अन्तराष्ट्रिय मिडियामा नेपालको नकारात्मक प्रचार, दोषीलाई कारबाही नभए रकम रोक्ने चेतावनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 27, 2019 | 11:50:13 AM मा प्रकाशित

laxmi  sunrise bank

अन्तर्राष्ट्रिय बिमा कम्पनीले नेपालमा आएका पदयात्रीलाई उद्धारको नाममा ठगी गर्नेलाई कारबाही नभए आफूहरुले रकम उपलब्ध नगराउने चेतावनी दिएका छन् । सगरमाथा आसपासमा पदयात्रामा गएका विदेशीलाई हेलिकोप्टरमार्फत उद्धार गर्ने कार्यमा भइरहेको ठगीका विषयमा छानबिन गरी दोषीलाई कारवाही नगरे आफूले रकम उपलब्ध नगराउने भन्दै शुक्रबार नेपाल सरकारलाई सो चेतावनी दिएका हुन् ।

गतवर्ष नेपाल सरकार र आयरल्याण्डस्थित मेडिकल सम्बन्धी सहयोग गर्ने कम्पनी ट्राभलर एसिस्टले गरेको अनुसन्धानका क्रममा केही ट्रेक अपरेटर, गाइड, हेलिकोप्टर कम्पनी तथा चिकित्सक तथा अस्पताल मिलेर सामान्य बिरामीलाई उद्धार गराएर दशौं लाख अमेरिकी डलर बिमा कम्पनीसँग दाबी गरेको पाइएको थियो ।

नेपाल सरकारले त्यो बेला केही गाइडहरुले नियोजित रुपमा खानामा बेकिङ सोडा प्रयोग गरेको र त्यसले गर्दा बान्ता, झाडापखाला लगायतका समस्या देखिने हुँदा पदयात्रीलाई हेलिकोप्टरमार्फत अन्यत्र लग्ने गरेको पाएको जनाइएको छ ।

यसरी बिरामीको उद्धार गर्दा ४० हजार अमेरिकी डलरसम्म खर्च हुने गरेको जनाइएको छ । त्यसपछि सो बिल बिमा कम्पनीमा पठाउने गरिएको छ । “किन सरकारले अझै ठगी र कर छली गर्ने १७ वटा नेपाली कम्पनी विरुद्ध अभियोग दर्ता गरेको छैन ?” ट्राभलर एसिस्टका प्रबन्ध निर्देशक जोनाथन बान्क्रोफ्टले प्रश्न गरे ।

नेपालका पर्यटन मन्त्रीलाई शुक्रबार बान्क्रोफ्टले पठाएको पत्रमा ती कम्पनीहरु जो अहिले पनि व्यवसाय सञ्चालन गरिरहेका छन् उनीहरुविरुद्ध सरकारले अभियोग दर्ता नगरेमा फेब्रुअरी १५ (आगामी फागुन ३ गते) देखि बिमा बापतको रकम नदिइने चेतावनी दिइएको छ । “प्रष्ट होऔं, यो अल्टिमेटम हो,” बान्क्रोफ्टले लेखेका छन् ।  

पत्रमा यदि हाम्रा ग्राहकलाई नेपाल यात्राको लागि बिमा इश्यु गर्न बन्द गर्ने नीति बनाइयो भने अन्यले पनि त्यसै गर्ने र त्यसले नेपालको पर्यटन उद्योगमा विनाशकारी अवस्था ल्याउने तथा नेपालको प्रतिष्ठामा समेत असर गर्ने जनाइएको छ ।

नेपालका धेरैजसो ट्रेकिङ अपरेटरहरुले भने ग्राहकको सुरक्षालाई नै मुख्य चासोको रुपमा लिएको र उनीहरुले पदयात्रीलाई हाइ अल्टिच्युड हुन सक्ने कुराको पनि ख्याल गर्ने गरेको समेत सो कम्पनीले जनाएको छ । धेरैजसो पर्यटकहरुले बिमा बापत केही सय डलरको बिमा गराएका हुन्छन् ।

तर, सरकारी अधिकारीहरुका अनुसार नेपालको पर्यटन उद्योगका अधिकारीहरु र माउन्टेन गाइडहरुले ट्रेकिङ अपरेटरहरुसँग कमिसन लिने गरेका छन् । अनुभवहीन मानिसलाई खटाएर सामान्य बिरामीलाई पनि काठमाडौं लैजान उनीहरुले दबाब दिने गरेका छन् ।

ट्राभलर एसिस्टले गएको वर्ष गरेको छानबिनका क्रममा चार वटा अस्पताल र १३ वटा हेलिकोप्टर चार्टर तथा उद्धार कम्पनीले घोटाला गरेको पाइएको जनाइएको छ । केही दर्जन ट्रेकिङ कम्पनी पनि यस्तो घोटालामा संलग्न रहेको अनुमान गरिएको छ ।

यो जटिल समश्या रहेको र यसलाई कम आँक्न नहुने बताउँदै ट्राभलर एसिस्टका सहयोग सम्बन्धी प्रमुख डानी कैनीले नेपालको हेलिकोप्टर उद्धार कम्पनीमा भ्रष्टाचार र घोटाला व्यापार गर्ने तरिकाकै रुपमा स्थापित भएको बताएका छन् । बिमा कम्पनीहरुले यस खालको जालसाजीलाई नियन्त्रणमा लिन प्रारम्भमा संघर्ष गरेको भएपनि यस खालका गतिविधि सन् २०१० को शुरुदेखि नै भइरहेको समाचारमा जनाइएको छ ।

पछिल्ला केही वर्षमा नेपालबाट बिमा दाबी गर्ने क्रम नाटकीय ढंगले बढेको जनाइएको छ । यो अवस्थाले गर्दा बिमा कम्पनीहरुले आन्तरिक रुपमा कतिपय नेपाली हेलिकोप्टर कम्पनी र अस्पताललाई कालो सूचीमा राखेको र ट्रेकरहरुलाई एडभाइजरी नै जारी गरेर चेतावनी दिइएको जनाइएको छ ।

ट्राभलर एसिस्टका अनुसार सन् २०१८ को जनवरीदेखि अगष्ट सम्ममा १६०० वटा घटनामा हेलिकोप्टरबाट उद्धार गरिएको र ती मध्ये ३५ प्रतिशतचाहिँ जालसाजीपूर्ण भएको अनुमान गरिएको छ । बिमाका कारण ४ मिलियन सम्बद्ध बिमान कम्पनीलाई घाटा भएको जनाइएको छ ।

गएको सेप्टेम्बर महिनामा नेपाल सरकारले नयाँ अनुगमन कार्यक्रम ल्याएकोमा त्यसको पनि कार्यान्वयन हुन नसकेको जनाइएको  छ । जस अन्तर्गत सम्बद्ध कम्पनीले पर्यटन विभागमा आफू वास्तविक कम्पनी भएको पुष्टि गर्ने कागजात पेश गर्नुपर्ने व्यवस्था रहेको छ । सेप्टेम्बरदेखि डिसेम्बरसम्म एक जनालाई पनि कारवाही नगरिएको र १६०० वटा उद्धार कार्य त्यसबेला भएकोमा ती मध्ये १५ प्रतिशत ठगी भएको अन्तर्राष्ट्रिय बिमा कम्पनीहरुको भनाई रहेको छ ।

पर्यटन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले आफ्नो मन्त्रालयले पाएको विवरण अन्य मन्त्रालय जस्तो स्वास्थ्य, गृह, अर्थ तथा नागरिक उड्डयन मन्त्रालयलाई पठाएको तर, ती मन्त्रालयबाट कारबाही भए नभएको आफूहरुलाई जानकारी नआएको प्रतिक्रिया दिएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले भने पर्यटन मन्त्रालयलाई नै आवश्यक कारवाही गर्न भनिएको जनाएका छन् ।

(द न्यूयोर्क टाइम्सको रिपोर्टमा आधारित)

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved