ह्यात होटलमाथिको छानबिन अन्तिम चरणमा, प्रतिबेदन कहिले ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Feb 25, 2019 | 02:27:15 PM मा प्रकाशित

laxmi  sunrise bank

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ह्यात होटल (तारागाउँ रिजेन्सी होटल) को विषयमा छानविन सुरु गरेको छ । होटल संचालक समितिले सरकारी सम्पत्ति दोहन गरेको र यसमा सरकारी प्रतिनिधिकै मिलेमतो देखिएको भन्दै उजुरी परेपछि अख्तियारले छानविन थालेको हो ।

सरकारी सम्पत्ति दोहन भएको भन्दै अख्तियारमा उजुरीका चाङ आउन थालेपछि अख्तियारले छानविन सुरु गरेको जनाएको छ । अख्तियारका सह–सचिव एवम् प्रवक्ता रामेश्वर दंगालका अनुसार अख्तियारले केही समयमै आफ्नो प्रतिवेदन सार्वजनिक गर्नेछ । उनले विजपाटीसँग भने, ‘ह्यात होटलका विषयमा सरकारी सम्पत्ति दोहनका धेरै उजुरी छन्, अहिले अनुसन्धान भइरहेको छ । केही समयमै प्रतिवेदन आउँछ ।’

राजधानीको बौद्धस्थित १५० रोपनी सरकारी जग्गामा निर्माण भएको होटलमा सरकारी स्वामित्व घट्दै गएको छ । शुरुमा सरकारको ३९ प्रतिशत शेयर रहेको उक्त होटलमा अहिले सरकारको स्वामित्व नौ प्रतिशत मात्रै छ । होटल संचालनको २६ वर्षमा लगानीको प्रतिफलको सट्टा भएको शेयर समेत ३९ प्रतिशतबाट नौ प्रतिशतमा झारेर सरकारी सम्पत्ति अवचलन गरिएको उजुरीमा आरोप लगाईएको छ । 

सरकार अन्तर्गतकै तारागाउँ विकास समितिले ०४९ मा १५० रोपनी जग्गा ह्यात होटल बनाउन दिएको थियो । त्योसँगै वर्षमा ३० लाख रुपैयाँ सरकारले पाउने गरी एकसय ४८ रोपनी जग्गा भाडामा दिइएको थियो । प्रतिरोपनी १० लाखका दरले जग्गाको १५ करोड र निर्मित भौतिक संरचनाको थप दुई करोड गरी कुल १७ करोड रुपैयाँ सरकारको लगानी मानिएको थियो । 

मूल सडकसँगै जोडिएको उक्त होटलले भोगचलन गर्दै आएको सरकारी जग्गाको मूल्य अहिले प्रतिआना ५० लाख रुपैयाँ भन्दा बढी छ । यही ५० लाखलाई आधार मान्ने हो भने पनि अहिले अहिले उक्त जग्गाको मूल्य १२ अर्ब रुपैयाँ हुन आउँछ । १२ अर्बभन्दा बढीको लगानी भएपनि अहिले सरकारले पाउने सेयरको मूल्य भने १७ करोड रुपैयाँ मात्रै छ ।

०४९ असोज २२ गते तारागाउँ विकास समिति, आइसिटिसी ग्रुप र राधेश्याम सर्राफबीच भएको सम्झौताअनुसार ह्यात होटलमा सरकारको ३९.७७ प्रतिशत र निजी साझेदारको ६०.२३ प्रतिशत सेयर थियो ।

पछिल्लो समय कोरियन डेभलपेमन्ट बैंक सिंगापुरले चार लाख नौ सय कित्ता अग्राधिकार सेयर र साधारण तर्फको ४२ हजार ७८० कित्ता शेयर आइसिटिसी होल्डिङ कम्पनीलाई बेचेको छ । साधारणतर्फको बाँकी पाँच लाख १४ हजार १७५ कित्ता सेयर डोमिनियन इन्भेस्टमेन्ट र अग्राधिकारतर्फको चार लाख ४७ हजार डोमिनियन इन्भेस्टमेन्ट हङकङलाई बेच्न सैद्धान्तिक सहमति दिइएको छ ।

हाल होटलमा राधेश्याम सर्राफको १२.२५ र आइसिटिसीको ७.८९ प्रतिशत सेयर छ । त्यस्तै, आइसिटिसी होल्डिङ कम्पनीको १०.०९, डोमिनियन इन्भेस्टमेन्ट हङकङको २१.६०, डोमिनियन इन्भेस्टमेन्ट लिमिटेडको ९.५३, तारागाउँ विकास समितिको ९.०१ प्रतिशत र सर्वसाधारणसहित अन्यको ३२ प्रतिशत हिस्सा छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved