‘होटल खाली, गतिविध सामान्य,’ ‘१२ लाख पर्यटक कहाँ बसे ?’

निरोज कुमार थापा

निरोज कुमार थापा

Jan 11, 2019 | 02:29:11 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले १२ लाख विदेशी पर्यटक नेपाल आएको तथ्यांक सार्वजनिक गरेपछि यसको विषयमा विभिन्न कोणबाट व्याख्या हुन थालेको छ । कसैले संख्याका विषयमा विमति राख्नुपर्ने कारण नभएको बताएपनि कतिपयले संख्यामै आशंका उब्जाएका छन् ।

सन् २०१८ मा स्थल र हवाईमार्गबाट ११ लाख ७३ हजार ७२ पर्यटक आएको तथ्यांक छ । गत वर्ष ९ लाख ४० हजार २ सय १८ पर्यटकले नेपाल भ्रमण गरेका थिए । सरकारले यो संख्यालाई ‘ऐतिहासिक’ भनेको छ । यसअघि १० लाख पर्यटक नेपाल आएको खुशीयालीमा केक समेत काटियो ।
९ लाख ६९ हजार २ सय ८७ पर्यटक हवाई र २ लाख ३ हजार ७ सय ८९ पर्यटक स्थलमार्गबाट नेपाल भित्रिए । स्थलमार्गबाट भित्रिनेमा सबैभन्दा बढी भैरहवा नाकाबाट १ लाख ६५ हजार पर्यटक भित्रिएको तथ्यांक छ ।

संख्यामा आशंका

पर्यटन शिक्षाका विषयमा अनुभव बटुलेका एकजना प्रोफेसरका अनुसार बोर्डले सार्वजनिक गरेको १२ लाख पर्यटकको गणना विश्वास गर्न नसकिने बताउछन् । कतारबाट आएको नेपाली, विदेशबाट विभिन्न व्यवसाय गर्न नेपाल आएका व्यवसायी, आइएनजिओ तथा एनजिओकर्मीहरुलाई समावेश गरेर गणना गरिएको तथ्यांक देखाउने काम मात्रै भएको तीनको भनाई छ ।

‘नेपालका होटलको क्षमता १० लाख बढी पर्यटक धान्न सक्ने छँदैछैन, आएका तेत्रा पर्यटक कहाँ गएर बसे ?’ प्रश्न गर्दै भने ।

ट्रेकिङ एजेन्सीज एशोशियसन अफ नेपाल (टान) का अध्यक्ष नवराज दाहालले पनि पर्यटन बोर्डको काम गराईप्रति असन्तुष्टि जनाए । व्यवसायीको सल्लाह र सहभागीता बिना नै बोर्ड एक्लैले गर्दा पर्यटक आएको जसरी प्रचार गरिएको भन्दै उनले असन्तुष्टि जनाए ।

‘अहिले जति पर्यटक आएका छन् ती सबै निजी क्षेत्रको बलले मात्रै आएका हुन’ दाहालले बिजपाटीलाई भने, ‘विभिन्न व्यवसाय गर्न, आइएनजिओ, एनजिओ चलाउन आएकालाई पनि पर्यटकका रुपमा गणना गरेर पुर्याईएको १२ लाखले कुनै योगदान पुग्दैन ।’

दाहालका अनुसार २०२० लाई हल्ला गर्न बोर्डले निजी क्षेत्रको सहभागीता बिना नै नेपाल आउने पर्यटकको संख्या २५ प्रतिशतले बढेको भन्नु गलत हो । ‘चाइनाबाट नेपाल हुँदै भारत जाने, भुटान जानेलाई पनि गनेर १२ लाख पुर्याईएको हाम्रो निश्कर्ष हो, यो सफल भएको देखाउने प्रपोगांडा मात्रै हो’ दाहालले भने ।

लामो समयदेखि विदेशी पर्यटकलाई र्याफ्टिङ गराइरहेका चन्द्रबहादुर दाहाल पनि पर्यटकको संख्या बढेको मान्न तयार छैनन् । ‘विदेशबाट आएका टुरिस्ट सबैभन्दा पहिले ठोकिने भनेको व्यवसायीसँगै हो,’ उनले भने, ‘तर सरकारले २४ प्रतिशतले टुरिस्ट बढेको भने पनि हाम्रो व्यवसाय ५ प्रतिशतले पनि बढेको छैन ।’ पछिल्लो समय र्याफ्टिङमा विदेशीभन्दा स्वदेशी पर्यटकको संख्या उत्साहजनक रहेको उनले बताए । ‘हामी एक दिनको प्याकेज लिएर र्या्फ्टिङका लागि जान्छौँ,’ उनले भने, ‘बिहान हिँड्यो भने जामले गर्दा ३ बजे त्रिशूली पुगिन्छ, अनि कति बेला र्याफ्टिङ गर्ने ?’

नेपाल माउन्टेयरिङ एसोसियसनका पूर्वअध्यक्ष जिम्बा जङ्बु शेर्पा भूकम्पले थिलथिलो भएको नेपालको पर्यटन क्षेत्र विस्तार उठ्न लागेको बताउँछन् । ‘भूकम्पपछि नेपालमा आउने पर्यटकको संख्या घटेको थियो, उनी भन्छन, ‘तर, गत वर्षभन्दा अहिले धेरै बढेजस्तो लाग्दैन ।’ उनका अनुसार तथ्यांकमा आएका भनिएकामध्ये २० प्रतिशत एनआरएन छन् ।

रेस्टुरेन्ट एन्ड बार एसोसियसन (रेबन) का पूर्वअध्यक्ष तेजेन्द्रनाथ श्रेष्ठ पनि पर्यटको संख्या बढेको विषयमा सन्तुष्ट दखिएनन् । उनी भन्छन, ‘अक्टोबर र नोभेम्बरमा होटल केही प्याक देखिए पनि अहिले खाली प्रायः छन्, यस्तो अवस्थामा कसरी पर्यटक बढेको मान्ने ?’

टुरिस्ट गाइड एसोसियसनका अध्यक्ष केदार तामाङ पनि गत वर्षको तुलनामा पर्यटक नबढेको बताउँछन् । उनी भन्छन, ‘म २२ वर्षदेखि टुरिस्ट गाइड गरिरहेको छु, पहिले जस्ता खालका टुरिस्ट आउथेँ, अहिले त्यस्ता आएकै छैनन्, क्वालिटी नभएका मात्रै आउँछन् ।’

पर्यटकको परिभाषा फेरौँ 

पर्यटन व्यवसायीले पर्यटनको परिभाषा फेर्न आग्रह गरेका छन् । अहिले २४ घण्टाको लागी घर छोडेर हिडेपछि त्यसलाई पर्यटक मानेको छ । यो विश्वव्यापी मान्यता हो ।

रेबनका पूर्वअध्यक्ष तेजेन्द्रनाथ श्रेष्ठ सबैभन्दा पहिले टुरिस्टको पहिचान गरेर वर्गीकरण गर्नुपर्ने बताउँछन् । उनले भने, ‘संख्यालाई भन्दा पनि पर्यटकको खर्च गर्ने स्तर हेर्नुपर्छ ।’

यस्तै, माउन्टेयरिङ एसोसियसनका पूर्वअध्यक्ष जिम्बा जङ्बु शेर्पा नेपालमा १० दिन ‘टुरिजम एक्टिभिटिज’ गर्नेलाई मात्र टुरिस्ट भन्नुपर्ने बताउँछन् । एक रात बस्न नेपाल आउने, ट्रान्जिट भएर भारत, चीन वा तेस्रो मलुक जानेलाई पर्यटक मान्न नहुने उनको भनाई छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved