सगरमाथा क्षेत्रको फोहोर व्यवस्थापन गर्न सवा दुई करोड रुपैयाँ संकलन भएको छ । सरकारले वैशाख १ देखि सुरु गरेको ‘सगरमाथा सरसफाइ अभियान’ का लागि रकम संकलन भएको हो । यसअघि विभिन्न संस्थाहरुले आफ्नो एकल प्रयासमा सगरमाथा सरसफाई गर्ने गरेको भएपनि यसपटक भने एकिकृत रुपमा सरसफाई गर्न लागिएको हो ।
४५ दिने अभियानमा २ करोड ३२ लाख खर्च हुने पर्यटन विभागले जनाएको छ । विभागका अनुसार अभियान अन्तर्गत संकलित फोहोरलाई जेठ १३ गते सगरमाथा दिवसको अवसरमा नाम्चे बजार र जेठ १५ गते काठमाडौंमा प्रदर्शन गरिने छ । जेठ २२ गते विश्व वातावरण दिवसको अवसरमा उक्त फोहोर पुनः प्रयोगका लागि हस्तान्तरण गरिनेछ ।
आधार शिविर आसपासबाट पाँच हजार किलो, साउथकोलबाट दुई हजार तथा क्याम्प–१ र २ बाट तीन हजार किलो फोहोर संकलन हुने अनुमान गरिएको छ । विभागका महानिर्देशक डण्डुराज घिमिरेका अनुसार पर्यटन विभाग, पर्यटन बोर्ड, वन तथा वातावरण मन्त्रालय, नेपाल पर्वतारोहण संघ, नेपाली सेना र खम्बु पासाङल्हामु गाउँपालिका अभियान सामेल छन् ।
सगरमाथा क्षेत्रमा हिमताल पग्लेर आरोहीका शवहरू भेटिएको दाबी गलत भएको नेपाल पर्वतारोहण संघले बताएको छ । ‘आरोहणको समयमा यस्ता प्रचार गरेर नेपाली हिमालबारे विश्व समुदायमा नकारात्मक सन्देश फैलाउने प्रयास भएको छ,’ नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तबहादुर लामाले भने, ‘मौसम गर्मीको छ, गर्मीको समयमा केही शव देखिनु स्वाभाविक हो । त्यही पनि अहिले त त हिमाल सेताम्मे छन्, चाहेर पनि शव भेट्न गाह्रो छ ।’