सरकारको ‘संघीय पर्यटन विधेयक’ विरुद्ध १३ संस्थाको छुट्टै मस्यौदा

निरोज कुमार थापा

निरोज कुमार थापा

Jan 07, 2019 | 04:48:57 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले ‘संघीय पर्यटन विधेयक, २०७५’ को प्रारम्भिक मस्यौदा तयार पारेपछि १३ संस्थाले छुट्टै मस्यौदा तयार पारेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार पारेको ‘संघीय पर्यटन विधेयक, २०७५’ को प्रारम्भिक मस्यौदामा धेरै बिषय छुटेको भन्दै आफ्नो छुट्टै मस्यौदा तयार पारेका हुन् ।

मन्त्रालयले तयार पारेको मस्यौदामा टुर तथा ट्रेकिङ्ग, पर्यटन यातायात, होम स्टे लगायतका पर्यटन क्षेत्रसँग सम्बन्धित पक्षलाई समेट्न नसकेको भन्दै संस्थाहरुले छुट्टै मस्यौदा तयार पारेका हुन् । उनीहरुले मन्त्रालयले तयार पारेको मस्यौदा पुनर्लेखन गर्न सुझाव दिएका छन् ।

मस्यौदा पुनर्लेखन गर्न सुझाव दिने संस्थाहरु ट्रेकिंङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान), नेपाल पर्वतारोहण संघ (एनएमए), होटेल एसोसियसन नेपाल (हान), नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा), होम स्टे एसोसियसन नेपाल (होसान) हुन् ।

त्यस्तै एक्सपेडिसन अपरेटर्स एसोसियसन नेपाल, सोसाईटी अफ ट्राभल एण्ड टुर अपरेटर्स, हिमालयन रेस्क्यु एसोसियसन नेपाल, नेपाल एसोसियसन अफ र्याफ्टिङ्ग एजेन्सीज, नेपाल टुरिष्ट भेहिकल एसोसियसन, नेपाल एसोसियसन अफ टुर अपरेटर्स, टुरिष्ट बस एसोसियसन नेपाल, रेस्टुरेन्ट एण्ड बार एसोसियसन नेपाल रहेका छन ।

पर्यटन क्षेत्रमा काम गर्दै आएका संस्थाहरुले तयार पारेको मस्यौदा पर्यटन विभागका महानिर्देशक दन्डुराज घिमिरे मार्फत पर्यटनमन्त्री रविन्द्र अधिकारीलाई पठाईएको छ ।

मस्यौदा पठाउन विभाग पुगेका नेपाल पर्यटन बोर्डका सदस्य कृष्ण अर्यालले पर्यटन विकासका लागि प्राधिकरण नै बनाएर अगाडी बढ्नुपर्ने सुझाव आएको र यसबारे संसद्को पर्यटन तथा कानुन हेर्ने समितिसँग समेत छलफल गरिने बताएका छन् । टानका अध्यक्ष नवराज दाहालले मन्त्रालयले तयार गरेको मस्यौदा संघिय पर्यटनको मर्म विपरीत रहेकाले आफूहरुले सुझाव सहित मस्यौदा पठाएको बताए । उनले मन्त्रालयले मस्यौदा पुर्नलेखन गर्नेमा विश्वस्त रहेको जनाए ।

अहिले लागु भईरहेको पर्यटन ऐन २०३५ समय सापेक्ष नभएको भन्दै नयाँ  विधेयक ल्याउने तयारी भइरहेको छ । देशमा परीक्षणको क्रममा रहेको संघीयतालाई सम्बोधन गर्ने गरी विधेयक ल्याउने तयारी भईरहेको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नयाँ विधेयकको मस्यौदा तयार पारेको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved