चौरी गाई र सेताम्मे हिमाल : आहा ! कालिञ्चोक (संस्मरण)

निरोज कुमार थापा

निरोज कुमार थापा

Oct 10, 2018 | 02:21:18 PM मा प्रकाशित

laxmi  sunrise bank

‘राजधानीको धुँवा र धुलोबाट केही दिन भएपनि टाढा हुन पाए हुन्थ्यो नि’ भन्नेहरु मध्येको म पनि एउटा हुँ । त्यसैले काठमाडौँबाट पूर्वतिरको घुम्न निस्किए । यसको अवसर निलबाहारी ट्राभल एण्ड टूर्सले मिलाईदियो । 

काठमाडौँबाट बिहान ७ः३० बजे हामी दोलखाको प्रसिद्ध धार्मिक स्थल कालिञ्चोक तर्फ हानियौ । राजधानीबाट ३० किलोमिटर यात्रा गरेपछि हामी धुलिखेल पुग्यौ । त्यसपछि हिड्दै गरेको विपी राजमार्गलाई ‘ल है बाई बाई’ भन्दै अरनिको हाईवेलाई पछ्याउन थाल्यौ । धुलिखेलबाट केही मिनेट यात्रा गरेपछि हामीलाई लिएर हिडेका राम श्रेष्ठले खाजा खाने कुरो गरे । त्यसपछि केराघारीमा खाजा÷नास्ता गरेर हामीले फेरि हाम्रो यात्रालाई निरन्तरता दियौ । 

हाम्रो समूहमा ८ जना थियौँ । राम वेतोडले गाडी हुईक्याथे, हामी रमाइलो कुराकानी गर्दै हास्दै गाउँदै थियौँ । गाडीको अगाडी सिटमा बस्नु भएको ३५ वर्ष जतिकी दिदी हामीमध्ये अलि पाको उमेरको हुनुहुन्थ्यो । विभिन्न ठाउँको बारेमा जानकारी गराउनु हुन्थ्यो बाटोमा । 

हामी ८ जना गाडी चढेपछि हामीमध्ये कोही अलि शसंकित भएका थिए । ८ जनाको यात्रा लक्षिणायुक्त हुँदैन भन्ने जस्ता कुरा पनि भएका थिए । तर मलाई कुनै परवाह थिएन । त्यसको केही घण्टा गुडेपछि हामी खाडी चौर पुग्यौ । खाना खायौ अनि एकछिन सुनकोशी नदी किनारमा पनि घुम्न भ्यायौ । त्यसपछि हाम्रो यात्राले फेरि बाटो समायो । तर ८ जनाको यात्रामा अलिक कामुक देखिएकाहरुलाई अझ झसंग बनाउन गाडी अगाडीबाट विरालोले बाटो काट्यो । केही साथीहरु फेरि झस्किए । तर गाडी चलाईरहेका राम एक इन्च पनि हडबडाएनन् । उनको गाडी हकाईको रफ्तार जारी नै रह्यो । 

खाडी चौरबाट मुडेतर्फ जाने बाटो सुरु भयो । अनि मुटुले एकाएक ढ्याङ्ग्रो बजाउन थाल्यो । निकै सकस तर रमाईलो भयो यात्रा । जसोतसो मुडे बजार निस्केपछि मनमा शान्ति भयो । तर फेरि चरिकोटसम्मको बाटो नै खराब छ भन्ने जानकारी पाएपछि मन भारी भयो । हामीलाई बाटो राम्रो छ, सजिलै पुगिन्छ भन्दै राम डाडस दिन्थे । उनको कुरामा फरुक्क भईन्थ्यो । 

विस्तार विस्तार चिसो अनुभव हुन थाल्यो । हामी खरिढुङ्गा पुगेका थियौ । वरीपरि हुस्सु थियो, शरीर चिसो भएको थियो । तर पनि मनमा छुट्टै किसिमको फुरुङ्ग छाईरहेको थियो । बसबाट एकछिन ओर्लियौ । केही फोटाहरु खिच्यौ । सडकको काम गर्दै गरेका बा हरुसँग २/४ मिनेट बात मारियो । अनि हामी चरिकोट बजार हेर्दै हिड्यौ । 

खरिढुङ्गाबाट अलिक तल झरेपछि घाम देखियो, शरीरमा घामको किरण सम्म नपरेपनि घाम देख्दैमा तातो अनुभव भयो । बाटा विग्रिएको भएपनि हामी सजहै चरिकोट पुग्यौ । 

होटल प्याराडाइजमा बास बस्ने निधो गरेर नै हामी यात्रामा निस्किएका थियौँ । त्यहाँ पुगेर फ्रेस भएर हामीले चिया पियौँ । होटलको बनावट देख्दा निकै खुशी लाग्यो । साना साना कटेज बनाईएको एक जनालाई एउटा कटेज । निकै शान्त ठाउँ । हुनत चरिकोट यसअघि पनि बसेको ठाउँ नै हो, तर पनि यति शान्त र आनन्दको अनूभुति गर्न पाईएको थिएन । 

त्यसपछि दोलखा भिमेसनको मन्दिरमा गयौँ । त्यहाँ हामी पुग्दा ठिक्क आरतीको बेला भएको रहेछ, हामी पनि सरिक भयौ । निलबाहारीका सञ्चालक समेत रहेका राम हामीलाइृ दोलखामा सुरक्षित अवतरण गराएकोमा खुशी थिए । म पनि खुब खुशी थिए । 

भिमसेनको मन्दिर वरिपरी घुम्यौ, रात परिसकेको थियो । त्यसैले धेरै दृश्य देखिएन । तर पनि हामी दर्शन गर्न पाएकोमा खुशी थियौ । मेरो त वर्षौअघिदेखीको त्यहाँ पुग्ने धोको थियो तर पाएको थिइन । रहर पूरा गरिदिएकोमा रामलाई धन्यवाद दिए । दर्शन सकेर फर्किएपछि टिनको भाडोमा आगो बालेर एकछिन तापियो । गित गाउँदै नाचियो पनि । अनि थकाइले लखतरान भएको ज्यानलाई विस्तारामा पल्टाईयो । 

भोलिपल्ट ६ बजे कालिञ्चोक जाने भनिएकोले चाडै उठियो । सबै साथीहरु तयार प्रायः थिए । अनि एक कप चिया पिएर चिसोमा सिउ सिउ गर्दै उकालो लागियो । बाटोमा चौरी गाईहरु चरेका देखिन्थे । निकै मनमोहक प्राकृतिक दृश्यले मन साँच्चै लोभ्याएको थियो । बाटो केही विग्रेको भएपनि यात्रा आनन्दित नै भयो । डाँडाकाडा हेर्दै, हरिया चौरका थुम्किहरुमा बस्दै, गुराँसका पोथ्राहरु हेर्दै हिड्नुको मजा बेग्लै थियो । 

१ घण्टा २० मिनेट जति गाडीको यात्रापछि कुरी बजार पुगियो । त्यहाँ एकै नासका घरहरु देख्दा साँच्चै रमाइलो लाग्यो । बन्दै गरेको केबुलकार पनि हेरियो । परीक्षण सफल भएपनि आगामी मंसिरबाट मात्रै सञ्चालनमा ल्याउने गरी काम भईरहेको रहेछ । 

हजार ५ मिटर उचाईको कुरीबजारबाट माथी कालिञ्चोक डाँडो देखिन्थ्यो । गाडी बजारमा राखियो । हामी उकालो लाग्यौ ।  

निकै टाकुरोमा तर नजिकै देखिन्थ्यो कालिञ्चोक, फुत्तै २÷४ मिनेटमा पुगिएला जस्तो । तर हिड्दै जाँदा १ घण्टा ठ्याक्कै लाग्यो । कुरी बजारबाट १ घण्टा उकालो हिडेपछि ३८०० मिटरको उचाइमा रहेको कालिञ्चोक पुगियो । राम सर, म र एकजना राम सरको दाइ कालिञ्चोक पुगेर दर्शन गरेर, आराम गरिसक्दा पनि काठमाडौँबाट सँगै हिडेका ४ जना पुगेनन् । हामी कुरेर बस्यौ । 

मन्दिरबाट हात लम्काउँदा पनि छुन सकिन्छ कि जस्तो ठाउँमा गौरिशङ्कर हिमाल उभिएको थियो । त्यसका केही थान तस्बिर कैद गरियो । हामी पुग्दा छ्याङ्ङ खुलेको डाँडो केही बेरमै अध्यारे हुन थालिहाल्यो । चिसो पनि भयो । चौरी गाईको दुधबाट बनेको छुर्पी खायौ । साथीहरु आए, दर्शन गरे अनि फर्कियौ । 

दर्शन सकेर चरिकोट आइपुग्दा १ः३० भएको थियो । खाना खाएर हिड्दा २ः३० भयो । 

त्यसपछि गएको बाटो नर्फकने भन्दै हामी चरिकोट–तामाकोशी–खिम्ती–मन्थली–खुर्कोटको बाटो काठमाडौँ फर्किने निधो गर्यौ । मन्थली हुँदै जाने भनेपछि मनमा आनन्द महशुस भयो । 

चरिकोट आउँदाको भन्दा धेरै राम्रो बाटो है भन्दै कुराकानी गर्दै हामी मन्थली पुग्यौ । मन्थली मेरो गृहनगर पनि हो । बाटोमा धेरै चिनेका मानिसहरु पनि देखियो, तर बोलन पाइएन । रामेछाप कप फुटबलको लागी दिपशिखा ब्वाइज युनाइटेडले मर्मत गर्दै गरेको खेल मैदान, मन्थली एअरपोर्ट, होटचौर, बसपार्क हेर्दै मन्थली भन्ज्याङसम्म आइपुगियो । म मन्थली फाँटका दृश्य देखाउँथे, तामाकोशी देखेर साथीहरु चकित पर्थे । 

वर्षौसम्म बसेको र आफ्नो थलो भएर पनि होला, मन्थलीलाई स्पर्श गर्दै गाडी गुड्दा पनि मेरो शरीरमा सिरिङ्ग हुन्थ्यो । मनले बस भनेपनि कर्मथलोले तानिरह्यो । मनलाई गाठो पार्दै घरछेउको बाटो काटियो । 

त्यसपछि खुर्कोट हुँदै हामी विपी हाइवेको बाटो हुईकियौ । साँझको ६ बजे खुर्कोटबाट हिडेको हामी सवा ८ बजे धुलिखेल आईपुग्यौ । त्यसको १ घण्टामा काठमाडौँ ओर्लियौ । 

समग्रमा दोलखा यात्रा गजब रमाइलो भयो । चौरीको छुर्पीको स्वाद र सेतो हिमालको दृश्य अहिले पनि आँखा वरीपरी छ । यो अवसरको लागी निलबाहारी ट्राभल एण्ड टूर्सलाई धन्यवाद ।









Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved