लुम्बिनी भ्रमणको निम्तो बाँड्दै हिडेको टोली काठमाडौँमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 08, 2019 | 12:41:10 PM मा प्रकाशित

laxmi  sunrise bank

शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले लुम्बिनी भ्रमणको निम्तो बाँड्दै ‘लुम्बिनी भ्रमण वर्ष–२०७६’ को अभियानको टोली काठमाडौँ आइपुगेको छ ।

‘बुद्ध जन्मस्थल लुम्बिनी जाऔँ, शान्तिको सन्देश फैलाऔँ’ भन्ने मूल नाराका साथ लुम्बिनी भ्रमण वर्षको पूर्व सन्ध्यामा प्रचार–प्रसार गर्दै आज दरबारमार्गमा सडक प्रदर्शनी कार्यक्रम गरिएको हो । बुद्धको प्रतिमा र मायादेवी मन्दिरको ठूलो आकृतिलाई गाडीमा सजाएर प्रदर्शन गरिएको थियो ।

प्रदेश नं ५ को उद्योग पर्यटन तथा वातावरण मन्त्रालयको आयोजना तथा सिद्धार्थ होटल एशोसिएशन, नेपाल नेतृत्वको टोलीले देशैभर सडक प्रदर्शनी अभियान शुरु गरेको छ । आगामी जेठ ४ गते परेको २५६३ औँ बुद्ध जयन्तीका अवसरमा घोषणा हुन गइरहेको लुम्बिनी भ्रमण वर्षलाई सफल पार्न प्रचार अभियान शुरु गरिएको रोड सो कार्यक्रमका संयोजक रवीन्द्र शर्मा घिमिरेले जानकारी दिए । 

लुम्बिनीको भैरहवाबाट शुरु गरिएको अभियान, रुपन्देहीको बुटवल, पाल्पाको तानसेन, स्याङ्जाको पुतलीबजार, कास्कीको पोखरा, तनहुँको दमौली हुँदै काठमाडौँ आएर सडक प्रदर्शन गरी लुम्बिनी भ्रमण गर्न आग्रह गरिएको छ । दरबारमार्गस्थित नारायणहिटी सङ्ग्रहालय अगाडि भएको कार्यक्रममा सांसद, पूर्वमन्त्री तथा काठमाडौँका पर्यटन व्यवसायी र लुम्बिनीबाट आएका व्यवसायीसहितको टोलीले लुम्बिनी भ्रमण गई अभियानलाई सफल पार्न आग्रह गरे । 

सो अवसरमा प्रतिनिधिसभाका सांसद घनश्याम भुसालले लुम्बिनी प्रवद्र्धनको विषय केवल लुम्बिनीवासीको मात्र नभई राष्ट्रिय र अन्तर्राष्ट्रिय चासो र सरोकारको विषय भएको बताए । उनले यो अभियानले सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

राष्ट्रियसभाका सांसद खिमलाल भट्टराईले बुद्धको जन्मस्थल लुम्बिनीमा भ्रमण वर्षको आयोजना गरिनु नेपाल भ्रमण वर्षलाई सफल बनाउने एक महत्वपूर्ण आधार भएको र यसलाई राष्ट्रिय अभियानका रुपमा सफल पार्नुपर्ने बताए । 

पूर्वमन्त्री दीपक बोहोराले लुम्बिनी भ्रमणलाई सफल बनाउन व्यवसायीको सक्रियतामा चलाइएको अभियानले आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताए । 

अभियानको दोस्रो चरणको कार्यक्रम नारायणघाट, हेटौँडा, वीरगञ्ज, जनकपुर, इटहरी हुँदै तेस्रो चरणमा दाङ, नेपालगञ्ज, महेन्द्रनगर र सुर्खेतमा रोड सो गरिने छ  । त्यस्तै, चौथो चरणमा भारतको कुशिनगर, वनारस र सारनाथमा सडक प्रदर्शनी गरिने लुम्बिनी भ्रमण वर्ष मूल आयोजक समितिले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved