मन्त्री भट्टराईसँग व्यवसायीको माग, ‘क्वारेन्टाइन अवधि छोट्याऊँ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 20, 2020 | 05:33:13 PM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले कोरोनासँग भागेर हैन नभई लडेर सामना गर्नुपर्ने बताएका छन् । आईतबार नेपाल उद्योग परिसंघले आयोजना गरेको वेबिनारमा मन्त्री भट्टराईले विस्तारै सबै क्षेत्र खुल्ला गर्ने सरकारी तयारी अनुसार नै पर्यटन तथा पर्वतारोहण क्षेत्र खुल्ला हुने बताए । 

लामो समयदेखिको बन्दाबन्दीका कारण पर्यटन व्यवसायीले मासिक १० अर्ब नोक्सानी व्यहोरेको भन्दै उनले सुरक्षाका मापदण्ड अपनाउँदै पर्यटन क्षेत्र खुल्ला हुने बताएका हुन् । मन्त्री भट्टराईले हालसम्म व्यवसायी र सरकारलाई ६० अर्ब बढीको नोक्सानी भएको भन्दै सुरक्षाको विषयमा कर्मचारी एवं ग्राहकलाई बुझाउनुपर्ने बताए । सरकारले तोकेको सुरक्षाको मापदण्ड पालना हुन सके व्यवसाय जोगिने र सुरक्षित हुने भन्दै उनले पदयात्रा र पर्वतारोहण क्षेत्र आन्तरिक पर्यटकसहित विदेशी पर्यटकका लागि खुला भएको बताएका हुन् । 

‘सरकार एक्लैले केही गर्न सक्दैन, हामी सबै मिलेर सुरक्षित रुपमा पर्यटन क्षेत्रलाई चलायमान बनाउनुपर्छ’  उनले भने ।

अब व्यवसायी पर्ख र हेरको अवस्थामा बसिरहन नसक्ने भन्दै परिसंघका अध्यक्ष सतिश कुमार मोरले पर्वतारोहण र अन्य पर्यटकीय गतिविधि खुला गर्नुपर्ने बताए । उनले पर्यटन क्षेत्रका लागि व्यवस्था गर्ने भनिएको पुनकर्जा कोषको कार्यविधि छिटो र सहज खालको बनाउन मन्त्री भट्टराईलाई आग्रह गरे । 

नेपाल पर्वतारोहण संघ (एनएमए) का अध्यक्ष सन्तविर लामाले पर्यटन क्षेत्र अझै बन्द गर्ने सरकारको तयारी हो भने कहिल्यै खुल्ला नगर्न भनेका छन् । उनले अन्य क्षेत्र खुल्ला भएपछि पर्यटन क्षेत्र पनि खुल्ला गर्नेभए अहिलेदेखि नै खुल्ला गर्नुपर्नेमा जोड दिए । विदेशीहरु आफ्नो देशमा नै पिसिआर परीक्षण गरेर आउने भन्दै १४ दिने क्वारेन्टाइनको अवधिलाई ३ दिनमा झार्न उनले सुझाव पनि दिएका छन् । 

ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदीले केन्द्र सरकारले प्रदेश र स्थानीय तहमा सुरक्षाका विषयमा निर्देशन दिएर सहजीकरण गर्नुपर्ने भन्दै क्वारेन्टाइनको अवधि छोट्याउन आग्रह गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved