होटल उद्योगको ७ दशकः १० खर्ब लगानी, १० लाखलाई रोजगारी

निरोज कुमार थापा

निरोज कुमार थापा

May 10, 2019 | 02:10:37 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा पछिल्लो समय होटलमा लागनी बढेको छ । विभिन्न प्रतिष्ठित व्यापारी घरानाहरु होटल व्यवसायमा आकर्षित हुन थालेका छन् । चौधरी ग्रुप, गोल्छा अर्गनाइजेशन, गोल्यानजस्ता व्यापारीक समूह होटल व्यवसायमा आकर्षित भईरहेका छन् । 

सन् १९५१ मा न्यू रोडमा ‘हिमालय इन’ नामक होटलबाट सुरु भएको नेपाली होटल उद्योग अहिले निकै फराकिलो भएको छ । पाँचतारेदेखि विदेशी ठूला चेन होटलसम्म नेपालमा स्थापना भइसकेका छन् । 

२००७ को राजनीतिक परिवर्तनपछि नेपाल विदेशीका लागि खुला गरियो । त्यो समयभन्दा अगाडी नेपालमा विदेशीहरु आउन पाउँदैनथे । यसरी विदेशीहरु पनि आउन थालेपछि पूर्वाधारको विकासले गति लियो । अति आवश्यक रुपमा होटललाई पनि लिन थालियो । त्यसपश्चात सन् १९५३ मा कान्तिपथस्थित बहादुर भवनमा  ‘रोयल होटल’ सञ्चालनमा आयो । 

होटल एशोसिएसन अफ नेपाल (हान) को तथ्याङ्कअनुसार मुलुकभर १० हजारभन्दा बढी होटल छन् । यी होटलमा १० खर्ब रुपैयाँको हाराहारीमा लगानी गरिएको छ । नोपलमा तारे होटलको संख्या ५५ छ । यसमध्ये पाँचतारे होटल १४ वटा मात्रै छन् । 

हानका प्रथम उपाध्यक्ष विनायक शाहका अनुसार अहिलेकै अवस्थामा पनि २५ लाख पाहुना अट्ने होटल नेपालमा छन् । केही समयअघि हानका निर्वतमान अध्यक्ष अमरमान शाक्यले १० लाख पर्यटकलाई सेवा दिन सक्ने होटल मात्रै भएको बताएका थिए । तर बिहिबार हानको साधारणसभाबाट निर्वाचित भएका पदाधिकारीले सरकारले सन् २०२० मा मनाउन लागेको नेपाल भ्रमण वर्षलाई होटल क्षेत्रका हालको अवस्थाले नै परिपूर्ति गर्ने दाबी गरेका छन् । 

होटल क्षेत्रले १० लाखभन्दा बढीलाई रोजगारी दिएको हानको दाबी छ । विश्व व्यापार सङ्गठन अनुसार एक विदेशी पर्यटक भित्रँदा ११ जनाले रोजगारी पाउने बताइन्छ । नेपालमा होटल उद्योगले कूल ग्राहस्थ उत्पादनमा तीन प्रतिशत योगदान गरेको छ । 

काठमाडौंमा मात्रै आगामी पाँच वर्षमा दुई दर्जनभन्दा बढी पर्यटक स्तरका होटलले करीब पाँच हजार बेड थप्ने अपेक्षा गरिएको छ । उपाध्यक्ष शाहका अनुसार २५ लाख पर्यटक धान्ने क्षमता भएका नेपालको होटलमा अहिले ५५ प्रतिशतमात्र अकुपेन्सी छ । अन्तराष्ट्रिय स्तरका सभा र समारोहमा मात्रै होटलको अकुपेन्सी ९० प्रतिशतको हाराहारीमा पुग्दै आएको छ । 

हानका अनुसार सञ्चालित होटलका कुल शैय्या ३८ हजार ९ सय २५ छ । २०२० सम्म तारे होटलमा अरु ४ हजार शैय्या थपिनेछन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved