नेपालीले पाँच महिनामा विदेश घुमेरै सके ४१ अर्ब

निरोज कुमार थापा

निरोज कुमार थापा

Jan 20, 2019 | 02:07:46 PM मा प्रकाशित

laxmi  sunrise bank

सन् २०१८ को समाप्तिसँगै नेपालमा पर्यटन आगमनले नयाँ उचाई लिएको खबरले सनसनी मच्चायो । पर्यटन सम्बद्ध निकायले १२ लाख बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेको भन्दै केक काटेर खुशीयाली बाढे । तर निजी क्षेत्रले भने अझैपनि पर्यटन आगमनको संख्यामा नै असन्तुष्टि जनाइएका छन् । कतिपयले संख्यामा आपत्ति नजाएपनि गुणस्तरीय पर्यटक भने ल्याउन नसकिएको बताईरहेका छन् ।

संख्यात्मक हिसाबमा आएका पर्यटकबाट भएको आर्थिक लाभ र यसको तुलनामा हामीले विदेश जाँदा गर्ने खर्चको अनुपातका विषयमा हालसम्म कोही बोलेका छैनन् । किनभने नेपालीले विदेशमा गर्ने खर्चको तुलनामा विदेशीले नपालमा गर्ने खर्च निकै कम छ ।

चालु आर्थिक वर्षको पाँच महिनामा पर्यटनबाट नेपालले ३१ अर्ब ८८ करोड रुपैयाँ विदेशी मुद्रा आर्जन गरेको छ । तर, यही अवधिमा विदेश घुम्न जाने नेपालीले ४१ अर्ब ३३ करोड रुपैयाँ खर्च गरेका छन् ।

व्यापार घाटाको उचाईले मात्रै शिखर छुन आँटेको छैन, पर्यटनबाट भएको घाटा पनि डरलाग्दो छ । पाँच महिनामा मात्रै पर्यटनबा भएको घाटा ९ अर्ब ४५ करोड छ । विदेशी पर्यटक आउने मुख्य सिजनमा भएको यो घाटाले पर्यटन उद्योगको लागी शुभ संकेत नदेखाएको व्यवसायीको भनाई छ ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तीन वर्षको तथ्यांकअनुसार पर्यटन उद्योगबाट नेपालले गर्ने आम्दानीभन्दा नेपालीले विदेशमा गएर गर्ने खर्च ४८ अर्ब ५५ करोड रुपैयाँले बढी छ । २०१७/१८ मा विदेशी पर्यटकले नेपालमा करिब ६७ अर्ब ९ करोड ४६ लाख रुपैयाँ खर्च गरेका छन् । तर, नेपालीले विदेशमा गएर गरेको खर्च भने ७९ अर्ब ५९ करोड ६५ लाख छ । यसको मतलब हामीले विदेशमा गएर गर्ने खर्च १२ अर्ब ५० करोड १९ लाख रुपैयाँले बढी हो ।

सन् २०१६/१७ मा विदेशी पर्यटकले नेपालमा ५८ अर्ब ५२ करोड ६९ लाख रुपैयाँ खर्च गर्दा नेपालीले विदेशमा गएर गरेको खर्च २१ अर्ब ४० लाख रुपैयाँ बढी अर्थात् ७९ अर्ब ९२ करोड ६९ लाख रुपैयाँ छ । सन् २०१५/१६ मा पनि विदेशीले नेपालमा गरिने खर्चभन्दा नेपाली पर्यटकले विदेशमा गर्ने खर्च १४ अर्ब ६५ करोड ३१ लाख रुपैयाँले बढी थियो ।

नेपालीले विदेश भ्रमणमा जाँदा खर्च गरेको जहाजको टिकट रकम समेत यसमा जोडिएको छ । ‘नेपालमा अन्तर्राष्ट्रिय उडान गर्ने २९ मध्ये २६ अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले सेवा दिइरहेका छन्, यसबाट ठूलो रकम बाहिरिएको छ’, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले भने ।

नेपालीको औसत वार्षिक आम्दानी १ हजार ४ अमेरिकी डलर छ । यति सामान्य आम्दानी गर्ने नेपालीले विदेशमा घुम्ने क्षमता राख्दैनन् । विदेश भ्रमणमा जानेमा सरकारी कर्मचारी र केही धनी मानिसहरु मात्रै छन् । विज्ञहरु नेपालीको विदेश घुमाईले देशमा धनी र गरिबबीचको खाडल झनझन बढेको बताउँछन् । नेपालीको विदेश मोहका कारण यति ठूलो घाटा बेहोर्नु परेको उनीहरुको बुझाई छ ।

‘आर्थिक विकासको मेरुदण्डका रुपमा परिभाषित गरिएको पर्यटन उद्योग समेत घाटामा रहेपछि यसले देशको कुल ग्राहस्थ उत्पादनमा पुर्याउने योगदान कसरी बढ्न सक्छ ? यो प्रश्न सरकारका सामु खडा भएको छ’ एक जना पर्यटन विद्ले भने ।

नेपालबाट रोजगारीका लागि विदेशिने कामदारको संख्या घटे पनि अध्ययनका लागि बाहिरिने विद्यार्थी तथा पर्यटकका रूपमा घुम्न जाने नेपाली, कर्पोरेट हाउस तथा अन्तर्राष्ट्रिय ब्राण्डका बिक्रेताको प्रोत्साहन यात्रा (इन्सेन्टिभ टुर) मा जाने नेपालीको संख्या बढिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved