कोरोनासँग ‘लिभिङ टुगेदर’: बिरालोको घाँटीमा घण्टी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 23, 2020 | 03:16:10 PM मा प्रकाशित

laxmi  sunrise bank

‘अब कोरोनासँग लिभिङ टुगेदर गर्नुपर्छ ।’ यो भनाई हो संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको । केही दिनअघि मात्रै उनले सार्वजनिक रुपमा अब कोरोनासँग लिभिङ टुगेरको मोडालिटि अपनाउनुपर्ने बताएका थिए । उनको भनाईलाई लिएर विशेष गरी पर्यटन व्यवसायीहरु अब कम्तीमा पर्यटन बजार खुल्ने भो भन्नेमा आशावादी देखिएका छन् ।

मन्त्री भट्टराईको उक्त भनाई पछि हालसम्म नीतिगत निर्णय त केही भएका छैनन्, तर व्यवसायी भने केही आशामा पक्कै छन् । 

मन्त्रीको भनाईको संकेत के ?

कोरोनासँग ‘लिभिङ टुगेदर’को रणनीति अपनाउनु पर्छ भनेर मन्त्री भट्टराईले अब जनजीवन सामान्यतर्फ मोड्नुपर्छ भन्ने संकेत गरेको व्यवसायीको भनाई छ । ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल (टान) का अध्यक्ष खुम बहादुर सुवेदी कम्तीमा अगष्टबाट अन्तराष्ट्रिय उडान खोल्नुपर्छ भन्ने आफूहरुको माग रहेको बताउँछन् ।

‘मन्त्री ज्यूको भनाईले अब कोरोनालाई देखाएर व्यवसायीक क्षेत्रहरु बन्द भईरहनु हुँदैन भन्ने संकेत गरेको हाम्रो बुझाई हो’ अध्यक्ष सुवेदीले भने, ‘सामाजिक दूरी कायम गरेर सुरक्षाका सबै प्रवन्ध मिलाएर अब व्यवसाय सूचारु नगरी हुँदैन, यसमा सरकार पनि सकारात्मक छ भन्ने हामीले पाएका छौँ । 

एयरलाइन्स अपरेटर्स एसोसियसन, नेपालले पनि उद्दार उडान भईराखेका कारण उद्दार उडान गर्ने कम्पनीले व्यवसायीक उडान गर्न सक्दैन भन्ने कुनै कारण नभएको बताएको छ । एसोसियसनका प्रवक्ता योगराज कँडेलले सुरक्षाका विधि अपनाएर उडान गर्न सकिन्छ र यो अत्यावश्यक क्षेत्र पनि भएकाले स्थगित राखिराख्न नहुने सुझाव दिईएको बताएका छन् । 

‘हामी पहिलेदेखि नै बन्द हुनु हुँदैन भन्ने पक्षमा थियौँ’ कँडेलले भने, ‘अहिले पनि उद्दार उडान भईरहेकै छ, उद्दार उडान गर्न सक्नेले व्यवसायीक उडान गरहाल्छ ।’ 

उनले जुलाई ३ तारिखपछि उडान खुल्छ भन्ने मानसिकतामा आफूहरु रहेको सोही अनुसार आफ्ना जहाजहरु ‘मेन्टिनेन्स’ गर्न थालिएको बताएका छन् । उनले हेलिकप्टरको उडानमा खासै ठूलो भिड पनि नहुने भएकाले हेलिकप्टर प्रयोग गरेर आन्तरिक पर्यटन बढाउन सकिने पनि बताएका छन् ।

‘टुरिजमको ग्रोथ आजको भोली हुँदैन, तपाई घुम्न जानुभयो भने फर्केर आएपछि साथीलाई भन्नुहुन्छ, उसले पनि मन गर्छ र उ पनि घुम्न जान्छ । उसले फर्केर फेरि अर्कोलाई भन्छ ।’ उनले भने, ‘यसरी हो टुरिजमको ग्रोथ हुने, यसका लागि बिरालोको घाँटीमा घण्टी झुण्ड्याउनै पर्छ ।’ 

अबको पर्यटन रणनीति कस्तो ?

पर्यटन विज्ञहरु अब आन्तरिक पर्यटनमा बढवा दिनुपर्ने बताउँछन् । नेपालबाट पर्यटकको रुपमा विदेश घुम्न जाने क्रम रोक्न सके आन्तरिक पर्यटनले निकै ठूलो फड्को मार्ने पर्यटनविद् प्रचण्डमान श्रेष्ठ बताउँछन् । 

तत्कालै विदेशी पर्यटक आइहाल्ने अवस्था नरहेका कारण आन्तरिक पर्यटनलाई नै प्राथमिकतामा राखेर योजना बन्नुपर्ने पर्यटनविज्ञ दिपक जोशीको भनाई छ । आन्तरिक गन्तव्यको भ्रमणमा जान प्रोत्साहन गर्ने, देश भित्रका पर्यटकीय गन्तव्यको प्रचार गर्ने र सम्भावित गन्तव्यको विकासमा स्थानीय तहको सहभागीता बढाउन सके पर्यटनको अवस्था तङ्ग्रिन समय नलाग्ने विज्ञहरुको भनाई छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved