नेपाल नागरिक उड्डयन प्राधिकरणले मन्थली–लुक्ला हवाई उडान यथावत राख्ने निर्णय गरेको छ । प्राधिकरणले लुक्ला उडान भरिरहेका चार वायुसेवा कम्पनीलाई पत्र पठाउँदै रामेछाप–लुक्ला उडानलाई निरन्तरता दिन भनेको छ ।
काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्ग कालोपत्रेको काम भईरहेकाले वसन्त ऋतुमा हुने सगरमाथा सहितका हिमाल आरोहणका लागि काठमाडौंबाट हुँदै आएको लुक्ला उडान रामेछाप सारिएको थियो । विमानस्थलको धावनमार्ग मर्मतको काम सकिएपछि काठमाडौँबाटै लुक्ला उडान हुने भनिएपनि प्राधिकरणले विमान कम्पनीलाई मन्थलीबाटै उडान भर्न भनेको छ ।
प्राधिकरणले त्रिभुवन बिमानस्थलमा हवाई चाप बढ्दो क्रममा रहेको र यसले ट्राफिक जाम हुने गरेको भन्दै काठमाडौंबाट भइरहेको लुक्ला उडान रामेछाप सार्नुपरेको जनाएको छ । पहिलो सिजन रामेछाप–लुक्ला उडान सफल भएकाले आगामी सिजनमा पनि यसलाई निरन्तरता दिइएको प्राधिकरणको भनाइ छ ।
हवाई भाडा घटेन
काठमाडौं–लुक्ला हवाई भाडा पर्यटकका लागि औसत १७५/१७८ डलर छ । रामेछापबाट लुक्ला उडाउँदा १५० डलरसम्म लिने गरेको पाइएको छ । दूरीले काठमाडौं–लुक्लाको तुलनामा रामेछाप–लुक्ला आधा जस्तै पर्न जान्छ । काठमाडौंबाट लुक्ला पुग्न ४० मिनेट लाग्छ । रामेछापबाट लुक्ला अधिकतम २२ देखि २५ मिनेट लाग्छ ।
पर्यटन व्यवसायीले भने दुरी घटेपनि भाडा नघट्नु गलत भएको बताएका छन् । दुरी अनुसार भाडादर समायोजन गर्नुपर्ने उनीहरुको तर्क छ । प्राधिकरणले भने यस विषयमा सरोकारवालासँग छलफल गर्ने जनाएको छ ।