बुद्ध एयरका जोशी भन्छन्, ‘भारतीय जेट एयरको बिकल्प बन्छौं भन्दा सरकारले सहयोग गरेन'

निरोज कुमार थापा

निरोज कुमार थापा

May 01, 2019 | 12:39:44 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’ को रुपमा मनाउने घोषणा गरेको छ । सरकारी कार्यक्रमलाई सफल बनाउन अन्तराष्ट्रिय तथा देशभित्रकै पनि निजी क्षेत्रलाई सघाउन सरकारले अपिल पनि गरिसकेको छ । नेपाल भ्रमणको विषयमा प्रचार र सरकारलाई सघाउने उदेश्यले विजपाटी डटकमले सरकारी र सरोकारवाला निजी क्षेत्रको धारणा र तयारीका विषयमा निरन्तर कभरेज गरिरहेको छ ।

यसअघि सरकारका पूर्व उच्च अधिकारी, निजी क्षेत्र र २०११ को पर्यटन वर्षका संयोजकको भनाई सहित विजपाटीले भ्रमण वर्ष सफल हुने आधार नै छैन भन्ने शीर्षकमा समाचार लेखेको थियो । 

यसपटक भने वायु सेवा प्रदायक कम्पनीसँग भ्रमण वर्षको विषयमा कुराकानी गरिएको छ । निजी क्षेत्रको अग्रणी वायु सेवा कम्पनी बुद्ध एयरले भ्रमण वर्षको तयारी निकै फितलो भएको प्रतिक्रिया दिएको छ । नेपालमा धेरैभन्दा धेरै विदेशी पर्यटक भित्र्याउन नेपाली जहाजको विदेशमा सहज उडान पहुँच हुनुपर्ने तरसमस्यै समस्याले गाँजेको नेपालको उड्ययन क्षेत्रले विदेशमा सेवा विस्तार गर्नै नसकेका कारण भ्रमण वर्ष सफल हुनेमा बुद्धले शंका गरेको छ ।

आफूले उडान भर्दै आएका गन्तव्यमा नेपाल भ्रमण वर्षको प्रोमोशन गर्दै आएको बुद्ध एयरले भ्रमण वर्ष सफल हुने आधार नभएको बताएको छ । बुद्धले हाल भारतको वाराणशीमा उडान भर्दै आएको छ । त्यहाँ होर्डिङ बोर्ड टाँस्ने लगायतका डिजिटल प्रोमोशन गर्दै आएको छ । आगामी मे २७ बाट उडान भर्ने गन्तव्य कोलकत्तामा पनि भिजिट नेपालको प्रोमोशनलाई तीव्रता दिएको बुद्ध एयरका मार्केटिङ सेल्स एण्ड ग्राउण्ड ह्याण्डलिङ विभागका प्रमुख रुपेश जोशी बताउँछन् । 

युरोपमा कालोसूची 

युरोपको आकाशमा नेपाली जहाजले प्रवेशै पाउँदैनन् । युरोपियन युनियनले नेपालको उड्डयन क्षेत्रलाई कालोसूची राखेको छ । सुरक्षाका हिसाबले चूनौतीपूर्ण मानिने देशहरुका अन्तराष्ट्रिय विमानस्थललाई युरोपियन युनियनले सेक्युरिटी कन्सर्न लिस्टमा राख्ने गरेको छ । कालोसूची पछि नेपाली विमानले युरोपियन देशहरुमा उडान गर्न पाएका छैनन् । 

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले कालेसूचीबाट हटाउन पहल गरिरहेको जनाएपनि निजी क्षेत्रका वायु सेवा प्रदायक कम्पनी भने सरकारको भनाईप्रति सहमत छैनन् । मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्याय कालोसूचीबाट हटाउने प्रयास भईरहेको बताउँछन् । तर बुद्ध एयरका मार्केटिङ सेल्स विभागका प्रमुख रुपेश जोशी सरकारले आवश्यक पहल नै नगरेको दाबी गर्छन । 

विमानस्थल कम, विमान धेरै 

नेपालमा अन्तराष्ट्रिय विमानस्थल एउटा मात्रै छ । त्यो पनि धावनमार्ग मर्मतको कामका कारण दैनिक १० घण्टा बन्द हुन्छ । २८ वटा अन्तराष्ट्रिय विमान कम्पनीले उडान भर्दै आएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको क्षमताले थेग्न सक्ने स्थिती छैन । आन्तरिक तथा बाह्य उडानका लागि जहाज थपिने क्रम बढ्दो छ । तर एयरपोर्टको अवस्था निकै दयनीय छ ।

सयौँको सङ्यामा उडान हुने विमानस्थलको रनवे एउटै छ । दैनिक जसो अवतरणको क्रममा विमानस्थलमा जाम हुँदा कयौँ विमान आकाशमा नै होल्ड गर्नु पर्ने बाध्यता छ । 

आन्तरिक उडानले बाह्य उडानलाई स्वतः प्रभावित गर्छ । आएका पर्यटकलाई आन्तरिक उडानबाटै गन्तव्यसम्म पुर्याउनुपर्छ । त्यसको लागि प्रयोग हुने विमानस्थल त एउटै हो । टिआईए (त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल) को विकल्प तयार नहुँदासम्म नेपालमा अपेक्षाकृत पर्यटकको आगमन सम्भव नै हुँदैन ।

महङ्गो भाडा

नेपालको यात्रा अपेक्षाकृतभन्दा महँगो छ । राष्ट्रिय ध्वजावाहकसँग पर्याप्त विमान नभएको फाइदा अन्य विमान कम्पनीले उठाइरहेका छन् । नेपाल एयरलाइन्सको उडान नभएका ठाँउबाट नेपाल आउन बढी भाडा तिर्नुपर्ने बाध्यता छ । 

अहिले १६ हजारदेखि बढीमा २० हजार भाडामा आवतजावत गर्न सकिने काठमाडौँ दिल्लीको भाडा नेपाल एयरलाइन्सको विमानको उडान स्थगित भएको बेला ४६ हजारसम्म तिर्नु पर्ने बाध्यता छ ।  निगमले विमान थपेर जति धेरै उडान गन्तव्य बढाउन सक्छ, त्यति नै सस्तो यात्रा हुन जान्छ । 

युरोपका देशबाट नेपाल आउन कम्तीमा २ वटा उडान फेर्नुपर्छ । सिधैँ उडान हुँदैन । यसरी उडान फेर्दै आउन एक लाखदेखी एक लाख ५० हजारसम्म तिर्नुपर्छ । यति धेरै महङ्गो भाडा तिरेर नेपाल किन आउने ? यसको उत्तर न सरकारसँग छ न निजी क्षेत्रसँगै छ ।

भारतको जेट एयरवेजले उडान बन्द गरेको छ । नेपालमा साप्ताहिक ६ वटा उडान भर्दै आएको जेटको उडान बन्द भएपछि यसको विकल्पमा नेपालबाट उडान भर्न इच्छुक कम्पनी नै देखिएनन् । हामीले उडानको पहल गर्दा सरकारबाटै प्रर्याप्त सहयोग भएन । नेपालमा आउने पर्यटकमध्ये सबैभन्दा धेरै भारतीय पर्यटक छन् । तीमध्ये पनि सबैभन्दा धेरै टुरिष्ट बोक्ने जेट नै हो । यस्तो अवस्थामा कसरी भ्रमण वर्ष सफल हुन्छ ? 

टुरिष्ट बोक्न नेपाली विमानको अन्तराष्ट्रिय उडान हुनु पहिलो आवश्यकता हो । तर विदेशमा उडान छैन, विदेशी पर्यटक गाडी चढेर त आउँदैनन् । 

प्रोमोशन भएन 

अर्को कुरा जतिपनि भ्रमण वर्ष लक्षित प्रोमोशन हुनुपर्ने हो त्यो भएको छैन । विदेशमा गर्नुपर्ने इभेन्टहरु भएका छैनन् । सन् १९९८ मा मनाईएको भ्रमण वर्षदेखी हामीले हेरिरहेका छौँ, त्यतिबेला जस्तो अहिले भएकै छैन । पोखरामा, चितवनमा, काठमाडौँमा गरेको प्रोमोशनले पर्यटकलाई तान्ने होईन, विदेशमा गर्नुपर्छ ।

२/४ वटा विदेशी पत्रिकालाई पैसा दिएर मात्रै पनि हुँदैन, फिल्डमै गएर गरेको प्रोमोशन मात्रै प्रभावकारी हुन्छ । अब त समय सुरु भईसक्यो, यस्तै गरि सुस्त हुने हो भने अहिले आएका १२ लाखमा ५०/६० हजार त थपिएलान तर २० लाख त पुग्दै पुग्दैन ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved