मन्थली–लुक्ला उडानः पर्यटकलाई सास्ती, व्यवसायीका आफ्नै ब्यथा

निरोज कुमार थापा

निरोज कुमार थापा

Nov 18, 2019 | 12:45:08 PM मा प्रकाशित

laxmi  sunrise bank

रामेछापको सदरमुकाम मन्थलीस्थित विमानस्थललाई क्षेत्रीय स्तरको विमानस्थलका रुपमा स्तरोन्नति गर्ने निर्णयसँगै अहिले केही चहलपहल बढेको छ । काठमाडौँबाट सोलुखुम्बुको लुक्ला उडान रोकेर मन्थलि एयरपोर्टबाट उडान भर्न थालिएपछि चहलपहल बढेको छ । तर काठमाडौँमा सञ्चालित ट्रेकिङ र ट्राभल कम्पनीहरुले आफू मार्फत आएका विदेशी पर्यटकलाई मन्थली पु¥याएर लुक्ला उडान समस्या भईरहेको बताएका छन् । 

मन्थली एयरपोर्टलाई स्तरोन्नति गर्न नागरिक उड्डयन प्राधिकरणले प्रारम्भिक अध्ययन थालेको जनाएपनि सरकारले प्रस्ताव गरेका केही आयोजनाले अन्यौलता सिर्जना गरेको छ । विशेषगरि सुनकोशी २ र सुनकोशी ३ जलविद्युत आयोजना पनि प्रस्ताव गर्ने, यी आयोजना बन्दा मन्थली विमानस्थलसहित केही भू–भाग डुबान पर्ने र यी परियोजना प्रस्ताव भएकै बखत मन्थली एयरपोर्ट समेत सुधार गर्ने निर्णय हुनु विकासमा अन्तर निकाय समन्वयको अभाव रहेको विकासविद्हरु बताउँछन् । 

वि.सं. २०३५ सालमा निर्माण भएको उक्त विमानस्थलको धावनमार्ग ५३० मिटर लामो छ । प्रस्तावित निर्णय अनुसार अब उत्तरतर्फ २ सय र दक्षिणतर्फ १ सय मिटर विस्तार गरिने प्राधिकरणको योजना छ । तर मन्थली विमानस्थल परिसरमा पर्यटक स्तरका होटलसहित अन्य पूर्वाधारको कमी रहेको भन्दै पर्यटन व्यवसायीले गुनासो गरिरहेका छन् ।

के भन्छन् पर्यटन व्यवसायी ?

एयरपोर्टमा हाल अतिआवश्यक प्रहरी पोष्ट, सुरक्षा पोस्ट, एक्सरे, एक्ट्रा टर्मिनल भवन, यात्रु प्रतीक्षालय, ट्याक्सी वे, पार्किङ, शौचालय जस्ता सामान्य पूर्वाधार समेत छैनन् । यस्तो अवस्थामा मन्थली विमानस्थलबाट लुक्ला उडान निकै कठिन भएको र पर्यटकले समेत गुनासो गर्ने गरेको व्यवसायीको भनाई छ । 

काठमाडौँमा सञ्चालित ट्राभल कम्पनी कनेक्सन नेपाल प्रा.ली.का सञ्चालक प्रदिप कार्की मन्थलीसम्म गाडीमा र फेरि मन्थलीबाट गाडीमै काठमाडौँसम्म पर्यटक ओसार्नु पर्दा समस्या भएको बताउँछन् । मन्थली बजार परिसरमा पर्यटकमैत्री वातावरण नरहेको कारण नेपाल घुम्न आएका पर्यटकले गलत सन्देश लिएर फर्किने हुन कि भन्ने चिन्ता आफूलाई लागेको उनको भनाई छ ।

पदयात्रा व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल (टान) का अध्यक्ष खुम बहादुर सुवेदी पर्यटकसहित व्यवसायीले समेत असजिलो अनुभूति गरेको बताउँछन् । ‘समस्या हामीले अनुभव गरेका छौँ’ उनले भने, ‘अब कम्प्लेन मात्रै गर्नेभन्दा पनि व्यवस्थापनको मागसहित छलफल चलाउनु पर्नेछ ।’ उनका अनुसार मन्थलीमा पर्यटक स्तरका होटल र ‘साइड सिन’को अभाव छ ।

सुवेदीका अनुसार कार्तिक ३ गते मंगलबार मन्थलीमा नगरपालिका, प्रशासन, प्रहरी, उद्योग वाणिज्य संघसहितको छलफल पनि छ । 

तर मन्थलीका स्थानीयले भने नजिकै पर्याप्त ‘साइड सिन’ रहेको बताएका छन् । उक्त विषयमा जानकार गाइड र पोर्टरको अभावमा पर्यटकलाई होटलभित्रै राख्नु परेको बताउँछन् । 

उद्योग वाणिज्य संघ भन्छ,‘एयरपोर्ट नियमित चलाईदेउ’  

मन्थली उद्योग वाणिज्य संघका अध्यक्ष श्याम थापा पहिला एयरपोर्ट स्थायी रुपमा चल्ने सुनिश्चित गर्न माग गर्छन् । एयरपोर्ट स्थायी रुपमा चल्ने सुनिश्चत भए मन्थलीका व्यवसायीले होटलमा लगानी गर्ने उनको विश्वास छ । अध्यक्ष थापाले मन्थली एयरपोर्ट ३ महिना मात्रै, ६ महिना मात्रै चल्ने गरि सञ्चालन हुँदा सिमित समयको लागि पर्यटक स्तरका होटल खुल्न नसक्ने बताए । व्यवसायीको लगानी सुनिश्चित हुने वातावरण भए मन्थली र आसपासका क्षेत्रमा होटलको अभाव नहुने उनको भनाई छ । 

थापाले काठमाडौँबाट चल्ने ट्राभल र ट्रेकिङ कम्पनीले आफ्नो प्याकेजमा मन्थलीका होटललाई पनि समावेश गर्नुपर्ने बताए । यसो भएमा मात्रै मन्थलीमा होटलको संख्या थप हुने र हाल सञ्चालित पनि स्तरीय बन्ने उनको विश्वास छ । 

मन्थलीमा पर्यटक आएपनि हाल सरसफाई र व्यवस्थित सडकको अभाव रहेको थापाले स्वीकार गरेका छन् । ‘अहिले मौसम ठिक्क छ, जाडो पनि छैन, गर्मी पनि छैन । तर धुलोले गर्दा पर्यटक होटलबाट निस्किने अवस्था छैन’ थापाले भने, ‘मन्थली नगरपालिकासँग छलफल गरिरहेका छौँ, नगरसँग पनि सिमित स्रोत र साधन हुँदा समस्या परेको छ ।’ उनले विमानस्थलको स्तरोन्नतिसँगै बजार क्षेत्रमा सडकको सुव्यवस्था र सरसफाईमा ध्यान दिनुपर्ने बताए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved