मन्थलीलाई ‘गेट–वे माउन्ट एभरेष्ट’ बनाउन रामेछाप महोत्सवः संयोजक रोका

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 17, 2020 | 09:01:45 AM मा प्रकाशित

laxmi  sunrise bank

रामेछापको जिल्ला सदरमुकाम मन्थलीमा आयोजना हुने ‘दोस्रो रामेछाप महोत्सव’को तयारी सकिएको छ । ‘नेपाल भ्रमण वर्ष २०२०’को अवसरमा आयोजना हुने ‘दोस्रो रामेछाप कृषि, पर्यटन, सांस्कृतिक तथा औद्योगिक व्यापार महोत्सव’को तयारी सकिएको कार्यक्रम संयोजक सोनु कुमार रोकाले जानकारी दिए । 

जिल्लाका प्रमुख पर्यटकीय गन्तव्यहरुको विषयमा जानकारी गराउँदै आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने र जिल्लामा उत्पादित कृषि उपजहरुको बजारीकरण गर्ने मुख्य उदेश्यका साथ फागुन ६ गते देखि १५ गतेसम्म चल्ने महोत्सवको वाग्मती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढुंगेलले उद्घाटन गर्नेछन् । 

‘जिल्लाभरी उत्पादन हुने कृषि उपजको बजार खोज्ने र जिल्लामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन पहल गर्ने गरी महोत्सवको तयारी गरिएको छ । यस पटकको महोत्सवमा जिल्ला भरीका र बाहिरका सबै खाले उद्योगी व्यवसायीलाई समेटिने छ’ कार्यक्रम संयोजक रोकाले भने । 

मन्थलीलाई सगरमाथा क्षेत्रमा पर्यटकका लागि प्रवेशद्वारको रुपमा विकास गर्ने योजना समेत रहेको उनको भनाई छ । ‘मन्थलीलाई ‘गेट वे माउन्ट एभरेष्ट’का रुपमा विकास गर्न पनि माहोत्सव सफल हुने हाम्रो विश्वास छ’ उनले भने । हाल सगरमाथा क्षेत्रमा जाने पर्यटकको उडान मन्थलीस्थित रामेछाप विमानस्थलबाट हुँदै आएको छ ।

महोत्सवको आयोजक रामेछाप उद्योग वाणिज्य संघले व्यवसायको विस्तार, जिल्लामा उत्पादित खाद्य बस्तुको बजारीकरण, पर्यटनलाई महोत्व दिएर महोत्सवको आयोजना गरिएको जानकारी दिएको छ । मन्थली नगरपालिका मुख्य प्रायोजक र सामाजिक सशक्तिकरण नेपाल सह–आयोजक रहेको महोत्सवमा विभिन्न जातजातीका झाँकी प्रदर्शनी, जिल्ला भित्रका साना उद्योगीद्धारा उत्पादित बस्तुको प्रदर्शनी, दोलखा र रामेछापको सीमा क्षेत्र शैलुङ्ग क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न हेलिकप्टरबाट मन्थली–शैलुङ उडान, नुम्बुर चिज सर्किट, पश्चिमी ट्रेल मार्गको वृतचित्र प्रद्धशनी गर्ने लगायतका कार्यक्रम छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved