पशुपतिमा मनाईने पर्वका लागि १० करोडको अक्षय कोष स्थापना गर्ने मन्त्री भट्टराईको घोषणा

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Aug 02, 2020 | 04:59:13 PM मा प्रकाशित

tansen cement

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषको प्रस्तावित गुरुयोजनालाई विस्तृत अध्ययन गरि अन्तिम प्रतिवेदन तयार गर्न तीन सदस्यीय कार्यदल बनाएको छ । कार्यदलमा मन्त्रालयका सहसचिव तथा संस्कृति महाशाखाका प्रमुख प्रदीप कोइराला, सहसचिव तथा योजना महाशाखा प्रमुख कमल भट्टराई र पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम रहेका छन् । 

कोषको प्रस्तावित गुरुयोजनाका बारेमा सार्वजनिक रुपमा टिकाटिप्पणी भएपछि मन्त्रालयले आइतबार स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवाला सहितको छलफल आयोजना गरेको थियो । छलफलमा पशुपति क्षेत्रबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसद गगन थापा, प्रदेशसभा सांसद नरोत्तम वैद्य, काठमाडौ महानगरपालिका वडां ७ का अध्यक्ष शुद्ध डंगोल, वडा नं ८ का अध्यक्ष दिनेशकुमार डंगोल, वडा नं ९ का अध्यक्ष रामकृष्ण श्रेष्ठ तथा प्रस्तावित गुरुयोजना विरुद्ध गठित संघर्ष समितिका प्रतिनिधी तथा अन्य सरोकारवालाहरुको उपस्थिति थियो । 

छलफलमा सहभागिहरुको धारणा सुनेर मन्त्री योगेश भट्टराईले गुरुयोजनाका सन्दर्भमा सबै पक्षसँग छलफल÷परामर्श गरेर १ महिनाभित्र प्रतिवेदन बुझाउने समयसहित तीन सदस्यीय कार्यदलको घोषणा गरेका हुन् । 

‘स्थानीय सरोकारकारवालका कुरा पनि सुन्नुपर्छ त्यसैले अहिले जहाँ पुगेको छ त्यहि रोकौला तर यसो भन्दैमा सधै रोक्न सकिन्न’ मन्त्री भट्टराईले भने, ‘अब अगाडी बढ्नै पर्छ ।’

कार्यक्रममा मन्त्री भट्टराईले सरकारले तोकेको कार्यदेशभित्र रहेर कोषले गतिविधी संचालन गरिरहेको उल्लेख गर्दै पशुपतिको ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक महत्वलाई ओझेलमा पार्ने गरि कुनै पनि काम नहुने बताए । २०४३ सालमा सरकारले तोकेको कोषको चार किल्लालाई मुख्य आधार बनाएर कोषले आफ्नो गुरुयोजना बनाएको उल्लेख गर्दै मन्त्री भट्टराईले भने ‘त्यो चार किल्ला भित्रपनि केहि ‘कोर’ क्षेत्र छ, त्यो क्षेत्रलाई मानववस्ती रहित बनाउनै पर्छ । बाँकीको हकमा नीजि संरचना निर्माण गर्दा  पशुपतिको महत्व ओझेलमा नपर्ने गरी निश्चित मापदण्ड बनाउनु पर्ने हुन्छ ।’ 

तर अहिलेजस्तो जथाभावी संरचना निर्माण गर्दै जाने हो भने पशुपतिले आफ्नो साख गुमाउने भन्दै उनले सबै पक्षलाई पशुपतिको साख जोगाउने गरी मिलेर काम गर्न आग्रह गरे । उनले गुरुयोजनाका नाममा बाहिर हल्ला चलाइए जस्तो हिजोका जात्रा तथा पर्वहरु नाश गर्न नखोजिएको पनि प्रष्ट पारे । 

‘पशुपतिको ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक महत्व जोगाउने कुरा हामी सबैको साझा कर्तव्य हो । जात्रा तथा पर्वहरु विगतमा जसरी चलेका थिए, त्यसरी नै चलिरहनु पर्छ, यसमा साझा धारणा बनाएर जाऔं’ उनले भने । 

मुलुक संघीय संरचनामा गईसकेकाले पशुपति क्षेत्र विकास कोषको सांगठनिक संचरना पनि परिवर्तन गर्नुपर्ने आवश्यकता औल्याउँदै मन्त्री भट्टराईले अब स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारको प्रतिनिधित्व हुने गरि सांगठानिक संरचना परिर्वतन गर्न ऐन संशोधन गर्नेबारे आफूले पराममर्श थालेको जानकारी गराए । 

छलफलमा सांसद गगन थापाले गुरुयोजनाका सन्दर्भमा सार्वजनिक रुपमा टिकाटिप्पणी भएपछि सबै पक्षलाई छलफलमा बोलाउनु सकरात्मक पक्ष भएको उल्लेख गर्दै प्रस्तावित गुरुयोजना अहिले जहाँ पुगेको छ, केहि समयका लागि त्यहि रोकेर थप छलफल तथा परामर्श गर्न सुझाव दिए । 

१० करोडको अक्षय कोष

मन्त्री भट्टराईले पशुपति क्षेत्रमा संचालन हुने मुख्य जात्रा तथा पर्व संचालनका लागि १० करोडको अक्षय कोष स्थापना गर्ने घोषणा पनि गरेका छन् । उक्त कोषमा पाँच करोड पशुपति क्षेत्र विकास कोषका तर्फबाट जम्मा गर्ने भन्दै मन्त्री भट्टराईले बाँकी पाँच करोड महानगरपलिकाका तर्फबाट जम्मा गर्न महानगरका जनप्रतिनिधिलाई आग्रह गरे । 

काठमाडौंमा मनाईने इन्द्रजात्रा संचालनका लागि पनि आफू आएपछि यहि मोडेल अघि बढाइएको बताउँदै मन्त्री भट्टराईले सो अक्षयकोष संचालनका लागि जात्रा÷पर्व संचालन गर्ने समूहका एक–एक जना प्रतिनिधी, जनप्रतिनिधी र पशुपति क्षेत्र विकास कोषका प्रतिनिधी रहने बताए । पशुपतिमा वर्षमा मुख्य नौ वटा जात्रा तथा पर्व हुने गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved