विभिन्न देशका पर्यटन दूतले काम नगरेपछि नयाँ दूत नियुक्त गर्दै पर्यटन बोर्ड

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 16, 2018 | 01:58:00 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पर्यटन बोर्ड पर्यटन प्रवद्र्धनको मुख्य निकाय हो । सरकारी स्तरबाट घोषणा भएका कार्यक्रम र नेपालको पर्यटनलाई अन्तराष्ट्रिय स्तरमा प्रचार गर्ने मुख्य निकाय र जिम्मेवारी प्राप्त संस्था हो पर्यटन बोर्ड । बोर्डले विदेशमा नेपालको पर्यटन प्रवद्र्धन गर्न पर्यटन दूत पनि नियुक्ति गर्दै आएको छ ।
तर अहिले नियुक्त भएका अधिकांश पर्यटन दूतहरुले काम नगरेपछि बोर्डे नयाँ नियुक्तिको तयारीमा छ । भएका दूतहरुको म्याद सकिएको र उनीहरुको म्याद थप्ने निर्णय बोर्डले नै गर्नुपर्छ । पहिला नियुक्ति भएकाको म्याद सकिएपछि धेरैजसो देशमा नयाँ दूत बनाउने बोर्डको तयारी छ ।
पहिला नियुक्त भएका दूतहरु राजनीतिक विचारका आधारमा काम गर्ने गरेको पाईएको बोर्डको निष्कर्ष छ । बोर्डमा राजनीतिक विचार र आस्थाका आधारमा काम नहुने भन्दै बोर्डले निष्पक्ष व्यक्तिलाई दूत बनाउने तयारी थालेको हो ।
‘‘पहिला नियुक्त भएका धेरै पर्यटन दूतहरु राजनीतिक व्यक्ति रहेछन्, उनीहरुबाट जिम्मेवारी पूरा नभएको पाईयो त्यसैले नयाँ राख्न लागिएको हो’’ विभागका प्रवक्ता आदित्य बरालले भने । २ देखी ३ महिना भित्रमा यसअघि पर्यटन दूत भएका देशहरुमा नयाँ नियुक्त गरिसक्ने गरी तयारी भईरहेको उनको भनाई छ ।
कस्ता मान्छेलाई बनाउँदैछ बोर्डले पर्यटन दूत
नेपालले सन् २०२० सम्ममा २० लाखबढी पर्यटक भित्र्याउने उदेश्यसहित घोषणा गरेको ‘भिजिट नेपाल २०२०’ लाई लक्षित गरी बोर्डले विदेशमा पर्यटन दूत बनाउन लागेको हो । बोर्डले आफ्नै स्रोतसाधन भएका, जुन देशमा बसोबास गर्ने हो त्यही देशको नागरिकता लिएका र आफ्नै खर्च गर्न सक्ने खालका व्यक्तिलाई नियुक्त गर्ने तयारी छ । यसअघि भनसुन र राजनीतिक आडमा पर्यटन दूतमा नियुक्त भएकालाई हटाएर काम गर्न सक्ने खालका व्यक्तिलाई राख्न लागिएको प्रवक्ता बरालको भनाइ छ । बोर्डले पर्यटन दूत नियुक्तिका लागि छनौट समिति पनि बनाउने भएको छ ।
पर्यटन दूत बन्नका लागि सम्बन्धित देशको राजदूतावासको सिफारिस अनिवार्य गरिएको छ । नियुक्त भएका पर्यटन दूतहरुले नेपालको विषयमा प्रचार प्रसार गर्नुपर्ने हुन्छ । प्रचारका लागि प्रचार सामग्री पर्यटन बोर्डले उपलब्ध गराउने छ । उनीहरुले त्यहाँका हवाई कम्पनी, कलेज तथा वैदेशिक नियोगहरुमा नेपालको प्रचार गर्ने, नेपाल जानुपर्छ भनेर उत्प्रेरणा जगाउने, भिसा प्रक्रियाका विषयमा सहयोग गर्ने काम गर्नुपर्छ । पर्यटन दूत बनेवापत् उनीहरुले कुनै सरकारी सुविधा पाउने छैनन् । तर उनीहरु आफैंले सचिवालय स्थापना गराउनुपर्ने प्रावधान छ ।
अहिले क्यानडा, आयरल्यान्ड, स्विट्जरल्यान्ड, थाइल्यान्ड, न्युजिल्यान्ड, बेलायत, कतार, कोरिया, पोर्चुगल र नर्वेमा एक एक जना पर्यटन दूत छन् । चीन, डेनमार्क, बेल्जियम, फ्रान्स, नेदरल्यान्ड र सिङ्गापुरमा दुई दुई जना छन् भने जर्मनी, जापान, रसिया र स्वीडेनमा तीन तीन जना नेपाली पर्यटन दूत छन् । स्पेनमा चार, अष्ट्रेलियामा पाँच तथा अमेरिकामा आठ जना पर्यटन दूत छन् ।
नयाँ नियुक्त गर्दा कुन कुन देशमा हाल कायम रहेकालाई पुनः म्याद थप्ने र कुन कुन देशकालाई हटाएर नयाँ नियुक्ति गर्ने बारे बोर्डलेअहिले केही बोलेको छैन ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved