बुटवलमा थपियो नयाँ पर्यटकीय गन्तव्य, प्राकृतिक ताललाई व्यवस्थित गर्दै डुंगा सरर

चन्द्रकान्त खनाल

चन्द्रकान्त खनाल

Feb 27, 2020 | 10:22:33 PM मा प्रकाशित

laxmi  sunrise bank

सेमलारको बैठौलिया कपरकट्टीताल प्राकृत्तिक सिमसार हो । यो सुरुमा साथ बिघामा खुम्चिएको थियो । जब जनप्रतिनिधि चुनिए त्यसपछि यो सिमसार क्षेत्रको खोजी भयो र अहिले यो अवस्थामा पुगेको हो । 

अतिक्रमणमा परेको क्षेत्रलाई तालमा ल्याउनेदेखि सफा गरेर अहिले आकर्षक गन्तव्यका रुपमा विकास गरिएको छ । झण्डै दुई किलोमिटर लामो र करिब ३ सय मिटर चौडाईमा फैलिएको  तालको गहिराई करिब पाँच मिटर छ ।

निल दहका नामले चिनिने र स्थानीय थारु समुदायले थकाइ मेट्नका लागि आएर बस्ने यो ताल क्षेत्र झण्डै सय वर्ष पुरानो मानिन्छ । ओझेलमा परेको यो ताललाई बुटवलमा जनप्रतिनिधि चुनिएपछि व्यवस्थित गरिएको हो ।

सिमसार क्षेत्रको यो ताललाई उपमहानगरपालिकाले बुटवलको अमूल्य सम्पदा मानेर प्राथमिकता साथ संरक्षण गर्दै अहिले पर्यटकीय गन्तव्य बनाएको छ । 

उपमहानगरपालिकाका प्रवक्ता तथा अहिले ताल रहेको क्षेत्रका वडा अध्यक्ष रामप्रसाद रेग्मीका अनुसार उपमहानगरले यो ताललाई आर्थिक वर्ष २०७५÷७६ को बजेटमा ताल संरक्षणका लागि ४० लाख रुपैयाँ छुट्याउँदै पहिलो कामको सुरुआत गरेको थियो । 

अहिले उपमहानगरले गुरुयोजनासहित थप कामका लागि प्रदेश र संघीय सरकारसंगसमेत आग्रह गरिएको बुटवलका प्रमुख सुवेदीको भनाइ छ । तालसँगै नजिकै रहेको नरेनापुर धाम परिसरलाई पनि जोडेर आकर्षक पर्यटकीय गन्तव्य बनाउने काम जारी रहेको सुवेदीको भनाइ छ । 

७ विगाहा बाट करिब २४ विगाहा क्षेत्रफलमा विकास गरिएको झण्डै डेढ किलोमिटर लामो ताललाई थप आकर्षक बनाउने गरी योजनाबद्ध कामको थालनी गरिएको उपमहानगरका प्रवक्ता तथा ताल रहेको वडाका अध्यक्ष रामप्रसाद रेग्मीले बताए। 

एकीकृत सहरी विकास योजनामा यहाँको पर्यटकीय क्षेत्र, सांस्कृतिक सम्पदाका क्षेत्र एवं कृषियोग्य जमिन र आवासका लागि अलग–अलग जमिनको वर्गीकरण गर्दै आकर्षक गन्तव्यका रुपमा विकास गर्न लागिएको प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताए ।

बुटवलका पर्यटकीय क्षेत्रका रुपमा जितगढी, मणिमुकुन्द सेन दरबार भग्नावशेष क्षेत्र, हिलपार्क, पिसपार्क, मिलनपार्क, नरैनापुरसँगै अब यो प्राकृतिक ताललाई पनि जोडेर एकीकृत पर्यटन विकासका काम अगाडि बढाएको छ । 

यी सबै क्षेत्रलाई जोड्नेगरी बुटवलले बुटवल चक्रपथ निर्माणको काम तीव्र भइरहेको बताउँदै बुटवलका सहरी विकास महाशाखा प्रमुख तथा वरिष्ठ इन्जिनियर सुमन श्रेष्ठले निजी क्षेत्रकोसमेत सहकार्यमा नयाँ कार्यक्रमको तयारी भइरहेको बताए । 

ताललाई भविष्यमा आन्तरिक र वाह्य पर्यटकको आकर्षणको थलो बनाउँदै बुटवलको जितगढी किल्ला, नुवाकोट, सिद्धबाबा र हिलपार्कसँग जोडेर पर्यटकको बसाई लम्बाउने योजना रहेको उपमहानगरका उपप्रमुख गोमादेवी आचार्यको भनाइ छ । तालमा ताल परिसरमा वन हाँस, वन कुखुरा, सिम कुखुरा र जलेवाजस्ता चराचुरुङगी समेत पाइन्छन् । 

तालसंरक्षण समिति अध्यक्ष खेमलाल कंडेलले स्थानीय तहसंग समुदायले सहकार्य गरेर थप आकर्षक कार्यक्रमहरु तय गरिने र व्यस्त सहरका मानिसलाई मन लोभ्याने ठाउँका रुपमा विकास गरिने बताए ।

नजिकै रहेको नरैनापूर धाममा रहेको शिवलिंगलाई काठमाडौंको पशुपतिनाथसंग तुलना गर्ने गरिन्छ । दुबै शिवलिंग एकै समयका मानिन्छन् । धाम परिसरमा भ्यू टावर, नजिकै खेलमैदान बनाउने उपमहानगरको तयारी छ । नरैनापूर क्षेत्रलाई बुद्धकालीन ऐतिहासिक क्षेत्र पनि मानिन्छ । यहाँ बुद्ध खेल्दै र डुल्दै आउने गरेको बताइन्छ । जहाँ प्राचीनकालदेखि परम्परागत शिवरात्री मेला लाग्दै आएको छ । 

नरैनापुर धाम हिन्दु अनुयायीहरुको एउटा पवित्र तीर्थस्थल हो । यहाँ देश विदेशका हिन्दु धर्मावलम्बीहरुको हरेक वर्ष शिवरात्री र साउनमा घुइँचो लाग्ने गर्दछ । नरैनापुर धामको मेलामा भारतको पटना, बिहार, गोरखपुर, लुधियाना र नेपालको तराईका अधिकांश जिल्लाबाट शिवरात्रीमा भक्तजन आउने परम्परा छ । 

अहिले तीब्र विकास भइरहेको बजार क्षेत्र रहेको बुटवल व्यस्त शहरका रुपमा विकास भइरहेको छ । यहाँ भिडभाड, धुलो धुवाँ दिनहुँ बढ्दो क्रममा रहेका बेला उपमहानगरको यो क्षेत्रलाई एउटा शान्त र रमणीय पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने प्रचूर सम्भावना रहेको पर्यटनविज्ञहरुको भनाइ छ । बुद्धावलीअन्तर्गत रहेका बुटवलसहित सैनामैना, देवदह, नौकट्टीलाईसमेत जोडेर एकीकृत पर्यटन विकास गर्न सकिने सम्भावना छ ।

मुख्यमन्त्रीद्वारा बैठौलिया कपरकट्टी तालमा डुंगा शुभारम्भ

बुटवल उपमहानगरपालिकामा अर्को पर्यटकीय गन्तव्य व्यवस्थित भएको छ । बुटवल वडा नंं।१६ बैठउलियास्थित कपरकट्टी ताल र आसपासको सिमसार क्षेत्रलाई संरक्षण गरी एउटा महत्वपूर्ण गन्तव्यका रुपमा विकास गरिएको छ । 

अतिक्रमणमा परेको जग्गा फिर्ता ल्याउँदै तालभित्र रहेको झाडी सफा गरेर अहिले चिटिक्क पारिएको छ । सोही चिटिक्कको तालमा डुंगाको शुभारम्भ गराउँदै मुख्यमन्त्री शंकर पोखरेलले पर्यटन प्रवद्र्धनका लागि थप नयाँ व्यवस्थित कामको सुरुआत गरेको भन्दै बुटवल उपमहानगरको कामको प्रसंशा गरे । 

उनले घुमफिरको संस्कृतिलाई समृद्धि, सद्भाव र एकतासंग जोडेर तीनै तहका बीचमा सहकार्यका साथ अभियान सञ्चालन गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । बुटवलभित्र प्राकृतिक सिमसार क्षेत्र पनि छ भनेर सुनेको तर यति ठूलो र यस्तो व्यवस्थित होला भनेर कल्पना नगरेको सुनाउँदै मुख्यमन्त्रीले पर्यटन प्रवद्र्धनका लागि उपयुक्त गन्तव्य बनिसकेको दावी गरे । 

विहीबार आयोजित एक भब्य कार्यक्रमकाबीच प्रदेश नं। ५ का मुख्यमन्त्री शंकर पोखरेल, बुटवलका प्रमुख शिवराज सुवेदी, प्रदेश सभाका सदस्य तुलसीप्रसाद चौधरी, उपप्रमुख गुमादेवी आचार्य, प्रवक्ता रामप्रसाद रेग्मी, शुद्धोधन गाउँपालिकाका अध्यक्ष किसूनचन्द्र चौधरी तथा बुटवलका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले  संयुक्त रुपमा डुंगा चढेर कार्यक्रमको शुभारम्भ गरिएको थियो ।

त्यसअघि आयोजिक भव्य समारोहमा मुख्यमन्त्रीले सम्बोधन गरे। सोही सम्बोधनका क्रममा उनले मुलुकको समृद्धिको आधार कृषि र पर्यटननै रहेको र यसक्षेत्रमा त्यसका प्रयाप्त आधार रहेको बताए । पर्यटनलाई जनताको आयआर्जनसंग जोड्नुपर्ने भन्दै उनले यहाँ होमस्टे संचालन गरी स्थानीयका उत्पादनहरुले पर्यटकलाई आकर्षण गर्नुपर्ने उल्लेख गरे ।

थारु समुदायको बाहुल्यता रहेको यस गाउँमा थारु समुदायले नै प्रयोग गर्ने खानाका परिकार खुवाउन सके त्यसको छुट्टै महत्व रहने मुख्यमन्त्रीको भनाइ थियो । 

बुटवलका प्रमुख शिवराज सुवेदीले ब्यस्त सहरको नजिकै रहेको यो ताललाई व्यवस्थित गरेर धेरै भन्दा धेरै आन्तरिक र बाह्यसमेत पर्यटक तान्ने योजनाका साथ कामको शुभारम्भ गरिएको बताए । ताललाई थप ब्यवस्थित बनाउन तालको वरिपरि हरियाली बनाइने, फुटपाथ बनाइने, मौलिक संस्कृतिका विश्रामस्थल बनाउनेदेखि त्यहाँसम्म पुग्ने बुटवल चक्रपथलाई अझ व्यवस्थित गरेर सञ्चालनमा ल्याइने बताए । उपमहानगरको पर्यटन प्रवद्र्धन समितिका सदस्य सचिव तथा वरिष्ठ अधिकृत भुवाप्रसाद लुइँटेलले कार्यक्रमको सञ्चालन गरे।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved