होटल क्वारेन्टाइनमा बस्नेले अग्रिम पैसा तिर्नुपर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 14, 2020 | 04:51:24 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले विदेशबाट उद्दार गरेर ल्याईने नेपालीलाई राख्न विभिन्न स्थानमा होटल क्वारेन्टाइनको व्यवस्था गरेको छ । पर्यटक स्तरदेखि चार तारेसम्मका होटल क्वारेन्टाइनका लागि तयार गरिएको छ । होटल संघ नेपाल (हान) का अनुसार नगरकोट, धुलिखेल, पोखरा, चितवन र भैरहवाका होटलमा सःशुल्क क्वारेन्टाइनको प्रवन्ध मिलाएको हो ।

यी ५ स्थानमा रहेका होटलका १६ हजार ५ सय कोठा क्वारेन्टाइनका लागि तयार गरिएको छ । यसका लागि २ हजार ५ सयदेखि ८ हजारसम्म शुल्क लाग्नेछ । यो शुल्क क्वारेन्टाइनमा बस्ने आफैँले ब्यहोर्नुपर्नेछ । सरकारले जेठ २२ गतेदेखि विदेशमा अलपत्र नेपालीको उद्दार सुरु गरिसकेको छ ।

होटल क्वारेन्टाइनमा कसले बस्न पाउँछन् ?

विदेशबाट ल्याउने नागरिकलाई कुन प्रदेशको हो, सोही प्रदेशको व्यवस्थापकीय जिम्मा पाएको केन्द्र सरकारको मन्त्रीले जिल्ला स्तरीय कोभिड–१९ क्राइसिस म्यानेजम्यान्ट सेन्टर (सीसीएमसी) लाई जिम्मा लगाउँछन् । यसका लागि ७ वटै प्रदेशका लागि सोही प्रदेशबाट प्रतिनिधित्व गर्ने मन्त्रीले व्यवस्थापकीय जिम्मा पाएका छन् । जस्तैः विदेशबाट उद्दार गरेर ल्याईएका वागमती प्रदेशका व्यक्तिहरुलाई जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले सम्बन्धित जिल्लालाई जिम्मा लगाउँदै गरेका छन् ।

होटल क्वारेन्टाइनमा बस्नको लागि कोरोना भाइरसको संक्रमण नरहेको प्रमाण आवश्यक पर्ने होटल संघ नेपाल (हान) का वरिष्ठ उपाध्यक्ष विनायक शाह बताउँछन् । विदेशबाट नेपाली ल्याएपछि उनीहरुको कोरोना परीक्षण गरेपछि नेगेटिभ रिपोर्ट आएमात्रै १४ दिन होटल क्वारेन्टाइनमा राखिने उनको भनाई छ । 

क्वारेन्टाइनमा बस्नेलाई ‘रुम सर्भिस’

जुन होटलमा मानिसहरु बस्नेछन्, खाना तथा खाजाको प्रवन्ध होटलले नै मिलाउने छ । यसका लागि होटलले २५ प्रतिशत कर्मचारी खटाउने छ । बिहान बेलुकाको खाना र खाजा तयार पारेर कोठा कोठामा नै पुर्याउने व्यवस्था मिलाईएको हानले जनाएको छ । 

‘कर्मचारीलाई बाहिर निस्कने अनुमति हुँदैन, होटल क्षेत्रभन्दा बाहिर जान नपाउने भएकाले संक्रमणको सम्भावना हुँदैन’ हानका वरिष्ठ उपाध्यक्ष शाहले भने, ‘क्वारेन्टाइनमा बस्नको लागि भनेर होटलको कोठामा गईसकेपछि त्यो व्यक्ति बाहिर निस्कन पाउँदैन । उसलाई कोठामै उसको अर्डर पुर्याउने व्यवस्था पनि गरिएको छ ।’ 

आंशिक भूक्तानी पहिल्यै

होटल क्वारेन्टाइनमा बस्ने व्यक्तिले खर्च आफैँले तिर्नुपर्ने छ । २ हजार ५ सयदेखि ८ हजारसम्म शुल्क लाग्ने होटलका कोठा क्वारेन्टाइनका लागि तयार पारिएको छ । तर यसका लागि होटलहरुले पहिल्यै आंशिक भूक्तानी गर्नुपर्नेछ । यद्यपी यो निर्णय नै भईसकेको छैन, तर होटलहरु विगत ३ महिनादेखि बन्द रहेका कारण स्टकमा सामान नहुने भएकाले सामान खरिद गर्नकै लागि भएपनि पहिले नै केही पैसा लिनुपर्ने बाध्यता रहेको शाहको भनाई छ । 

‘होटलहरु ३ महिनादेखि शून्य व्यापारमा छन्, होटलसँग अहिले न स्टक सामान छ, न तत्कालै सामान खरिद गर्ने पैसा छ’ उनले भने, ‘तत्कालै किनेर पकाएर खुवाउनु पर्ने भएकाले होटलहरुले केही पैसा पहिले नै लिनसक्ने छन् ।’ 

होटलले खाना पकाएर खुवाउन केही कर्मचारी खटाउने भएपनि बाँकी सबै रेखदेखको काम जिल्ला स्तरीय कोभिड–१९ क्राइसिस म्यानेजम्यान्ट सेन्टर (सीसीएमसी) ले नै गर्नेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved