पर्यटनको प्रगति सकारात्मक: उपलब्धिको सुचिमा धरहरा निर्माणदेखि निजगढ विमानस्थल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 25, 2020 | 06:17:01 PM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले कोभिड–१९ महामारीकाबीच अघिल्लो आर्थिक वर्षमा सकारात्मक प्रगति हासिल गरेको छ । मन्त्रालयले आर्थिक वर्ष २०७६/०७७ मा समग्रतामा ६० प्रतिशत प्रगति हासिल गरेको मन्त्रालयले सार्वजनिक गरेको वार्षिक प्रगति पुस्तिकामा उल्लेख छ । 

मन्त्रालयले २०७६/०७७ मा संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रमा केही महत्वपूर्ण कार्य गरेको छ । अन्तरनिकाय संस्कृति संरक्षण तथा प्रवद्र्धन, पर्यटकीय पूर्वाधार निर्माण, सम्पदा पुर्ननिर्माणको काम भएको मन्त्रालयले जनाएको छ । भर्चुअल बैठक मार्फत वार्षिक प्रगति पुस्तिका सार्वजनिक गर्दै पर्यटनमन्त्री योगेश भट्टराईले सबैभन्दा बढी पूँजिगत खर्च तथा वित्तीय र भौतिक प्रगति हुनुपर्ने समयमा प्रतिकूल परिस्थिति सिर्जना भएकाले अपेक्षित प्रगति हुन नसकेको बताए । 

‘कोभिड–१९ महामारीका कारण पुस/माघ महिनादेखि असार/साउन महिनासम्म धेरै काम हुन पाएन, त्यसैले मन्त्रालयको वार्षिक प्रगति विवरणमा यो वर्ष मन्त्रालयको पूँजिगत खर्च ६४ प्रतिशत र वित्तिय खर्च ५४ प्रतिशत गरी समग्रमा ६० प्रतिशत प्रगति भएको छ । चालु खर्चमा ८० प्रतिशत प्रगति भएको छ ।’

नीतिगततर्फ हवाई सेवा प्राधिकरण विधेयक, २०७७ र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७७ संघीय संसदमा पेश भई छलफलको क्रममा रहेको छ । हवाई नीतिको मस्यौदा बनेको छ ।

मन्त्रालयको आब २०७५/०७६ मा कूल बजेट ३३ अर्ब १३ करोड ३७ लाख रहेको थियो । आब २०७६/०७७ मा २१ अर्ब २१ करोड ६९ लाख कूल बजेट रहेको छ । आब २०७५/०७६ मा ८१ प्रतिशत रहेको औषत खर्च २०७६/०७७ भने ४९ प्रतिशत मात्र रहेको मन्त्रालयको वार्षिक प्रतिवेदनमा उल्लेख छ । 

वित्तिय व्यवस्थापनतर्फ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो रकम विनियोजन भई खर्च हुन नसक्नु तथा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रकम भुत्तानी हुन नसक्नुले वित्तिय व्यवस्थातर्फ कम खर्च हुन गई समग्र बजेट खर्च घटेको हो । यसका साथै कोभिढ–१९ महामारीका कारण खर्च प्रभावित हुन पुगेको मन्त्रालयले जनाएको छ ।

‘मन्त्रालय र मातहत निकायको मुख्य काम र खर्च हुने समयमा कोरोनाको प्रभावले नेपालको पर्यटन क्षेत्रलाई नराम्ररी असर पा¥यो, त्यसको प्रत्यक्ष असर मन्त्रालयको वार्षिक योजना कार्यक्रम कार्यान्वयनमा देखियो । परिणामस्वरुप मन्त्रालयले अपेक्षित नतिजा हासिल गर्न सकेन’ मन्त्री भट्टराईले भने ।

तथापि, महामारीकैबीच पनि मन्त्रालयले कतिपय परियोजनामा उल्लेखनीय सफलता हात पारेको उनको दाबी छ । मन्त्रालय मातहतका राष्ट्रिय गौरवको आयोजनाको उल्लेख्य प्रगति देखिएको छ । पशुपति क्षेत्र विकास कोषको ७० प्रतिशत, लुम्बिनी विकास कोषको ९५ प्रतिशत, भैरहवामा निर्माणाधिन गौतमबुद्ध विमानस्थलको ८५ प्रतिशत र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ६१ प्रतिशत प्रगति भएको छ । यीमध्ये पोखरा र गौतमबुद्ध विमानस्थल आयोजनाको काम महामारीकाबीच निरन्तर चलेका छन् । भैरहवा विमानस्थल सञ्चालनको अन्तिम तयारीमा छ । 

पर्यटनमन्त्री भट्टराईका अनुसार भैरहवा विमानस्थल अबको तीन देखि ६ महिनाभित्र विमानस्थल व्यवसायिक सञ्चालनमा आउनेछ । विदेशी प्राविधिक चाहिने भएकाले केही महिना काममा बिलम्ब भएको छ । 

पुनःनिर्माणमा तीब्रता

भूकम्पबाट क्षतिग्रस्त सम्पदाको पुनःनिर्माणमा सकारात्मक प्रगति छ । हालसम्म ४५३ सम्पदाको पुनःनिर्माण कार्य सकिएको छ । निर्माणाधिन २२ तले धरहराको काम तीब्र गतिमा भइरहेको छ । हालसम्म ११ तला बनिसकेको छ । रानीपोखरी निर्माणको काम पनि अन्तिम चरणमा पुगेको पर्यटनमन्त्री भट्टराईले जानकारी दिएका छन् । 

पुरातात्विक स्थल संरक्षण सातवटै प्रदेशमा अघि बढाइएको छ । ग्रेट हिमालयन ट्रेलको ७७ किलोमिटर निर्माण सकिएको छ । १२७ किलोमिटरको विस्तृत आयोजना प्रतिवेदन तयार भएको छ ।

मन्त्रालयद्धारा घोषित स्थापित तथा नयाँ विभिन्न १९२ गन्तब्यमध्ये १२२ को सतप्रतिशत र ७० गन्तब्यको ५० प्रतिशत पर्यटकीय पूर्वाधारको काम सम्पन्न भएको छ ।

निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि अहिले विमानस्थल निर्माण क्षेत्रमा पर्ने १९ हेक्टर क्षेत्रफलमा पर्ने रुख कटानका लागि हालसम्म ६० हजार रुख गणना भइसकेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved