तालुकी अड्डालाई नै थाहा छैन सडकमा ‘विमान ल्याण्ड गर्ने’ सरकारको योजना

निरोज कुमार थापा

निरोज कुमार थापा

May 07, 2019 | 02:23:07 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा राजमार्गमै आपतकालिन विमान अवतरण गर्न सक्ने धावनमार्ग बनाउने योजना ल्याएको छ । यो कार्यक्रम नेपालका लागि निकै नौलो त छँदैछ त्यसमा पनि नेपालको भौगोलिक अवस्थाले सरकारको यो कार्यक्रम सफल हुनेमा शंका उत्पन्न भएको छ । 

सरकारको नीति तथा कार्यक्रममा ‘हाइ–वे’मै विमान अवतरण गराउन मिल्ने गरी सडक स्तरोन्नति गराउने भनिएपछि उड््यन क्षेत्रका विज्ञहरु पनि अलमल्लमा परेका छन् । 

उड्ययन क्षेत्रका जानकारहरु व्यवसायिक उडान भर्ने विमानलाई राजमार्गमा अवतरण गर्ने अन्तराष्ट्रिय अभ्यास नभएको बताउँछ । विमानहरु राजमार्गमा अवतरण गरिएका केही उदाहरणहरु छन् । 

पूर्वसचिव एवम् तत्कालीन हवाइ विभागका पूर्वमहानिर्देशक यज्ञप्रसाद गौतमका अनुसार राजमार्गमा व्यवसायिक विमान अवतरण गराउन सम्भव हुँदैन । केही देशहरुमा देखेको भरमा नेपालमा सडकमै विमान अवतरणको अवस्था नभएको उनको भनाई छ । 

‘हाम्रो पूर्वाधार त्यो खालको छैन, भूगोल त्यो खालको छैन’ उनले भने, ‘हामीकहाँ सडकै छेवैमा विजुलीका खम्बाहरु हुन्छन्, पानीका पाईपहरु हुन्छन् ।’ ‘जमिनमा बसेर जहाँ पायो त्यही विमान उडाउने र अवतरण गराउने कुरा गर्नु गलत हो, यो धेरै संवेदनशील हुन्छ’ उनले थपे, ‘खर्चका हिसाबमा पनि ज्यादै महङ्गो र प्राविधिक दृष्टिकोणले पनि निकै संवेदनशील हुन्छ ।’ 

गौतमका अनुसार नीजि विमान कम्पनीलाई सडकमा अवतरण गराउने कानुन नै छैन । ‘कानुनले नै प्राईभेट एयरलाई सडकमा ल्याण्ड गराउन दिँदैन, कानुन नै नभएको अवस्थामा कसको लागि आयो नीति कार्यक्रम भन्ने पनि प्रश्न छ ?’ उनले भने । 

विदेशमा सैन्य जहाजहरु आपतकालिन रुपमा सडकमा अवतरण गराईएका उदाहरण भने छन् । उड््यन क्षेत्रका विज्ञहरु राजमार्गमा विमान अवतरण गराउने काम सजिलो नहुने बताउँछन् । यदि आपतकालिन अवस्थौ पनि विमान अवतरण गराउनु पर्यो भने राजमार्ग मात्रै नभई आकाश पनि खाली गराउनुपर्ने उनीहरुको तर्क छ । 

केही जानकारहरुले भने नेपाली सेनाको सुझावका आधारमा यो कार्यक्रम आएको हुन सक्ने अनुमान गरेका छन् । सडकले विभागले भने सञ्चालनमा रहेका सडकको चौडा विस्तारका लागि विभागले बजेट माग गरेपछि सरकारले विदेशमा सम्भव भएको सडकमै हवाई ल्याण्ड गर्ने कामलाई जोडर सडक विस्तार गर्न यो कार्यक्रम ल्याएको हुनसक्ने अनुमान गरेको छ । 

तर सेनाका सूचना अधिकारी विज्ञान देव पाण्डे सेनाले सरकारसँग यस्तो माग नगरेको बताउँछन् । ‘सेनाले गर्यो कि भनेर लख काट्न त पाईयो, तर सेनाले यस्तो माग गरेको छैन’ उनले भने, ‘आवश्यकता पर्न सक्छ भनेर सरकारले कार्यक्रम ल्याउनु राम्रो कुरा हो ।’

नेपाल नागरिक उड्डयन प्राधकिरणले पनि सरकारले ल्याएको कार्यक्रम सामान्य भएको बताएको छ । प्राधिकरणका उप–महानिर्देशक राजन पोखरेल सरकारको नीति कार्यक्रममा उपयुक्त स्थानका राजमार्गमा सडक चौडा गर्ने र आपतकालिन अवस्थामा विमान अवतरण गराउने भनिएको बताउँछन् । 

‘सडकलाई चौडा बनाउने भनिएको हो, जहाज अवतरणकै लागि विमानस्थलको हाईवेको सटट सडक बनाउने भनिएको होईन’ उनले भने, ‘ठूला जहाज ल्याण्ड गर्ने होईन, साना जहाज अवतरण गर्न मिल्ने सडक बनाउने भनिएको हो ।’ 

पोखरेलका अनुसार विदेशमा आपतकालिन अवस्थामा सडकमै विमान ल्याण्ड गर्ने अभ्यास छ । नेपालमा पनि केही गृहकार्य गरिएको खण्डमा यो सम्भव हुने उनको भनाई छ । यद्यपी प्राधिकरणले सरकारलाई यस्तो सुझाव नदिएको उनले बताए । 

हाल सिङ्गापुर, उत्तर कोरिया, ताइवान, स्विडेन, फिनल्यान्ड, बुल्गेरिया, स्विजरल्यान्ड, पोल्यान्ड र छिमेकी देश भारत, श्रीलङ्का र पाकिस्तानमा सडकमै विमान ल्याण्ड गर्न मिल्ने प्रविधिको सफल परीक्षण भईसकेको छ । 

सन् २०१५ मा भारतले उत्तर प्रदेशको यमुना एक्सप्रेस–वेमा यसको सफल परीक्षण गरेपछि २०१६ मा भारतका यातायात मन्त्री नीतिन गड्करीले यो प्रविधिलाई व्यावसायिक रुपैमै विस्तार गर्ने बताएका थिए । विज्ञहरुले भने भारतकै नक्कल गरेर सरकारले अनावश्यक र निकै खर्चिलो हुने कार्यक्रम ल्याएको भन्दै आलोचना गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved