गर्ने प्रमुख निकाय नेपाल पर्यटन बोर्डले नै कार्यविधि नमानेको पाईएको छ । कार्यविधिमा ट्रेकिङ वा पर्वतारोहणमा जाने विदेशीलाई  अनिवार्य गाईडको साथमा पठाउनुपर्ने उल्लेख भएपनि बोर्डले भने गाइडबिनै भ्रमण अनुमति दिएको पाईएको छ । साहसिक तथा पर्वतीय पर्यटकको खोज, उद्धार तथा अनुगमनसम्बन्धी कार्यविधि २०७५ ले गाइड साथमा राखेर मात्रै पदयात्रा गराउनुपर्ने व्यवस्था गरेको छ ।

सरकारले गाइड बिना नै पर्यटकलाई पदयात्रा तथा पर्वतारोहणमा पठाउँदा फेक रेस्क्युको सम्भावना बढ्ने र पर्यटक बिचल्लीमा पर्ने गरेको भन्दै भदौ १६ गतेबाट लागू हुने गरी साहसिक तथा पर्वतीय पर्यटकको खोज, उद्धार तथा अनुगमनसम्बन्धी कार्यविधि २०७५ जारी गरेको थियो । कार्यविधिको बुँदा नं. ३ (२) मा गाइड साथमा राखेर मात्रै पदयात्रा गराउनुपर्ने उल्लेख छ । ट्रेकिङ एजेन्सीहरुले पर्यटकलाई पदयात्रामा पठाउँदा अनिवार्य रुपमा गाइड पठाउने गरेका छन् । तर बोर्डले अनुमति दिएर पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) जारी गरी पठाउने पर्यटकले भने बिनागाइड भ्रमण गरिरहेका छन् ।

मन्त्रालयले पदयात्रामा जाने पर्यटकले अनिवार्य गाइड लैजानुपर्ने व्यवस्था कार्यान्वयन गर्न पर्यटन विभागलाई भदौ २४ गते पत्र पठाएको थियो । त्यसपछि विभागले भदौ ३१ गते पदयात्रामा पर्यटक पठाउँदा गाइड अनिवार्य पठाउन पर्यटन बोर्ड र टे«किङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) लाई पत्राचार गरेको थियो । विभागको निर्देशन अनुसार टानले पदयात्रामा जाने पर्यटकलाई गाइडबिना टिम्स कार्ड जारी नगरेको जनाएको छ । टानका अध्यक्ष नवराज दाहाल बिना गाइड पदयात्रामा पठाउन नपाईने नियम भएको बताउँछन् ।

यता पर्यटन बोर्डले भने दैनिक ४० जनाभन्दा बढी पर्यटकलाई टिम्स कार्ड दिइरहेको छ । बोर्डका सिइओ दीपकराज जोशीले मध्य सिजनमा दैनिक दुईदेखि तीन सयजना पर्यटक बोर्डबाट अनुमति लिएर पदयात्रामा जाने गरेको बताए ।

‘गाइडबिना पदयात्रामा पयर्टक पठाउन नहुने व्यवस्था राम्रो हो,’ जोशीले भने, ‘यसबारेमा जानकार हुँदाहुँदै पनि व्यवस्था कार्यान्वयन गर्न सकेका छैनौं ।’ एक्लै पदयात्रामा जाने पर्यटकलाई कम्पनीमार्फत पठाउने विषयमा दुविधा रहेकोले अहिले पनि पहिलेकै व्यवस्था अनुसार गाइड नलाने पर्यटकलाई टिम्स कार्ड दिँदै आईएको उनले स्वीकार गरे । बोर्डबाट टिम्स कार्ड लिएर पदयात्रामा जाने पर्यटक फ्री इनडिभिडुअल ट्रेकर (एफआइटी) हुन् । उनीहरुलाई अनिवार्य गाइड लिएर जानुपर्ने व्यवस्था गर्न गृहकार्य भइरहेको सिइओ जोशीले बताए ।

जोशीका अनुसार विश्व पर्यटन दिवस नजिकएकोले पनि गृहकार्य गर्न नभ्याएको बताए । पर्यटन दिवसपछि यसविषयमा विभाग र टानसँग बसेर छलफल गरी समस्या समाधान गर्ने उनको भनाई छ । विश्व पर्यटन दिवस सेप्टेम्बर २७ मा पर्छ ।

पर्यटन विभागले पनि पदयात्रामा जाने पर्यटकले अनिवार्य गाईड लिएर जानुपर्ने व्यवस्थाको अर्को विबल्प नभएको बताएको छ । विभागका प्रवक्ता सुरेन्द्र थापाले सुरक्षित पदयात्राको विकल्प भनेकै अनुभवी गाइड भएको बताए ।

बोर्डका अनुसार नेपाल आउने पर्यटकमध्ये सरदर २० प्रतिशत गाइडबिनै घुम्न जाने गरेका छन् । गाइडबिनै जाने पर्यटक बढी बेपत्ता हुने गरेको अभिलेख छ । नेपाल प्रहरीका अनुसार आव ०६९/७० मा ८ जना, ०७०/७१ मा १२ जना, ०७१/७२ मा १२ जना, ०७२/७३ मा १४ जना र ०७३/७४ मा १६ जना पर्यटक बेपत्ता भएका थिए ।

विभाग मार्फत पठाएको निर्देशनलाई बोर्डले नमानेपछि यस सम्बन्धमा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले कस्तो कदम चाल्छ, त्यो भने हेर्न बाँकी छ ? तर नेपालको पर्यटन क्षेत्रलाई संसारमै बद्नाम गराउने गरी भएको फेक रेस्क्युको धन्दालाई निस्तेज पार्न ल्याएको कार्यविधि पालना नगरेर बोर्डले सरकारलाई चुनौती दिएको सम्बन्धित क्षेत्रका विज्ञहरुको बुझाई छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved