तीन नम्बर प्रदेशको पर्यटन ब्राण्डः न भाले न पोथी !

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 24, 2019 | 03:18:13 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश नम्बर ३ सरकारले आफ्नो छुट्टै पर्यटन ब्राण्ड सार्वजनिक गरेको छ । यो ब्राण्ड प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले सार्वजनिक गरे । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रममा पर्यटन ब्राण्ड बनाउने कुरा उल्लेख थियो । सोही कार्यक्रम अनुसार यो ब्राण्ड तयार भएको प्रदेशको पर्यटन विकास आयोजनाका प्रमुख राजु क्षेत्रीले जानकारी दिए । 

यो ब्राण्ड बनाउन प्रदेशले पौषमा सूचना आह्वान गरेको थियो । उत्कृष्टलाई एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा सहित आह्वान भएको सूचनामा धेरैले सहभागिता जनाएका थिए । यीमध्येबाट पर्यटन ब्राण्ड नाम सिफारिस समितिले चैत १५ गते सातवटा ब्राण्डको नाम छनौट समितिमा सिफारिस गरेको थियो । 

यसरी सिफारिस भएका मध्ये विजनेश फर्मुला कम्पनीले तयार पारेको ब्राण्ड छनौट भयो । उसले एक लाख पाउने पक्का भएको छ । उद्यपी प्रदेश सरकारले अहिलेसम्म दिएको छैन । छनौट भएको ब्राण्डमा हिमाल, पशुपतिनाथ मन्दिर, बौद्ध र गैडालाई सांकेतिक रुपमा दर्शाइएको छ । 

पौषमा एक महिने सूचना जारी गरेको मन्त्रालयले यो कामको लागी ५ महिना समय खर्चेको छ । सरकारका अधिकारीका अनुसार सूचना प्रकाशितपछि आएका ब्राण्डको परीक्षण गर्नै एक महिना लागेको थियो । लामो समय यसैमा लाग्नुपर्दा घोषित ब्राण्डको निर्मातालाई दिनुपर्नेभन्दा धेरै पैसा मन्त्रालयभित्रै सकिएको छ ।

पर्यटन विकास आयोजनाका प्रमुख क्षेत्रीले यति नै पैसा खर्च भयो भनेर भन्न नसकिएपनि ब्राण्ड तयार गर्नेलाई दिने भनेर घोषणा भएकोभन्दा धेरै पैसा ‘वर्कशप’ कै क्रममा सकिएको छ । ‘पौष १ गतेदेखी सुरु गरेको, लामो वर्कशप भयो’ उनले भने, ‘हुन त धेरै खर्च भएको छ, देखिने खर्च चाँही त्यही एक लाख हो ।’ उनले भएको खर्चको हिसाब भने चुस्त दुरुस्त राखिएको दाबी पनि गरेका छन् । 

पर्यटनसम्वद्ध विज्ञहरुले भने प्रदेशको नाम नै टुंगो नलागी ब्राण्ड घोषणा गर्नु हास्यास्पद भएको टिप्पणी गरेका छन् । पर्यटनविद् प्रचण्डमान श्रेष्ठ प्रदेशले सार्वजनिक गरेको ब्राण्ड अन्तराष्ट्रिय हो कि घरेलु मात्रै हो भन्नेमा ‘कन्फ्युज’ रहेको बताउँछन् । उनले अन्तराष्ट्रिय र घरेलु ब्राण्डिङ फरक हुने भन्दै पहिला यो विषय क्लियर पार्दिन आग्रह गरे । श्रेष्ठका अनुसार प्रदेशले सार्वजनिक गरेको ब्राण्डले घरेलु र अन्तराष्ट्रिय कुनै पनि ब्राण्डिङको प्रतिनिधित्व गरेको छैन ।

उनका अनुसार प्रदेशको नाम नै टुंगो नलागी ब्राण्ड घोषणा गर्नु पैसा सक्ने खेल मात्रै हो । ‘भोली प्रदेशको नामाकरण भएपछि यो ब्राण्ड भएन, अर्को चाहियो भन्छन्’ उनले भने, ‘फेरि बनाउन फेरि पैसा लाग्छ ।’ 

तर मंगलबारसम्म तीन नम्बर प्रदेशको पर्यटन विकास आयोजनाका प्रमुख रहेका राजु क्षेत्री प्रदेशको नामाकरण भएपछि अहिले प्रदेश ३ लेखिएको ठाउँमा प्रदेशको नाम रहने र बाँकी ठाउँ यथावत रहने दाबी गर्छन् । यद्यपी प्रदेश सरकारले आवश्यकता महशुस गरेमा अर्को बन्ने सम्भावना पनि रहेको उनको भनाई छ । आयोजना प्रमुख क्षेत्री बुधबारबाट प्रदेश नम्बर पाँचमा सरुवा भईसकेका छन् । उनको ठाउँमा कसलाई आयोजना प्रमुखको जिम्मेवारी दिने भन्ने निर्णय भएको छैन ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved