७ करोडमा सुपरम्यान र कपल (जोडी) जिप फ्लाईङ, पर्यटकीय गतिबिधि बढाउने आधार

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 17, 2019 | 03:08:22 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँमा विभिन्न सोच, क्षमता र मनोकांक्षा भएका मानिसहरु बसोबास गर्छन् । भिन्न भिन्न मनोकामना भएका मानिसहरुको भिडमा केही यस्ता मानिस हुन्छन्, जो प्रकृतिको काखमा रमाउन चाहान्न् । अनि केही मानिस जो विदामा रमाइलो गरौँ, कतै नजिकै गएर प्रकृतिको काखमा लुटपुटिउ र कतै गएर केही साहसिक खेल खेलौ भन्ने भावनाका हुन्छन् ।

राजधानी र आसपासका नागरिकले अब साहसिक खेलको लागी र एक दिनको बिदा मनाउन टाढा जानुपर्ने बाध्यता हटेको छ । बञ्जी जम्प, प्याराग्लाइडिङ, र्याफ्टिङ लगायतका निकै रोमाञ्चक र साहसिक खेलसँगै नेपालमा ‘जिप फ्लाईङ’ पनि सुरु भएको छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण काभ्रेको धुलिखेल एक सुन्दर पर्यटकीय नगरी हो । यसको सुन्दरतामा सुगन्ध थप्दै पर्यटक मैत्री साहसिक खेलका रुपमा ‘जिप फ्लाईङ’ सुरु भएको छ । 


काठमाडौँको कोटेश्वरबाट २८.७ किलोमिटर अरनिको हाईवेमा हुकिएपछि वल्र्डवाइड एडभेञ्चरमा पुगिन्छ । व्ल्र्डवाइडले नै यो साहसिक खेलको सुरु गरेको हो । ठूलो तारमा एक मिनेट ४० सेकेण्ड झुण्डिएपछि ११ सय मिटरको दुरी पार गर्दा धुलिखेल नगरपालिका पार गरेर पाँचखाल नगरपालिकाको भूगोलमा पुग्न सकिन्छ । धुलिखेलको थाक्लेडाँडाबाट सररर उडेपछि पाँचखालको खावामा पुगेर टक्क अडिन्छ । 

समुद्रि सतहदेखी १३ सय मिटरको उचाईमा रहेको थाल्केडाँडाबाट उत्तरतिरका हिमालहरु छर्लङ्ग देख्न सकिन्छ । यसैपनि पर्वतीय पर्यटनका लागी उत्कृष्ट गन्तव्य मानिने धुलिखेलबाट जिप फ्लाइङमा उड्दा पारीपट्टिका हिमाल अति रामाञ्चक देखिन्छन् । करिब दुई मिनेटको यो यात्रामा संसार जितेजस्तै अनूभुति हुन्छ । 


एक महिना अगाडीबाट सञ्चालनमा आएको यो खेल व्यवसायीक रुपमा सुरु भएको भने १५ दिन मात्रै भएको छ । यस अवधिमा तीन सय जनाले खेलको आनन्द लिइसकेका छन् ।

नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउन लागेको छ । सरकार अहिले सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने महत्वकांक्षी योजनका साथ काम गरिरहेको छ । नीजि क्षेत्रबाट पनि यसका लागी निकै ठूलो सघाउ हुँदै आएको छ ।

धुलिखेलको जिप फ्लाईङ पनि नेपाल भ्रमणका लागी सहयोगी सावित हुने सञ्चालक द्वय केदार बहादुर थापा र भुपेन्द्र श्रेष्ठको विश्वास छ । सञ्चालनमा आएको छोटो अवधिमै अमेरिका लगायतका देशबाट नेपाल घुम्न आएका पर्यटकहरुले समेत यसको अनुभव लिइसकेका छन् । 



१७ महिना समय लगाएर निर्माण गरिएको यो निकै नौलो र साहसिक खेलमा नेपालमै पहिलोपटक सुपरम्यान फ्लाइङ र कपल (जोडी) जिप फ्लाईङको सुविधा छ । साना बालबालिकाका लागि छुट्टै जिपलाइन बन्दै छ । 

२५ सय रुपैंयाँ तिरेर जिप फ्लाइङ गर्न सकिन्छ । ३५ सय रुपैंयाँ तिरेर सुपर म्यान फ्लाइङ गर्न सकिन्छ भने जाडी उडेको ४५ सय रुपैयाँ लाग्छ । अहिले दैनिक ७० जना सम्मले खेलको अनुभव गर्न सक्छन् ।

यो खेलमा पानी परेर कुनै प्रभाव पर्दैन । सामान्य सिमसिम पानीमा पनि यसको मज्जा लिन सकिन्छ । धेरै हावा चलेको समयमा भने खेल बन्द हुन्छ । 
यो जिप लाइनमा हालसम्म ४ करोड खर्च भैसकेको छ । अर्काे एउटा लाइन थप्दा ७ करोड लगानी पुग्ने सञ्चालकको भनाई छ । १३ वर्षदेखी ७० वर्ष उमेरसम्मका नागरिकले जिपलाइन खेल्न सक्छन् । युरोपियन मापदण्डमा आधारित यस फ्लाइङमा दुई जना भारतीय प्राविधिक कार्यरत छन् ।
केही व्यक्तिले यस खेललाई तुइनको विकसित रुप भनेका छन् । तुईनलाई साहसिक खेलका रुपमा विकास गर्न सकिने गतिलो उदाहरण जिप फ्लाईङ खेल हो । मूलुकलाई तुइनमुक्त बनाउने नभई तुइनलाई साहसिक पर्यटकीय खेलका रुपमा विकास गरेर नेपालमा पर्यटकीय गतिविधि बढाउन सकिने प्रशस्त आधारहरु रहेको पर्यटन क्षेत्रमा लामो समय खोज अनुसन्धान र अध्ययन गरेका रामचन्द्र कुँवर बताउँछन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved