फस्टाउँदो बाघ पर्यटन र पर्यटन उद्योग

निरोज कुमार थापा

निरोज कुमार थापा

Jan 02, 2019 | 04:08:38 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा पर्यटनका विभिन्न सम्भावना मध्येको एउटा हो Tiger Tourism (बाघ पर्यटन) । यसलाई नेपालमा धेरै सम्भावना मानिन्छ । नेपालमा पाइने पाटे बाघ हेर्न विभिन्न देशबाट पर्यटक नेपाल आउँछन् । चितवन राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्ज बाघका लागी प्रसिद्ध ठाउँ हुन । मानव र जनावरबीच एक पृथक सम्बन्ध विस्तार गर्न पनि बाघ पर्यटन उपयुक्त माध्यम हो ।

बाघ संरक्षणका लागि स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्जमा बाघ बढ्दै गएका छन् । बाघको संख्या बढेपछि स्थापनाको छोटो अवधिमा बाँके राष्ट्रिय निकुञ्ज अहिले टाइगर टुरिजम क्षेत्रका रूपमा विकास हुँदै गएको छ । निकुञ्ज क्षेत्रमा वन र घाँसे मैदान निकै कम छ । बन र घाँसे मैदान कम भएपछि निकुञ्ज र मध्यवर्ती क्षेत्रमा बाघ सजिलै देख्न पाईन्छ ।

बाँके राष्ट्रिय निकुञ्ज नेपालकै कान्छो निकुञ्ज हो । ७ वर्षअघि स्थापना भएको यो निकुञ्जमा सन् २०१५ मा ७ वटा वयस्क र २ डमरु गरी जम्मा ९ वटा पाटेबाघ भेटिएका थिए । अहिले उक्त निकुञ्जमा बाघको संख्या बढ्दै छ । ५ सय ५० वर्ग किलोमिटर वन क्षेत्र र ३ सय ४३ वर्ग किलोमिटर मध्यवर्ती क्षेत्रमा निकुञ्ज फैलिएको छ । बाँके निकुञ्जमा भारतीय निकुञ्ज सुहेलवाबाट हात्ती र बाघ आउजाउ गर्छन् ।

बाँके सँगै जोडिएको बर्दिया राष्ट्रिय निकुञ्ज पनि बाघको लागी प्रसिद्ध छ । बर्दियामा पाटेबाघसँगै गैँडा, जङ्गली हात्ती लगायतका वन्यजन्तु पाइन्छन् । बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको बासस्थान राम्रो छ । गर्मी महिनामा बाघ पानीमा पौडिन बाहिर निस्किन्छ । निकुञ्जभित्रै रहेको कर्णाली नदीको भँगालो किनारमा गर्मीमा बाघ नुहाउन आउँछन् ।

पछिल्लो गणना अनुसार पचास वटा वयस्क, छ वटा अर्ध वयस्क पाटेबाघ रहेको बर्दिया राष्ट्रिय निकुञ्जमा ३७ वटा गैँडा, १०० भन्दा बढी जङ्गली हात्ती, ३० हजार भन्दा बढी चित्तल लगायतका वन्यजन्तु छन् । तराई क्षेत्रको सबैभन्दा ठूलो संरक्षित क्षेत्रका रुपमा रहेको बर्दिया राष्ट्रिय निकुञ्ज ९६८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

तराई क्षेत्रका यि दुई बाहेक चितवन राष्ट्रिय निकुञ्ज पनि बाघको लागी उत्तिकै उपयुक्त स्थान हो । पर्सा र शुक्लाफाँटा पनि बाघको लागी उपयुक्त बासस्थान हुन् । विश्वका १३ देशमा मात्र बाघ पाइन्छ । एसियाको नेपाल, भारत, बंगलादेश, थाइल्यान्ड, इन्डोनेसिया, भुटान, लाओस, म्यानमार, उत्तर कोरिया लगायतका देशमा बाघ पाइन्छ । सय वर्षअघि लाखको हाराहारीमा रहेका बाघको संख्या अहिले ३ हजारमा सिमित छ ।

मकालु एडभेन्चर प्रा.लि.ले २ महिना अघि बाघ संरक्षणसँगै पर्यटन प्रवद्र्धन अभियान सुरुवात गरेको थियो । बाघको संरक्षणसँगै पर्यटन प्रवद्र्धनका यस्ता अभियानले नेपालमा बाघ पर्यटनको सम्भावना ज्यादै रहेको प्रष्ट पार्छ ।

संसारको एउटा पृथक देश नेपाल, जहाँ डरलाग्दा जनावरहरुसँग सँगसँगै हिडडुल गर्न पाइन्छ । अहिले नेपालमा बाघको संख्या २ सय ३५ छ ।

निकुञ्जमा बाघ हेर्न पर्यटक आउने क्रम बढेपछि नजिकैका होटल तथा होमस्टेमा व्यापार बढेको छ । तराई क्षेत्रमा चुरे पर्वत श्रृङ्खला नजिकैका बजार क्षेत्रमा रहेका होटलहरु बाघ हेर्न जाने पर्यटकले भरिन्छन् । ग्रामिण पर्यटनको अगुवाई गरिरहेका होमस्टेको विकासका लागी बाघ पर्यटन एउटा सहज उपाय हो । सँगै बाघ मार्फत नेपालको पर्यटन उद्योगलाई अझ फराकिलो बनाउन सकिने विज्ञहरुको भनाई छ । यसरी मौलाउँदै गएको बाघ पर्यटनले नेपालको समग्र पर्यटन उद्योगमा शुभ संकेत देखाएको व्यवसायीहरु बताउँछन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved