विमानस्थललाई २० करोड बक्यौता तिर्न आनाकानी गर्दै हिमालय एयर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 18, 2019 | 01:27:02 PM मा प्रकाशित

laxmi  sunrise bank

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले हिमालय एयरलाइन्समाथि कारबाही प्रक्रिया सुरु गर्ने भएको छ । सन् २०१८ जुलाईदेखि तिर्नुपर्ने विमानस्थल सेवाशुल्क रकम नतिरेपछि विमानस्थल कार्यालयले कानुनी कारबाही प्रक्रिया अगाडि बढाउने तयारी गरेको हो ।

कार्यालयले एयरलाइन्सलाई समयमै रकम दाखिला गर्न शुक्रबार नै पत्राचार गरेको जानकारी दिएको छ । यसअघि पटक–पटक पत्राचार गरेपनि हिमालय एयरलाइन्सले वेवास्ता गरेपछि विमानस्थल कार्यालयले कानुनी प्रक्रिया सुरु गर्न लागेको हो । हिमालयले २०१८ जुलाई महिनायता विमानस्थल कार्यालयलाई सावाँ र विलम्ब शुल्कसहित २० करोड रुपैयाँ तिर्न बाँकी छ ।

एयरलाइन्सले बक्यौता रकम तिर्नको लागि मागेको एक महिनाको समय फागुन ४ मै सकिएको छ । विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले तोकिएको समयसीमा भित्र रकम दाखिला नभए जहाज ग्राउन्डेड वा जफत जे पनि हुनसक्ने बताए ।

वायुसेवा कम्पनीहरूले विमानस्थललाई सेवा शुल्कअन्तर्गत विमानस्थल विकास शुल्क, ल्यान्डिङ र पार्किङ शुल्क, हवाइ परिवहन सञ्चालन उपकरण प्रयोग शुल्क, सुरक्षा शुल्क, कोठा काउन्टर शुल्क बुझाउनुपर्छ ।

हिमालय एयरलाइन्सले पुसको अन्तिम साता रकम तिर्दै बक्यौता रकम दाखिला गर्न १० दिनको समय मागेको थियो । एयरलाइन्स आफैँले मागेको १० दिनमा रकम जम्मा गर्न नकसेपछि गत माघ ४ गते एक महिनाको समय माग गरेको थियो ।

चारवटा अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गरिरहेको यो एयरलाइन्ससँग एयरबस ए–३२० सिरिजका १ सय ५८ सिट क्षमताका तीनवटा विमान रहेका छन् । ती प्रत्येक विमानमा ८ बिजनेस र १५० इकोनोमी क्लासका सिटहरू छन् । यो एयरलाइन्स नेपाल–चीन संयुक्त लगानीमा सञ्चालित रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved