पदयात्रा व्यवसायीलाई चुनावले छोप्यो, अध्यक्षमा मात्रै आधा दर्जन उम्मेद्वार

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 02, 2019 | 02:03:52 PM मा प्रकाशित

laxmi  sunrise bank

पदयात्रा व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल (टान) को साधारण सभा नजिकिएसँगै माहोल परिवर्तन हुन थालेको छ । यो साधारण सभाले आगामी २ वर्षका लागि नयाँ नेतृत्व समेत चयन गर्ने भएकाले नेतृत्वका आकांक्षीहरुबीच ध्रवीकरण बढेको छ । औपचारिक रुपमै उम्मेद्वारीको घोषणा गरेका व्यक्तिहरु आफ्नो पक्षमा मतदाता तान्न दौडधूप समेत गरिरहेका छन् । 

यसवर्ष टानको निर्वाचनमा कति पक्षीय भिडन्त हुने हो, त्यसको अहिलेसम्म यकिन भईसकेको छैन । अहिले टानको नेतृत्व लिन खुम सुवेदी, कामीरेञ्जी शेर्पा, मुक्ति पाण्डे, कुमार थापा र निलहरी बास्तोलाले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् । विभिन्न राजनीतिक दल निकट व्यवसायी संगठनबाट प्यानल नै बनाएर निर्वाचनमा जाने अवस्था समेत आउने आँकलन गरिएको छ । 

के भन्छन् त उम्मेद्वारहरु ?

कामीरेन्जी शेर्पा 

समाजवादी पार्टी नेपाल निकट कामीरेन्जी शेर्पा टानको नेतृत्वका लागि आफू नै उपयुक्त पात्र भएको दाबी गर्छन् । व्यवसायी संगठनभित्र राजनीतिक स्वार्थ हावी हुँदा टान भित्र भद्रगोलको अवस्था देखिएको भन्दै उनले यस्तो अवस्था स्वीकार्य नहुने बताए । ४२ वर्षदेखी यही क्षेत्रमा क्रियाशिल भएको नाताले पनि आफूसँग क्षमता रहेको उनको दाबी छ । 

‘टानमा राजनीति छ, त्यो राजनीतिबाट टानलाई मुक्त गराउन मेरो उम्मेद्वारी हो । व्यवसायीक संगठनमा राजनीति हावी हुनुहुँदैन’ शेर्पाले भने । 

कुमार थापा

आठ वर्ष अघि टानको कोषध्यक्ष भइसकेका कुमार थापा यसवर्ष अध्यक्षका मुख्य प्रत्यासी हुन् । राजनीतिमा समय कम मात्रै दिने उनी राजनीतिक विचारमार्फत व्यवसायीक क्षमता आर्जन गरेको मान्छेले टानको नेतृत्व लिनुपर्छ भन्छन् ।  

‘मैले पर्यटन क्षेत्रमा लागेर काम गरेको लामो समय भयो । ८ वर्षअघि पनि म कोषाध्यक्ष भएको हुँ’ उनले भने, ‘म राजनीतिमा समय नदिएर व्यवसायमा लागेको हुनाले व्यवसायीक मान्छे नै टानमा जानुपर्छ भनेर उम्मेद्वारी घोषणा गरेको हुँ ।’ टानका वर्तमान अध्यक्ष नवराज दाहाललाई अघिल्लो पटक निर्वा्चित गराउन आफ्नो पनि भूमिका रहेको उनले खुलासा गरे । ‘अघिल्लो पटक पनि नवराज दाहाललाई सघाउने र आगामी कार्यकालमा उहाँले मलाई साघाउने सहमति भएको हो । त्यसै अनुरुप मेरो उम्मेद्वारी स्वभाविक हो’ थापाले भने । 

खुम सुवेदी

टानको वर्तमान कार्यसममितिको बरिष्ठ उपाध्यक्ष समेत रहेका खुम सुवेदी टानको नेतृत्वका लागि बलिया दाबेदार मानिन्छन् । उनले औपचारि रुपमै विज्ञप्ति जारी गरेरै उम्मेद्वारी घोषणा गरेका छन् । उनले माउन्टेन टुरिजममा आफ्नो २६ वर्ष लामो अनुभव भएको र पर्वतीय पर्यटन मार्फत मूलुक समृद्ध बन्छ भन्ने सपना देखेको कारण पनि यसपटक आफू अध्यक्ष बन्नुपर्ने दाबी गरे । 

‘साँच्चै भन्ने हो भने टानमा अहिले भद्रगोल छ । त्यो भद्रगोल हटाउन टानको ‘क्याप्टेन’ बनेर संगठनलाई ‘डाइरेक्सन’ दिन मेरो उम्मेद्वारी हो’ उनले भने । उनले आफूले युवा तथा नयाँ र अग्रजहरुको साथ पाएको समेत दाबी गरेका छन् ।

मुक्ति पाण्डे 

मुक्ति पाण्डेले भने निर्वाचनलाई भ्डिकलो बनाउने गरि गर्न नहुने सुझाव सहित नेतृत्वमा दाबेदारी प्रस्तुत गरेका छन् । सदस्यहरुलाई अनलाईनको लिङ्क पठाउने र अनलाइनबाटै भोटिङको व्यवस्थापन गर्न सकिने प्रस्ताव उनले राखेका छन् । 

युवाहरुले पनि नेतृत्व लिन सक्छन् भन्ने उदाहरणका लागि आफूले दाबी गरेको उनको भनाई छ । जाँगरिला युवाहरुले संगठनको नेतृत्व गर्न पाउनुपर्ने उनको माग पनि छ । 

निलहरी बास्तोला

टानको नेतृत्व गर्न आफू सक्षम रहेको दाबी गर्ने निलहरी बास्तोला हाल टानको द्धितिय उपाध्यक्षका रुपमा छन् । आफुले भोगेको र देखेको टानभित्रको समस्यालाई नेतृत्वमै पुगेर समाधान गर्ने उनको अठोट छ । 

‘टान पर्यटनका क्षेत्रमा इतिहाँस बोकेको संस्था हो । तर पछिल्लो दशकयता अधोगति तर्फ जाँदैछ’ उनले भने, ‘टानले कुनैपनि बेला आफ्नो अस्तिव्त गुमाउन सक्ने खतरा बढ्दैछ, यति ठूलो संस्थाको निष्क्रीयता हेरेर बस्न सकिँदैन टानलाई चलायमान बनाउन मैले उम्मेद्वारी दिएको हुँ ।

टानका पूर्व महासविच मोहन लम्सालले पनि उम्मेद्वारी घोषणा गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved