आन्दोलनको तयारीमा होटेल मजुदर, साहुहरुको कर्तुत सार्वजनिक गरिदिने चेतावनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 04, 2020 | 04:10:23 PM मा प्रकाशित

laxmi  sunrise bank

लेखकः तीर्थ सुवेदी

आइतबार होटल क्षेत्रका केही व्यवसायीहरुको झुण्डले खाली कागजमा केही लेखेर हस्ताक्षरसहित सुचना जारी गरेछन् । लकडाउनमा होटल बन्द भन्दै होटलमै बसेर बैठक गर्ने ती व्यवसायीहरुको नियत खराब छ भनेर हामीले पटक पटक खबरदारी गरिरहेकै थियौं । 

आफुलाई ‘होटल संघ नेपाल (हान)मा आवद्ध भएका ठुला साहुजीहरु हौं’ भनेर बताउने व्यवसायीहरुले होटल संघ नेपालको लेटरप्याड समेत प्रयोग गर्न सकेको देखिएन । सरकारले संकटको घडीमा आ–आफ्नो तर्फबाट सहयोग गर्न सबैलाई आह्वान गर्दै राजपत्रमा सुचना प्रकाशित गरिसकेको छ । तर यी हानका व्यवसायीहरुले सरकारलाई ठाडो चुनौती दिँदै आफुखुशी कानुनले तोकेकोभन्दा फरक किसिमले सुचना जारी गरेका छन् । १० औँ महिनासम्म प्रतिष्ठान नाफामै चलिरहँदा ऐले २ महिनामै हामी सकियौं भन्दा पत्याउन सकिने आधार केही देखिंदैन । कुनै प्रतिष्ठानले सरकारको निर्णय कार्यान्वयन गर्छुभन्दा समेत संघको तर्फबाट कार्यान्वयन नगर्न अनुरोध सहित चेतावनी समेत दिएको पाईयो । अनि १२.५ प्रतिशत मात्र तलब दिने, ६ महिना होटल बन्द गर्ने र निर्णय नमानेमा श्रम नियम १४५ अनुसार कारवाही गर्ने भन्ने पनि देखियो । 

म निर्णय गर्ने ती व्यवसायीलाई सोध्न चाहान्छु, श्रम नियममा कहाँ लेख्या छ संकट परेमा १२.५ मात्र तलब दिन मिल्ने भनेर ? लकडाउनमा श्रमिकहरु घर बसेको समय पारेर सरोकारवाला निकायहरुसँग छलफल नै नगरी गरिएको निर्णय कार्यान्वयन गर्ने ठेक्का हामीले लिईदिन पर्ने ? व्यवसायीहरुलाई हामी भन्न चाहान्छौँ, कुनैपनि हालतमा तपाईहरुले गरेको निर्णय मान्य हुँदैन । 

व्यवसायीहरुलाई भन्न चाहान्छु, नियमानुसार पाउनुपर्ने सबै सुविधा देउ अनि होटल बन्द गर । यसो गर्न सक्छौ ? हैन भने अब मजदुर चुप लागेर बस्ने छैनन्, तिमीहरुको एक एक हिसाब किताब श्रमिकले राखेका छन् अब आन्दोलनबाटै जवाफ दिनेछन् । संकटको यस घडीमा श्रमिकलाई राहातको बदलामा आहात दिने श्रमिकमाराहरुलाई श्रमिकको शक्तिले छाड्ने छैन । मजदुरले निर्माण मात्र हैन भत्काउन पनि जानेका छन् ।

यो समयमा ट्रेड युनियनहरुको भुमिका पनि सशक्त रुपमा अघि बढ्न सकेको देखिएन । साहुजीहरु एकतावद्ध भएको समयमा हाम्रा संघहरु आफ्नो तरिकाले लविङ्ग मात्र गरिरहे, हानलाई काउण्टर दिन ढिला गरे । अब संघहरु पनि जुर्मुराउने हामी श्रमिकहरुले अपेक्षा गरेका छौं । लकडाउन खुल्ने बित्तिकै श्रमिकका बिरुद्ध गतिविधि गर्ने हान भन्ने संस्था खारेज गर्न आन्दोलनका निम्ति तयार रहन म सम्पुर्ण होटल क्षेत्रमा कार्यरत साथीहरुलाई आह्वान गर्दछु । हानलाई नै नमान्ने भएपछि हान र ट्रेड युनियन संघ बिचको सहमति खारेज गरेको घोषणा गर्दछौं । श्रमिकहरु एकतावद्ध भई हानको एकतर्फी ज्यादती बिरुद्ध लागौं । 

राजपत्रमा लेखिएका बुंदाहरु तथा श्रम कानुन कार्यान्वयन नगर्ने हानलाई कारबाही गर्न सरकारलाई दवाव दिऔँ । साहुजीहरुले राज्यका कर बिरुद्ध गरेका लुट, करछली तथा काला कर्तुतहरुको उजागर गरौं । आफुलाई कानुनभन्दा माथि भएको महशुश गर्ने साहुजीहरुलाई कानुनी कठघरामा उभ्याउने राज्यले हिम्मत गरोस् । अनि मात्र श्रमिकले राज्य भएको महशुश गर्नेछन् ।

यस्तो छ हानको आइतबारको निर्णयः

(लेखक सुवेदी होटल अन्नपुर्णको आधिकारीक युनियनका अध्यक्ष हुन्)

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved